नेपालमा ९० हजार नाघे कोरोनाका सक्रिय सङ्क्रमित
नेपालमा कोरोनाभाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ।
बुधबार आठ हजार ४५४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको हो। दुई सातादेखि नयाँ सङ्क्रमित बढ्दै गएको भए पनि निको हुनेको सङ्ख्या भने बढ्न सकेको छैन।
योसँगै पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या १७ पुगेको छ। मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, दाङ र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको हो।
त्यस्तै, दुई सयभन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १८ पुगेको छ। देशका ७७ वटै जिल्लामा सक्रिय सङ्क्रमित छन्।
सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन्। उपत्यकाका तीनै जिल्लामा ५५ हजार ८०९ सक्रिय सङ्क्रमित छन्।
जसमध्ये काठमाडौंमा ४० हजार १२, ललितपुरमा १० हजार ६९ र भक्तपुरमा पाँच हजार ७२८ जना सङ्क्रमित छन्। बुधबार काठमाडौंमा दुई हजार ४१, ललितपुरमा ५६६ र भक्तपुरमा २९३ जनामा कोरोना पुष्टि भएको हो।