संरक्षणकर्मी पौडेललाई अन्तर्राष्ट्रिय फेलोसिप
संरक्षणकर्मी कुमार पौडेलले अन्तर्राष्ट्रिय फेलोसिप पाएका छन्।
अन्तर्राष्ट्रिय सङ्गठित अपराध विरुद्धको ग्लोबल इनिसिएटिभले सङ्गठित अपराधलाई न्यूनीकरण गर्न सन् २०१९ मा घोषणा गरेको रिजलियन्स फेलोसिपका लागि पौडेल छनोट भएका हुन्।
इनिसिएटिभले सङ्गठित अपराध नियन्त्रणको सामना गर्न अन्तर-क्षेत्रीय, विश्वव्यापी र अन्तर्राष्ट्रिय सहयोगका लागि साझा मञ्च स्थापनाका लागि कोष खडा गरेको थियो। सोही कोषले रिजलियन्स फेलोसिपको घोषणा गरेको हो।
यस पटक नेपालका पौडल सहित इक्वेडर, कोलोम्बिया, मेक्सिको, युगान्डा, ग्याबों, क्यामरुन, कंगो, भारत, यूएईका १० जना फेलोसिपका लागि छनोट भएका छन्।
पौडेलले संरक्षण क्षेत्रमा एक दशकदेखि काम गर्दै आएका छन्। वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणको क्षेत्रमा उनको विशेषज्ञता रहेको छ।
यस फेलोसिपको सहयोगमा पौडेलले नेपाल-चीन सीमा क्षेत्रका बासिन्दा र यातायात मजदूरलाई तस्करको प्रलोभनमा परी वन्यजन्तुको अवैध चोरी शिकार तथा ओसारपसारमा लाग्नबाट रोक्न सचेतनामूलक काम गर्नेछन्। उनले सो कार्यको लागि एक वर्षमा १७ लाखभन्दा बढीको आर्थिक सहायता पाउनेछन्। विश्वव्यापी मञ्च मार्फत सम्मानित हुन पाउनु र आफ्नो कामलाई अघि बढाउन सहयोग पाउँदा खुशी लागेको बताउँदै पौडेलले काम गर्ने हौसला बढेको बताए।
“वन्यजन्तुको अन्तर्राष्ट्रिय अवैध व्यापारले वन्यजन्तुका साथ-साथै स्थानीय समुदायलाई समेत नोक्सान पुर्याउँछ। कडा संरक्षण कानूनी व्यवस्था भएको नेपाल जस्तो देशमा यसको असर बढी हुन्छ,” पौडेलले भने, “प्रकृति र मान्छे दुवैको हितका लागि हामी सबै मिलेर वन्यजन्तु अपराध नियन्त्रणमा लाग्नुको विकल्प छैन।”