सीके राउतका कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा चिकित्सकमाथि आक्रमण गरेका छन्।
उनीहरूले जलेश्वर जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका हुन्। जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट डा. साह घाइते भएका छन्।
उनको मुखमा चोट लागेको छ। डा. साहको मुखमा आठ टाँका लगाइएको अस्पतालले जनाएको छ।
जनमत पार्टीका कार्यकर्ताले डा. साहको प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा पनि तोडफोड गरेका छन्। उनीहरू आज बिहानैदेखि जनकपुरधामका विभिन्न चोकमा प्रदर्शन गरिरहेका छन्।
यस्तै, उनीहरूले मतदान गर्न आउँदै गरेका जसपाको मधेश प्रदेशका सांसद अशोक यादवको गाडीमा तोडफोड गरेका छन्। जानकी मन्दिर अगाडि उनको गाडी तोडफोड भएको हो।
रामचौकमा जनमतका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा पनि तोडफोड गरेका थिए। अहिलेसम्म प्रदर्शनकारीले १० वटा सरकारी गाडी तोडफोड गरेको खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसअघि प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको थियो। उनीहरू लाठी बोकेर राष्ट्रिय सभा निर्वाचनको मतदानस्थल प्रवेश गर्न खोजेका थिए।