एकैदिन १२ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि, आठको मृत्यु
मंगलबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च देखिएको छ। एकैदिन १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, मंगलबार २५ हजार ९०९ जनाको स्वाब परीक्षण गरिएको थियो। १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार ५७६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
नयाँ सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ।
सोमबार २१ हजार २०१ जनाको स्वाब परीक्षण गर्दा १० हजार ३१९ जनामा र आइतबार १७ हजार ४३७ जनाको स्वाब परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६६७ पुगेको छ।
मंगलबार तीन हजार ४० जना सङ्क्रमणमुक्त भएका छन्।