शक्तिको दौडमा कहाँ छ भारत?
भारतको इतिहासमा कूटनीतिक विचारधाराको कमी छैन। कौटिल्य विचारलाई आदर्श मान्नेहरू नै अहिले नीतिनिर्माता बनेका छन्। तर, चीनको आर्थिक प्रगति र सैन्य शक्तिको उदयले भारतलाई चिन्तित तुल्याएको छ।
अमेरिका र चीनबीच दोसो शीतयुद्धको खतरा मडारिइरहेको वेला भारत अहिले अनेकौं रणनीतिक चुनौतीको सामना गरिरहेको छ। भारतले बाह्य खतराबाट आफू मुक्त रहेको बताए पनि ऊ एशियाली भूराजनीतिक परिवेशमा अनेकौं मुद्दाले अल्झिएको छ। भारत र एशियाको भूराजनीतिको सन्दर्भमा भारतीय पूर्व विदेश सचिव शिवशंकर मेनन लिखित पुस्तक इन्डिया एन्ड एशियन जियोपोलिटिक्स: द पास्ट, प्रेजेन्टमा भारत स्वतन्त्र भएपछिको विदेश नीतिका उतारचढाव समेटिएको छ।
मेननको भनाइमा ८० वर्षको दौरान भारत अहिले आर्थिक र सैनिक रूपमा सुगम अवस्थामा पुगेको छ। सन् १९४७ देखि १९६० सम्म सङ्क्रमणकालबाट गुज्रिएको भारतले त्यसपछि आणविक खतराको शीतयुद्ध, १९७२ मा अमेरिका-चीन मित्रता र १९८९ मा शीतयुद्धको समाप्ति पार गरिसकेको छ। चीनको उदय पश्चात् देखिएको विश्व सामरिक असन्तुलनले अहिले भारतको विदेश नीतिलाई निर्देशन गरिरहेको छ।
भारतको इतिहासमा कूटनीतिक विचारधाराको कमी छैन। कौटिल्य विचारलाई आदर्श मान्नेहरू नै अहिले नीतिनिर्माता बनेका छन्। तर, चीनको आर्थिक प्रगति र सैन्य शक्तिको उदयले भारतलाई चिन्तित तुल्याएको छ। भारतका चिन्ताका कारणहरूमा दक्षिणएशियामा चीनको बढ्दो उपस्थिति, जम्मु कश्मीरदेखि अरुणाचल प्रदेशसम्मको सीमा विवाद, चीन-पाकिस्तानको सदाबहादर मित्रता नै हुन्।
के भारत सीधै चीन विरुद्ध जान सक्छ ? यो त्यति सजिलो छैन। अमेरिकासँग नजिकिएको नरेन्द्र मोदीको सरकार इन्डो प्यासिफिक गठबन्धन र क्वाडमा संलग्न भएको छ। भारतीय विदेशमन्त्री एस. जयशंकर भारतले बहुसंलग्नता र मोलमोलाइको नीति लिने बताउँछन्। यस कारण सामरिक रूपमा भारतका धेरै अवसर छन्।
चीनसँगको व्यापारिक सम्बन्ध र उसले आर्जेको नयाँ शक्तिबाट फाइदा लिन भारत तयार देखिन्छ। आज चीन बाह्य रूपमा आक्रामक र आन्तरिक रूपमा दमनकारी देखिन्छ। अमेरिकीहरू चीनसँगको सम्बन्धमा मानव अधिकारको मुद्दालाई महत्त्वपूर्ण ठान्छन्। हालै सम्पन्न प्रजातान्त्रिक राष्ट्रहरूको शिखर सम्मेलन चीनलाई वैचारिक आधारमा एक्ल्याउने नीति हो। भारत संलग्न भएको उक्त सम्मेलनमा चीन, रुस, टर्की र ब्राजिल समावेश थिएनन्। शक्ति राजनीतिको खेलमा विश्व विभाजित हुँदै गएको यो एक दृष्टान्त मात्र हो।
भारत स्वतन्त्र भएपछिका महत्त्वपूर्ण घटनाहरू हुन्, सन् १९७४ मा गरिएको आणविक बम परीक्षण र १९९० मा लिएको आर्थिक उदारीकरणको नीति। शीतयुद्धको वेला भारत सन् १९७१ को मैत्री सन्धि मार्फत साम्यवादी सोभियत संघसँग रणनीतिक साझेदारीमा थियो। १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्शनले चीनसँगको सम्बन्ध सुधार गरेका थिए, जसले एशियाली भू-राजनीतिमा ठूलै परिवर्तन ल्यायो।
शीतयुद्ध समाप्तिको ३० वर्षपछि चीन र अमेरिका आमनेसामने भएका छन्। यस परिस्थितिमा भारतका लागि अमेरिका देखाएर चीनसँग मोलमलाइ गर्ने र चीन देखाएर अमेरिकासँग मोलमलाइ गर्ने अवसर छ। यस महाखेलमा भारतसँग जापान, अस्ट्रेलिया, यूरोप जस्ता शक्तिहरूसँग साझेदारी गर्ने अवसर पनि छ।
भारत बहुध्रुवीय एशिया र बहुध्रुवीय विश्व चाहन्छ भने चीन बहुध्रुवीय विश्व र एकध्रुवीय आफूमा केन्दित एशिया चाहन्छ। अमेरिका आफ्नो एकध्रुवीय विश्व व्यवस्था कायम राख्न चाहन्छ। शीतयुद्ध यूरोपमा लडिएको थियो। त्यसपछि सन् २०१२ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालको अन्त्यतिर चीनलाई नियन्त्रण गर्ने उद्देश्य अनुसार पूर्वी एशियामा विशेष ध्यान दिंदै ‘पिभोट एशिया’ नीति ल्याइयो। ओबामापछि डोनाल्ड ट्रम्पले चीनको विस्तार रोक्न अघि बढाएको इन्डो-प्यासफिक रणनीतिलाई वर्तमान राष्ट्रपति जो बाइडेनले पनि निरन्तरता दिएका छन्।
अहिले चीन विरुद्ध गठबन्धन बनाउन अमेरिका अग्रसर छ। यस गठबन्धनमा भारतको भूमिका महत्त्वपूर्ण छ। यही नै भारतको पूँजी हो। सन् १९९० को परिवर्तनपछि भारत-अमेरिकाबीच निकटता बढेको हो। यो सम्बन्ध सन् २००८ सम्म आइपुग्दा भारत-अमेरिका नागरिक आणविक सहयोग सम्झौतामा टुङ्गियो। भारतले आणविक राष्ट्रको मान्यता प्राप्त गर्यो।
आतंकवाद विरुद्धको युद्धपछि आज चीन अमेरिकीहरूले सबैभन्दा धेरै समय र श्रम खर्चिएको मुद्दा हो। यो अवस्थामा अमेरिकालाई परम्परागत मित्र पाकिस्तानभन्दा भारतको खाँचो छ। चीन-अमेरिका शक्ति सन्तुलनमा भारतको भूमिका महत्त्वपूर्ण छ। त्यसै कारण वासिङ्टनमा भारतको हैसियत बढेको छ।
रणनीतिक मामलाका जानकार डा. सञ्जय बारुका अनुसार, शीतयुद्धका वेला सोभियत खतराबाट चीनले अमेरिकाबाट धेरै फाइदा लिएको थियो, तर अहिले चीन नै अमेरिकालाई चुनौती बनेको छ। उता चीनका रणनीतिकारहरू चीनको उदय ध्वंसात्मक नभएको दाबी गर्छन्।
करीब पाँच सय वर्ष निरन्तर विश्वको नेतृत्व गरेको पश्चिम अहिले क्षयीकरणमा छ। यसैले एशियाका राजधानीहरूमा पश्चिमको क्षय र पूर्वको उदय जस्ता आवाज गुञ्जायमान छन्। तर, लेखक मेनन चाहिं अहिले कोही पनि चीन केन्द्रित विश्व व्यवस्थाका लागि तयार नभएको दाबी गर्छन्। उनका अनुसार, आर्थिक रूपमा विश्व बहुध्रुवीय नै छ। तर, भारतको अर्थतन्त्र चार ट्रिलियन डलर हो भने चीनको १५ ट्रिलियन डलरको हो।
ताइवान प्रायद्वीपमा अहिले तनाव भए पनि चीन र अमेरिकाको अर्थतन्त्र आपसमा यसरी गाँसिएको छ, जसलाई तिलाञ्जली दिएर युद्धमा जान हम्मे पर्छ। भारत यो कथित शीतयुद्धको सन्दर्भमा अझै एशियाली खेलाडी हो। तर, छिमेकीहरूसँग नै सम्बन्ध सुधार नगरी महाशक्ति बन्न उसलाई सजिलो छैन। पाकिस्तानसँगको कटुतापूर्ण सम्बन्ध सुधार र अन्य छिमेकीहरू नेपाल, बाङ्लादेश, भुटान, श्रीलंका र माल्दिभ्ससँगको समधुर र सम्मानजनक सम्बन्ध निर्माण उसका चुनौती हुन्।
केही समययता विश्व भूराजनीतिमा अनेकौं महत्त्वपूर्ण घटना भएका छन्। अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि खाली स्थानमा सबैभन्दा पहिले चीन पस्यो। अहिले भारत तालिबानसँग सम्बन्ध सुधारको अवसर खोजिरहेको छ।
पश्चिम अहिले प्रजातन्त्रको नाममा शीतयुद्धकालीन वैचारिक लडाइँ लड्न सक्दैन। अमेरिकी प्रजातन्त्र र यूरोप अहिले सङ्कटमा छ। शीतयुद्धकालीन प्रजातन्त्र नामको मूल्य अहिले प्रजातान्त्रिक भनिने मुलुकहरूमै विघटनको स्थितिमा छ। स्वयं पश्चिमी सञ्चार माध्यमहरूले भारतको प्रजातन्त्रलाई ‘हिन्द फाँसीवाद’ का संज्ञा दिइरहेका छन्।
सन् १९४७ यता भारतले आफूलाई असंलग्न आन्दोलनको पर्यायका रूपमा चिनाएको थियो। पछिल्लो समय गठबन्धन, सहकार्य र नयाँ प्रविधि र शक्तिको हैसियतले फरक पहिचान बनाउँदै छ। आन्तरिक रूपमा भारत गरीबी, अशिक्षा, जातीय विभेद, असमानता, धार्मिक असहिष्णुताले ग्रस्त छ। कुनै पनि राष्ट्र आन्तरिक रूपमा बलियो नभई बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्नै सक्दैन।
आर्थिक विकासमा चीनसँग प्रतिस्पर्धा गर्न भारतले अझै केही दशक पर्खनुपर्छ। सन् १९६२ मा चीनसँगको सीमा युद्धमा पराजित भारत अझै त्यो धङधङीबाट मुक्त हुन सकेको छैन। तर, जनसङ्ख्याको हिसाबले दोस्रो राष्ट्र भारत सैन्य सामर्थ्यमा विश्वको चौथो राष्ट्र रहेको तथ्य पनि छ। केही वर्षयता भारतले लगभग सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ।
अमेरिकी कूटनीतिज्ञ एवं राजनेता हेनरी किसिन्जरले सन् १९९० ताका भारत एक्काइसौं शताब्दीमा विश्वको एक प्रभुत्व शक्ति बन्ने भविष्यवाणी गरेका थिए, जो सत्य प्रतीत हुन्छ। तिनै किसिन्जर अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार छँदा १९७१/७२ मा चीनसँगको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए, आज उनी रुससँग सम्बन्ध सुधारेर चीनलाई सन्तुलन गर्नुपर्ने धारणा राख्छन्।
राष्ट्रले शक्ति आर्जनपछि आफ्नो हैसियत देखाउन थाल्छ। कुनै समय रोमन साम्राज्य कहिल्यै पतन हुँदैन भनिन्थ्यो, तर त्यो ढल्यो। अमेरिकी साम्राज्य पनि सन् १९९० को दशकमा एक्लो महाशक्ति थियो, अहिले क्षयोन्मुख छ। र, विश्व शक्तिको जारी महाखेलमा भारत र चीन आफ्नो इतिहास र सामर्थ्य बोकेर दौडिरहेका छन्।