कसरी सम्बाेधन गर्ने सडक मानवको समस्या?
सामान्य जस्तो लागे पनि सडक मानवको व्यवस्थापन अहिलेको ज्वलन्त समस्या हो, यसको समाधानका लागि स्थानीयदेखि संघीय सरकारले वैकल्पिक बाटो अपनाउन जरुरी छ।
केही समयअघि मित्र रामबहादुर बुढासँगै काठमाडौंको त्रिचन्द्र कलेजबाट घण्टाघर हुँदै कमलादीतिर हिंड्दै थिएँ। बाटोमा पर्ने गणेशस्थान मन्दिर आसपासमा केही ‘माग्ने मान्छेहरू’ थिए। उनीहरूले हात थापेपछि केही रुपैयाँ दियौं।
हिंड्दै गर्दा मित्र बुढाले प्रश्न गरे– यदि तपाईं सरकार प्रमुख भए कसरी भिखारीको व्यवस्थापन गर्नुहुन्थ्यो? केही बेर मौन रहेँ। कुनै उत्तर दिन सकिनँ।
यो प्रश्नमा घोत्लिंदै गर्दा केही उपाय आए। सजिलै यो समस्या सुल्झाउन सकिन्छ भन्ने लाग्यो। तिनै उपाय यहाँ चर्चा गर्न खोजेको छु।
कतिपयले कुराकानीका क्रममा ‘भारतमा त नेपालको जनसङ्ख्याभन्दा बढी भिखारी छन्’ भन्ने गर्छन्। भारततिर जाँदा थुप्रै भिखारी देखिन्छन् पनि। तर, तथ्य फरक छ। भारत सरकारले सन् २०१८ मा संसद्मा प्रस्तुत गरेको तथ्याङ्क अनुसार, त्यहाँ दुई लाख १३ हजार ६७० भिखारी छन्।
नेपालमा पनि भिखारीको सङ्ख्या यकिन त छैन, तर मन्दिर, सडकपेटीमा प्रायः देखिन्छन्। केही महीनाअघि बलिउड कलाकार अनुपम खेरले पशुपतिमा राजस्थानकी एउटा किशोरीसित गरेको संवादको दृश्य सामाजिक सञ्जालमा राखेका थिए। ती किशोरीले सरकारले सडकमा बस्न नदिने गरेको, प्रहरी लगाएर समाएको, थुनामा राखेको गुनासो गरेकी थिइन्।
त्योभन्दा अघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा काठमाडौं उपत्यकालाई सडक मानवमुक्त गर्ने घोषणा गरिएको थियो। काठमाडौं महानगरपालिकासँगको सहकार्यमा संघीय सरकारले अभियान नै चलाएको थियो। त्यस्ता कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि देखिन्थे। तर, काठमाडौंका सडकको अवस्था उस्तै छ।
त्यति वेला पनि दीर्घकालीन रूपमा सडक मानवलाई व्यवस्थापन नगरी सरकारले प्रहरी लगाएर समाधान गर्न खोज्यो। बल प्रयोग गरेर भिखारी व्यवस्थापन गर्ने सोच लिनु आफैंमा मूर्खता हो। परिणाम, यो समस्या समाधान भएन, बरु अहिले पनि सडकपेटीमा भेटिन्छन्।
सडकमा आमाहरू कलिला नानी लिएर बसेका देखिन्छन्। विभिन्न अवस्थाका मान्छे लस्करै बसेका हुन्छन्। कोहीले मीठो गीत पनि गाउँछन्।
भिख माग्ने र भिखारी बन्ने कसैको रहर हुँदैन। विभिन्न बाध्यता, मूलतः आर्थिक रूपमा दयनीय अवस्था भएका मानिस नै सडकमा भिख माग्न बस्छन्। यो व्यवस्थासँग जोडिन्छ कि सरकारसँग?
डा.प्रकाशराज रेग्मीको पुस्तक सोभियत संघको सम्झनामा सन् १९७० र ८० को दशकमा रूसमा पढ्ने वेलामा कोही भिखारी नदेखेको अनुभव उल्लेख छ। त्यसै गरी धेरै वर्ष अगाडि योद्धा पत्रिकामा डा.सुमन्त बञ्जाडेको संस्मरणमा पनि उनले त्यहाँ भिखारी नभेटेको, नदेखेको लेखेका थिए। लेखक रेग्मीले सोभियत संघ ढलेपछि पुनः भ्रमणमा जाँदा भिखारी देखेको पुस्तकमा लेखेका छन्।
भिखारी व्यवस्थापन वा समस्या समाधान के व्यवस्थामा भर पर्छ? सोभियत संघ जस्तो समाजवादी व्यवस्था नआएसम्म के नेपालमा यो समस्याको समाधान हुनै सक्दैन? यस्तै यावत् प्रश्न उब्जिन्छन्।
सडक मानव व्यवस्थापनका उपाय
सडक मानवको व्यवस्थापनका लागि सर्वप्रथम त कति सङ्ख्यामा भिखारी छन् भन्ने स्पष्ट तथ्याङ्क निकाल्नुपर्छ। कुन प्रदेश वा जिल्लामा कति छन्, यकिन गर्नुपर्छ। दोस्रो, उनीहरूले भिख माग्नुको कारण छुट्याउनुपर्छ।
उनीहरू देशभित्र वा बाहिरका कति छन्? आफन्त छन् कि छैनन्? यो तथ्याङ्कसँगै शारीरिक अवस्था कस्तो छ? उनीहरूको मानसिक तथा शारीरिक अवस्था पत्ता लगाएपछि त्यही अनुसार उपचारको व्यवस्था गर्न सकिन्छ। शारीरिक रूपमा अशक्त व्यक्तिलाई त्यही अनुसार हेरचारको व्यवस्था गर्नुपर्छ।
त्यसमध्ये कति जनालाई आफ्नै घर फर्काउन सकिन्छ र आफन्तको जिम्मा लगाउन सकिन्छ। बालबालिकालाई विद्यालय वा शिशु स्याहार केन्द्रमा भर्ना गर्न सकिन्छ।
किशोरावस्था पारका गरेका व्यक्तिलाई उनीहरूको सीप अनुसार काममा लगाउन सकिन्छ। सीप सिकेका छैनन् भने तालीम दिन सकिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परोपकारी संस्थासँग सहकार्य गरेर उनीहरूलाई काममा सघाउन सकिन्छ। उनीहरूलाई सशक्त बनाएर आयआर्जनमा लगाउन सकियो भने सडकमा बस्ने कुरै हुँदैन।
सरकारले भिखारी व्यवस्थापनलाई गम्भीरतापूर्वक लिन जरुरी छ। प्रहरी र डण्डा प्रयोग गर्नुभन्दा वैकल्पिक बाटो खोजिनुपर्छ। यसमा स्थानीय र प्रदेश सरकारले पनि तदारुकता देखाउनुपर्छ।