शहीद दशरथ चन्द, जसले प्रेमिका बित्दा जूठो बारेका थिए
निर्भीक क्रान्तिकारी दशरथ चन्द प्रेममा निकै कोमल र समर्पित थिए, प्रेमिकाले उपहार दिएको ‘डम्बरकुमारीको खास्टो’ उनले शहादतको वेलासम्म पनि छाडेनन्।
राणाहरूको एकतन्त्र र निरङ्कुशता विरुद्ध प्राणको आहुति दिने शहीद दशरथ चन्दलाई जब हामी सम्झिन्छौं, उनको शिरको चुच्चे टोपी र गोलो फ्रेमको चश्मा हाम्रो आँखामा नाच्न थाल्छ। एक साहसी व्यक्तिको झल्को आउने अनुहार र उनले शरीरमा गम्लङ्ग पहिरिएको एउटा खास्टोको पनि सम्झना आउँछ। काठमाडौं शोभा भगवतीमा उमेरका हिसाबले आफूभन्दा कान्छा सहयोद्धा गंगालाल श्रेष्ठसँग राणा शासकद्वारा गोलीले दागिंदा पनि दशरथले यही खास्टो ओढेका थिए।
उनले शहादतको वेला कोइली रङको चारखाने सुरुवाल, कलसोयौंको कमिज, कालो कस्मिराको इस्टकोट लगाएका थिए, इस्टकोटको माथिल्लो खल्तीबाट अलिकति सेतो रुमाल देखिएको थियो। देब्रे हातको नाडीमा घडी, अर्को खल्तीमा फाउन्टेन पेन थियो भने डम्बरकुमारीको खास्टो दोसल्ला झैं ओढेका थिए। जिउ अलि निहुरिएको र आँखा टलटल हेरिरहेको अवस्थामा उनको शव शोभा भगवती मन्दिर परिसरमा रहेको थियो (डा. राजेश गौतम, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका’ भाग-१, २०६२ः १८५)।
जहानियाँ राणा शासकको पञ्जाबाट देशलाई मुक्त पार्न हाँसीहाँसी मृत्युवरण गर्ने दशरथले शहादतको वेला समेत दोसल्ला झैं ओढेको डम्बरकुमारीको खास्टोले उनको व्यक्तिगत जीवनको पाटोमा निकै महत्त्व राखेको थियो। उक्त खास्टो उनले जीवनमा प्राप्त गरेको प्रेमिल र अमूल्य उपहार थियो।
वास्तवमा शहादतको समयमा समेत दशरथ चन्दले दोसल्ला जस्तै गरेर ओढेको डम्बरकुमारीको खास्टो उनलाई उनकी प्रेमिकाले दिएको उपहार थियो।
डम्बरकुमारीको खास्टो
खास गरी सेतो भुइँमा स-साना रातो र कालो रङको बुट्टा छापिएको र त्यसमा सेतो पातलो झुना कपडाको खोल हालिएको पछ्यौरा वा खास्टोलाई डम्बरकुमारीको खास्टो भनिन्छ। भारतबाट जंगबहादुर राणाकी छोरी डम्बरकुमारीले नेपाल भित्र्याएको हुँदा यो खास्टो उनकै नामबाट प्रख्यात हुन पुग्यो।
जंगबहादुरको नाम नखुलेकी एक पत्नीबाट जन्मेकी हुन्, डम्बरकुमारी। उनी बनारसमा वेश्यालय खोलेर बसेकी थिइन्। उनलाई कुनै पनि तरहले नेपाल फर्काउन जंगबहादुरले आफ्ना भाइ जनरल धीरशमशेरलाई आदेश दिएर पठाएका थिए। तर, धीरशमशेर सफल हुन सकेनन्।
डम्बरकुमारी त्यस वेला बनारसको दालकी मण्डीमा कोठी चलाएर बसेकी थिइन्। उनी नेपाल फर्कन नमानिरहेको अवस्थामा जंगबहादुरले छोरीलाई नेपाल फर्काउन राजपुरोहित वामदेव पण्डितलाई त्यता पठाए। फेरि पनि उनी फर्कन मानिरहेकी थिइनन्। तर, वामदेवले प्रहरी लगाएर कोठी बन्द गरिदिएपछि डम्बरकुमारी नेपाल फर्कन बाध्य भइन्।
वामदेवले उनलाई नेपाल फर्काएर ल्याउने क्रममा उनीहरू नेपालको सरहदभित्र आइपुगेको अघिल्लै दिन जंगबहादुरको पत्थरघट्टामा मृत्यु भइसकेको थियो। डम्बरकुमारी नेपाल फर्कंदा उनले बनारसमा आफ्नो तर्जुमा अनुसार छाप्न लगाएको खास्टो पनि ल्याएकी थिइन् (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’-२०६५ः १९८)।
यस्तो छाप भएको खास्टोलाई डम्बरकुमारीको खास्टो भन्ने चलन अहिले पनि छँदै छ। यस प्रकारको खास्टो विसं १९३३ मा नेपाल भित्रिएको देखिन्छ।
बहादुरशमशेरले पनि आफ्नी छोरी दिने विचारले उनलाई चारबुर्जादेखि नजिकैको आफ्नो दरबारमा बोलाएका थिए। तर, दशरथको रुद्रशमशेरकी छोरी जुलियासँग प्रेम बसिसकेका कारण उनले रुद्रको दरबार छाडेनन्।
वास्तवमा शहादतको समयमा समेत दशरथ चन्दले दोसल्ला जस्तै गरेर ओढेको डम्बरकुमारीको खास्टो उनलाई उनकी प्रेमिकाले दिएको उपहार थियो। यसर्थ उनका लागि प्रिय वस्तु थियो। त्योभन्दा पनि राणाहरूबाट देशको मुक्ति उनका लागि अझ प्रीतिकर थियो।
क्रान्तिकारीको प्रगाढ प्रेम
दशरथ चन्द बैतडीका रजौटा खलकका सन्तान थिए। शेरबहादुर चन्द र आमा ओजकुमारीको कोखबाट १७ असार १९६० मा बैतडीको बस्कोटमा उनी जन्मेका थिए। जंगबहादुर विरुद्ध विद्रोह हुँदा बैतडीमा मारिएका जय चन्दका नाति हुन्, उनी।
बनारसमा आईए पढ्दै गर्दा पारिवारिक कारण उनको पढाइ छुट्यो। पछि काठमाडौं आएर धर्मभक्त माथेमासँग बस्दै गर्दा उनी तत्कालीन कमान्डर इन चीफ रुद्रशमशेरसँग नजिकिए। रुद्रकै परिवारले कलकत्ताबाट धर्मभक्तलाई काठमाडौं ल्याएको थियो (यादव देवकोटा, ‘बीबीसी नेपाली सेवा’-२०७५ माघ १६)।
रुद्रशमशेरले दशरथलाई आफ्नो चारबुर्जा दरबारको एउटा लङमा राखी त्रि-चन्द्र कलेजमा अध्ययन गराएर आफ्नी छोरी दिने विचार गरेका थिए। त्यही समय बहादुरशमशेरले पनि आफ्नी छोरी दिने विचारले उनलाई चारबुर्जादेखि नजिकैको आफ्नो दरबारमा बोलाएका थिए। तर, दशरथको रुद्रशमशेरकी छोरी जुलियासँग प्रेम बसिसकेका कारण उनले रुद्रको दरबार छाडेनन्। १९९० सालमा जुद्धशमशेरबाट रुद्र पाल्पा धपाइएपछि दशरथको पढाइ रोकियो, तर जुलियासँग उनको प्रेम कायमै थियो (गौतम, उहीः४७-४८)।
तत्कालीन कमाण्डर इन चिफ रुद्रशमशेरको परिवारसँग दशरथको पारिवारिक सम्बन्ध पहिल्यै गाँसिइसकेको थियो। उनका काहिंला भाइ ललित चन्दको विवाह रुद्रशमशेरका छोरा राजशमशेरकी छोरीसँग भइसकेको थियो (पुरुषोत्तमशमशेर जबरा, ‘सम्झेका र सुनेका कुराहरू’-२०६३ः९४)।
जुलिया रुद्रकी भित्रिनीतिरकी छोरी थिइन्। रुद्र परिवार सहित पाल्पा धपाइँदा जुलिया पनि त्यतै गएकी थिइन्। २२-२३ वर्षको उमेरमा जुलियाको पाल्पामै क्षयरोगका कारण निधन भयो।
जुलिया रुद्रकी भित्रिनीतिरकी छोरी थिइन्। रुद्र परिवार सहित पाल्पा धपाइँदा जुलिया पनि त्यतै गएकी थिइन्। २२-२३ वर्षको उमेरमा जुलियाको पाल्पामै क्षयरोगका कारण निधन भयो (पुरुषोत्तमशमशेर जबराले यो लेखकलाई बताए अनुसार)।
जुलियासँग दशरथको प्रेम प्रगाढ थियो। उनीहरूबीच रुद्रकी नातिनी मीनाक्षीदेवी मार्फत प्रेमपत्र आदानप्रदान हुन्थ्यो। दशरथ र जुलियाबीच विवाहका लागि टीकाटालो गर्न भनेर बैतडीबाट पण्डित सहित आएका उनका एक नातेदार आफ्नो परिवारमा जूठो परेपछि विवाहको कुरा नछिनी फर्केका थिए (देवकोटा, उही)।
जुलियाले पाल्पाबाट दशरथलाई अनेक उपहार पठाइरहन्थिन्। त्यसरी पठाइएको उपहारमध्ये दशरथले ओढिरहने डम्बरकुमारीको खास्टो पनि एक थियो। प्रेमिकाले पठाएको उपहार उनलाई यति प्रिय थियो कि उनले शहादतको समयमा पनि त्यही खास्टो ओढेका थिए।
खास्टो उपहार पाएको केही दिनपछि नै जुलियाको मृत्यु भएको खबर दशरथले पाए। त्यस बखत उनी पकनाजोलस्थित आफ्नो मामाघर (कान्छी आमाको माइतीघर) बस्थे। प्रेमिकाको निधनमा शोक मान्दै उनले १३ दिनसम्म जूठो बारेका थिए। कान्छी आमाले सोध्दा ‘केही होइन’ भनी टारेका थिए (गौतम, उहीः ६० पादटिप्पणी)।
यसबाट यी क्रान्तिकारीको प्रेमप्रतिको समर्पण भाव उच्च रहेको सहजै अनुमान गर्न सकिन्छ।
खास्टो उपहार पाएको केही दिनपछि नै जुलियाको मृत्यु भएको खबर दशरथले पाए। त्यस बखत उनी पकनाजोलस्थित आफ्नो मामाघर (कान्छी आमाको माइतीघर) बस्थे। प्रेमिकाको निधनमा शोक मान्दै उनले १३ दिनसम्म जूठो बारेका थिए।
क्रान्ति यात्रा
दशरथ काठमाडौंबाट चम्पारनको रामनगर राज्य गई त्यहाँका राजाका धर्मपुत्र मोहनविक्रम शाहको खेतीमा मेनेजरको काम गर्न थालेका थिए। त्यसै बखत टङ्कप्रसाद आचार्यका पिता टीकाप्रसाद आर्थिक अवस्था बिग्रेपछि काठमाडौंबाट १९९१ पुसमा तराई झरेका थिए। टङ्कप्रसाद पनि आफ्ना पिताका साथमा थिए।
रामनगरका राजाका धर्मपुत्र रहेका मोहनविक्रमसँग टीकाप्रसादको राम्रो सम्बन्ध थियो। उनलाई भेट्न टङ्कप्रसाद गए। त्यसै बखत टङ्कप्रसादको दशरथ चन्दसँग भेट भयो। दुवैको विचार मेल खायो। दुवैबीच राणा शासन विरुद्ध राजनीतिक सङ्गठन बनाउने सल्लाह भयो। दुई महीनापछि दशरथ काठमाडौं आउने भए।
त्यस वेला भारतमा चलेको असहयोग आन्दोलन, सत्याग्रह, जालिया बागकाण्ड आदिबारे जानकार दशरथ सन् १९३० (१९८६ साल) मा भएको नमक आन्दोलनको सिलसिलामा बनारसमा जेल समेत परेका थिए। काठमाडौं आएपछि दशरथ धर्मभक्तको घरमा बस्न थाले (गौतम, उहीः ४६-४७)।
आर्यसमाजी शुक्रराज शास्त्रीले नेपाली नागरिक अधिकार समितिका नाममा जनचेतना फैलाउन शुरू गरिसकेका थिए। यसै क्रममा उनी जेल परे।
१९९२ सालमा टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा गरी पाँच जना सम्मिलित राजनीतिक सङ्गठनको रूपरेखा तय गरियो। सङ्गठन स्थापना गर्ने विषयमा २० जेठ १९९३ मा काठमाडौंको झोंछे ओमबहालस्थित धर्मभक्तको फुपूको घरमा औपचारिक छलफल भयो। सङ्गठनको नाम ‘नेपाल प्रजा परिषद्’ राख्ने निर्णय गरियो। यो नामको प्रस्तावक दशरथ चन्द नै थिए (गौतम, उहीः ५३-५४)।
प्रजा परिषद्ले राणाविरोधी गतिविधि गर्ने क्रममा तत्कालीन राजा त्रिभुवनसँग व्यायाम शिक्षक धर्मभक्त मार्फत सम्पर्क स्थापित गर्यो। यसमा दरबारका कम्पाउन्डर चन्द्रमान सैंजूको पनि महत्त्वपूर्ण भूमिका छ। कतिसम्म भने, राजा त्रिभुवनले प्रजा परिषद्को सदस्यता लिएका थिए।
जनजागरण फैलाउन भारतीय अखबार जनतामा नेपाल विषयमा सामयिक लेख निरन्तर छापिनु, शुक्रराज र गंगालालहरूले राणाशाहीको निरङ्कुशता विरुद्ध सार्वजनिक रूपमा भाषण गर्न थाल्नुले राणा शासकमा ठूलै तरङ्ग ल्याइदियो।
जनजागरण फैलाउन भारतीय अखबार जनतामा नेपाल विषयमा सामयिक लेख निरन्तर छापिनु, शुक्रराज र गंगालालहरूले राणाशाहीको निरङ्कुशता विरुद्ध सार्वजनिक रूपमा भाषण गर्न थाल्नुले राणा शासकमा ठूलै तरङ्ग ल्याइदियो। त्यसैबीच राणा विरुद्ध लगातार चार वटा पर्चा छरिएपछि व्यापक धरपकड शुरू गरियो।
त्यसै क्रममा दशरथ चन्दलाई पक्राउ गर्न जनरल शङ्करशमशेरले २ कात्तिक १९९७ को बिहान ८ बजे सिपाहीहरूलाई उनी बसेको घर घेर्न पठाए। आदेश तामेल गर्न कृष्णबहादुर थापा दशरथ बसेको पकनाजोलको घर घेराउ गर्न जाँदा उनी त्यहाँ थिएनन्। तर, कृष्णबहादुर घर घेरेर बसिरहे। केही समयपछि डम्बरकुमारीको खास्टो ओढेर दशरथ त्यहाँ आइपुगे। उनलाई समातेर घर खानतलासी गर्न शुरू गरियो। उनलाई पक्रेर सिंहदरबार लगियो (गौतम, उहीः १२४)।
दशरथको निर्भीकता
दशरथ हक्की स्वभावका थिए। विद्रोही विरासत बोकेको परिवारका सन्तति भएकाले पनि शायद उनमा निर्भीकता भरिएको थियो। आफ्नो सङ्गठनका नेता टङ्कप्रसाद आचार्यलाई पक्राउ गरी ल्याएको देख्दा राणा भाइभारदारकै अगाडि दशरथले हात-गोडाका नेल र सिक्री बजाएर आफ्ना सहयोद्धाहरूलाई सलाम गर्न लगाएका थिए (गौतम, उहीः१४२)।
पक्राउ परेका व्यक्तिहरूबारे ६ माघ १९९७ मा राणाहरूले फैसला सुनाए। शुक्रराज शास्त्रीपछि दशरथको फैसलाको पालो थियो। उनलाई सर्वस्व सहित फाँसीको सजाय सुनाइयो। त्यसको प्रत्युत्तरमा उनले छाती फुलाई ‘फाँसी क्या चीज हे’ भनी ठूलो स्वरले हाँसी हाँसी सजाय स्विकारेका थिए (गौतम, उहीः १६४)।
राणाहरूबाट फैसला सुनिसकेपछि दशरथले नै ‘नेपाल प्रजा परिषद्का कमान्डर टङ्कप्रसाद आचार्यलाई स्यालुट गर्ला, स्यालुट गर’ भन्दा उनी लगायत सबै सहयोद्धाले आफ्ना हात-गोडाका नेल, हतकडी, सिक्री बजाएर आचार्यलाई सलामी अर्पण गरेका थिए, त्यस बखत राणा सरकारका भाइभारदारको मुख कालोनीलो भएको थियो भने जनरलहरू केशरशमशेर र शङ्करशमशेरले ‘अझ पनि यस्तो’ भन्दै आश्चर्य व्यक्त गरेका थिए (गौतम, उहीः १६७)।
हाल रेडियो नेपाल भएको घरमा पनि कडा पहरा दिएर राजनीतिक कैदीहरू राखिएका थिए। माथि कौसीमा बसेर हजुरिया तथा राणाले पत्याएका मानिसहरू मुद्दा छिन्थे। उनीहरूका लागि बैठकेहरू दिउँसोको खाना बोकेर आउँथे।
त्यस वेला थुनामा पर्नेहरूको घरबाट खाना आउँथ्यो। तर, दशरथलाई खाना ल्याइदिने आफन्तहरू काठमाडौंमा कोही पनि थिएनन्। सिंहदरबारमा मुद्दा चलिरहेको थियो। हाल रेडियो नेपाल भएको घरमा पनि कडा पहरा दिएर राजनीतिक कैदीहरू राखिएका थिए। माथि कौसीमा बसेर हजुरिया तथा राणाले पत्याएका मानिसहरू मुद्दा छिन्थे। उनीहरूका लागि बैठकेहरू दिउँसोको खाना बोकेर आउँथे।
एक दिन बैठकेले आफ्नो मालिकलाई चाँदीको किस्तीमा खाना छोपेर ल्याएका थिए। दशरथले त्यो खाना ‘यो मेरो दाजुभाइ दिदीबहिनीहरूको पसिना हो, तिम्रो मालिकको मात्र होइन, यसलाई लिने-दिने मेरो पनि हक छ’ भन्दै खोसेर एक भाग लिए। बैठके जिल्ल पर्यो। माथिसम्म हल्लीखल्ली भयो। भोलिपल्टदेखि राणाहरूले उनलाई पनि खानाको व्यवस्था गरिदिएका थिए (सिद्धिचरण श्रेष्ठ, ‘सिद्धिचरणका जेल संस्मरण’ (सम्पा. सरुभक्त-२०५२ः६१)।
प्रेममा समर्पित कोमल मनका प्रेमी दशरथ साहसमा सिंह समान थिए। उनले सिपाही मार्फत राणाहरूसँग आफूलाई फाँसीमा झुन्ड्याएर नभई गोली हानेर मार्न माग गरेका थिए। यसैका लागि सहयोद्धा गंगालाललाई पनि उत्प्रेरित गरेका थिए। उनीहरूकै माग अनुसार शोभा भगवतीमा १५ माघ १९९७ को राति दुवैलाई गोली हानेर मृत्युदण्ड दिइएको थियो।
दशरथका निम्ति राममायाको रोदन
शुक्रराज र धर्मभक्तले शहादत प्राप्त गरेपछि पालो पर्खेर बसेका थिए, दशरथ र गंगालाल।
राजनीतिक बन्दीहरू राखिएको सिंहदरबारभित्रको स्कूलघर, बरफ बाग, तबेलाघर, बिजुलीघर आदिमा सफाइ कर्मचारीका रूपमा राममाया च्यामिनी कार्यरत थिइन्। २४/२५ वर्षकी उनी एउटा हातमा कुचो र अर्को हातमा बोरा बोकेर नियमित सरसफाइ गर्न आउँथिन्। उनी चलाखीपूर्वक राजबन्दीको खबर परिवारतिर र परिवारको खबर राजबन्दीतिर पुर्याउँथिन्।
त्यहाँ पहरा दिन खटिएका सिपाहीहरू उनीसँग छिल्लिएर कुरा गर्थे। उनी पनि सिपाहीहरूसँग लठ्याउने कुरा गर्ने क्रममा कटाक्ष गर्न बाध्य हुन्थिन्। एकदिन उनी गंगालालसँग केही कुरा गरिरहेकी थिइन्। त्यत्तिकैमा बन्दीहरूको निगरानीमा रहेका सिपाही उनीसँग छिल्लिन थाल्दा उनले भनेकी थिइन्, ‘खसी ! मैले फरिया पल्टाएर देखाइदिए पनि तिमीले मलाई के गर्न सक्छौ?’ (श्रेष्ठ, उहीः १०४-१०५)।
शहीदहरूले शहादत प्राप्त गरेको धेरै वर्षपछि तत्कालीन राजनीतिक बन्दी युगकवि सिद्धिचरण श्रेष्ठलाई उनै राजनीतिक बन्दीहरूकी हितैषी राममायासँग भेट गर्न मन लाग्यो। ८ कात्तिक २०४३ मा उनी कवि दुर्गालाललाई साथ लिएर राममायालाई भेट्न विष्णुमतीको पुल काटेर डल्लु जाने बाटोमा रहेको धुम्बाहाख्यो भन्ने ठाउँमा पुगे। उनी त्यहाँ डेरा गरेर बसेकी थिइन्।
सिद्धिचरणले राममायासँग जिज्ञासा राखे, ‘दशरथले आफू मारिएमा आफ्नो निम्ति रोइदिने कोही नभएकाले तपाईंलाई एकछिन भए पनि रोइदिनू है भनेको साँच्चै हो?’
सिद्धिचरणको यस्तो जिज्ञासा आएपछि राममायाको आँखा भरिएर आयो। दशरथले राममायालाई भनेका रहेछन्, ‘यहाँ मेरा साथीहरूको त घर छ, तर मेरो घर पुग्न महीना दिन लाग्छ। मेरा लागि रुने कोही छैन राममाया, तिमी दाइ दशरथ भनेर एकछिन भए पनि रोइदिनू है !’
दशरथबाट यस्तो सुनिसकेपछि तत्कालै राममाया रुन थालेकी थिइन्। दशरथले उनी रोएको देखेर उनलाई नरुन र राणाहरूले आफ्नै जस्तो गति पारिदेलान् भनी सम्झाएका थिए। दशरथ चन्दहरू मारिएपछि उनले लामो समय शोक मनाइन्। कैयौं दिनसम्म खान मन लागेन। विगतका यी स्मृतिमा डुब्दा राममायाको आँसु बगिरह्यो (श्रेष्ठ, उहीः१०५-१०७)।