सोलार बिजुलीको खरीद दर प्रतिस्पर्धाबाट निर्धारण हुने
नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत् खरीद बिक्री सम्झौता (पीपीए) प्रतिस्पर्धाबाट गर्ने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको हो। सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिस्पर्धाबाट गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताइन्।
पछिल्लो विकसित प्रविधि अनुसार, सोलारबाट विद्युत्् उत्पादन लागत कम हुँदै गएको कारण यसअघि तोकिएको दरलाई संशोधन गरिएको भुसालको भनाइ छ। उनले भनिन्, “यसअघिको निर्णय अनुसार पनि तीन वर्षमा सोलारको पीपीए दर पुनरावलोकन गर्नुपर्ने थियो।”
विद्युत् महसूललाई सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत् माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानूनको मर्मलाई मध्यनजर गर्दै पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा विद्युत् आयोजनाहरूको उत्पादन सम्मिश्रणको अवधारणा अनुसार राष्ट्रिय ग्रिडमा कुल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धा मार्फत पीपीएका लागि आह्वान गरिनेछ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट २५ माघ २०७४ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत् ऊर्जा विकास सम्बन्धी कार्यविधि, २०७४ मा उल्लिखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत् खरीद दर प्रतियुनिट सात रुपियाँ ३० पैसा तोकिएको थियो। उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत् खरीद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो।
मन्त्रालयको सो निर्णयलाई प्राधिकरणको सञ्चालक समितिले २६ असार २०७५ को ७७३औं बैठकबाट निर्णय गरी कार्यान्वयनमा ल्याएको थियो।
तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन। अहिले अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो क्रममा छ।
प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग एक सय १० मेगावाटको पीपीए गरेको छ। यसमध्ये ६ आयोजना निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ।