स-साना कमजोरीले मरे सात महीनामा २० गैंडा
भरतपुरको सडक किनारको खाल्डोमा परेर आइतबार बिहान एक गैंडा मरेको अवस्थामा भेटियो। यस्तै स-साना कमजोरीले गत सात महीनामा २० गैंडा मरेका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिकाको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडकखण्डमा सडक विस्तार भइरहेको छ। यसक्रममा सडक किनारमा नाला बनाइँदै छ। नालामा फर्मा ठोक्न बनाइएको खाडलमा परेर गैंडा मरेको हो।
सामुदायिक वनमा लगाइएको मेसजाली भत्काएर सडकतर्फ आउँदा गैंडा खाडलमा परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए। “खाडल हुँदैनथ्यो भने या पुरिसकेको भए त्यो अप्रिय घटना नहुन सक्थ्यो,” तिवारीले हिमालखबरसँग भने, “अर्को गैंडासँग जुधेर भाग्दा वनको मेसजाली समेत भत्काएर खाडल परेछ।”
भरतपुर डिभिजन सडक कार्यालयका इन्जिनियर शिव खनालका अनुसार, नाला निर्माण गरेको १४ दिनपछि खाडल पुर्ने काम गरिन्छ। माघको पहिलो साता त्यस क्षेत्रमा नाला ढलान गरिएको उनले बताए। “मानव बस्ती नभएको ठाउँमा यस्तो दुर्घटनाको परिकल्पना गरिएको थिएन,” इन्जिनियर खनालले भने, “यस्तो अवस्था आउला भनेर आकलन गरिएको भए खाडल पुर्न सकिन्थ्यो।”
भरतपुर र पूर्वी चितवन जोड्ने टिकौली जङ्गल क्षेत्रमा उत्तरतर्फ राष्ट्रिय वन र दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र छ। बरन्डाभार वन क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग हो।
करीब चार किलोमिटरको यो सडकखण्डमा वन्यजन्तुलाई ओहोरदोहोर गर्न कुनै पूर्वाधार बनाइएको छैन। अहिले विस्तार भइरहेको सडकखण्डको करीब ३० मिटर वन क्षेत्रमा पर्छ। गैंडा सोही क्षेत्रको खाडलमा परेर मरेको हो।
विकास निर्माणका काम वातावरणमैत्री नहुँदा यस्ता घटना हुँदै आएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तिवारीले बताए। उनका अनुसार, साउनयता २२ गैंडा मरेको अवस्थामा भेटिएका छन्। जसमध्ये दुई वटा मात्रै चोरीशिकारका लागि मारिएको उनले बताए।
अन्य गैंडा यस्तै स-साना कमजोरीका कारण मरेका हुन्। अन्य २० गैंडा घोलमा भासिएर, जुँधेर, बुढो भएर, करेन्ट लागेर मरेको पाइएको तिवारीले बताए।
एकसिङ्गे गैंडा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ। गत वर्षको गणना अनुसार नेपालमा ७५२ एकसिङ्गे गैंडा छन्। जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा मात्रै ६९४ गैंडा रहेकोे तथ्याङ्क छ।
स्थानीय बासिन्दाको सक्रियताले चोरीशिकारी कम हुँदै गएको भए पनि अन्य कारणले वन्यजन्तु मर्न थालेका छन्। अब वन्यजन्तु आवतजावत गर्ने क्षेत्रमा पूर्वाधार निर्माण गर्दा यस्ता दुर्घटना नहुने तरीकाले डिजाइन गर्नुपर्ने सहायक संरक्षण अधिकृत तिवारीको भनाइ छ।