कर्मचारीलाई कोरोना भएपछि प्रशासन कार्यालयको कामकाज बन्द
कर्मचारीलाई कोरोनाभाइरसको सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालय, रसुवाले सोमबारदेखि कामकाज बन्द गरेको छ।
प्रशासन कार्यालयका अधिकांश कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य कामकाज बन्द गरिएको जनाइएको छ। शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा १४ माघसम्म स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।
प्रशासन कार्यालयले सोमबार विज्ञप्ति जारी गरी नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई-पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, संघसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावली सङ्कलनका कार्य बन्द गरिएको जनाएको छ।
जिल्लामा सोमबारसम्म ९९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अहिलेसम्म एक हजार ४३६ जनामा कोरोना पुष्टि भएको छ भने एक हजार ३३५ जना निको भइरहेका छन्। कोरोनाबाट रसुवामा दुई जनाको मृत्यु भएको छ।