हिमालय एअरलाइन्सले पायो आईएसओ प्रमाणपत्र
हिमालय एअरलाइन्सले गुणस्तरीय व्यवस्थापन प्रणालीबाट आईएसओ प्रमाणपत्र पाएको छ।
बेलायतको ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङडम एक्रिडिटेशन सर्भिस’ द्वारा आईएसओ प्रमाणपत्र पाएको हो। हिमालय एअरलाइन्सलाई आईएसओ ९००१ः२०१५ प्रदान गरिएको हो।
हवाई यात्रा गर्ने यात्रु तथा हवाई परिवहन सम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायत गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेकाले आईएसओ प्रमाणीकरण प्राप्त गरेको एअरलाइन्सले जनाएको छ। यसअघि हिमालय एअरलाइन्सले सन् २०२० मा हवाई जहाज मर्मत-सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ सेवा बापत आईएसओ प्रमाणीकरण प्राप्त गरिसकेको छ।
अहिले व्यवस्थापन प्रक्रियाका सूक्ष्म आयाम तथा मापदण्ड पूरा गरी परीक्षणका सबै प्रक्रिया पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली वैधानिक एवं नियामकता सम्बन्धी महत्त्वपूर्ण सबै मापदण्ड अनुरूप भएको प्रमाणित गर्दै एअरलाइन्सले यो प्रमाणीकरण प्राप्त गरेको जनाएको छ।
आईएसओ प्रमाणपत्र पाएकोमा हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङले खुशी व्यक्त गर्दै सबैको सामूहिक प्रयासले यो सफलता मिलेको जनाएका छन्। आफ्ना कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा व्यवस्थापनलाई अझै परिष्कृत पार्ने, सेवाका स्तर उकास्ने र आवश्यक सबै नीति-नियमको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा जोड दिन उनले प्रतिबद्धता जनाएका छन्।
हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो उल्लेखनीय उपलब्धि भएको बताए। यसले हिमालयको उच्चस्तरको कार्य क्षमता तथा कार्य प्रणालीको प्रदर्शन गर्दै स्तरीय व्यवस्थापनप्रतिको आफ्नो निरन्तर प्रतिबद्धत्तालाई पुष्टि गरेको उनको भनाइ छ।