दार्जीलिङको सङ्घर्ष र सपना
नेपालीभाषी भारतीयकाे वेदनादेखि गोर्खाल्यान्ड-सपनाभित्र मडारिएको राजनीति अटाएको ओ दार्जीलिङमा प्राध्यापक महेन्द्र पी. लामाले सीमापारिका अनेक आयाम खोतल्ने क्रममा नेपालका समस्या पनि केलाएका छन्।
बौद्धिक र प्राज्ञिक व्यक्तित्व महेन्द्र पी. लामाको हालै प्रकाशित पुस्तक हो, ओ दार्जीलिङ! : सीमा वारिपारिका परिवेश र मन्थन। भारत दार्जीलिङमा जन्मिएका तथा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक लामा लिखित पुस्तकले सीमावारि र पारिका सपना, सङ्घर्ष, सीमा तथा सम्भावनाका विविध पाटा उधिनेको छ।
६ खण्डमा बाँडिएको पुस्तकमा ४९ लेख सङ्गृहीत छन्। पहिलो खण्ड ‘पहाडकी रानी’ मा दार्जीलिङको हिजोदेखि आजसम्मको विवेचना र आगामी मोडको विश्लेषण गरिएको छ। लेखकले दार्जीलिङको इतिहासको रौंचिरा केलाउँदै निर्माणकाल (सन् १८३५-१९४०), सुनौलो काल (१९३५-१९८०), जागरुक काल (१९८०-२०००), निष्पट्ट अँध्यारो काल (२०००-२०२१) र नयाँ दिशानिर्देश काल (२०२१ देखि अगाडि) भनेर काल विभाजन गरेका छन्।
यस बाहेक पनि उक्त खण्डमा अन्य चार लेख छन्, जसमा दार्जीलिङको उत्साह, नवयुवाका प्रेरणादायी काम, विश्वमा लोकप्रिय दार्जीलिङे चिया र यसका श्रमिकबारे लेखिएका छन्। दुनियाँलाई मीठो चिया खुवाउने नेपालीभाषी भारतीय मजदूर र किसानलाई हातमुख जोर्नै कठिन पार्ने पश्चिम बंगाल राज्य सरकारको शोषणपूर्ण नीति तथा व्यापारी सिर्जित समस्या जान्दा मनै कुँढिन्छ।
यति मात्र होइन, पुस्तकले दार्जीलिङका प्राकृतिक स्रोतसाधन पहाडवासी आफैंले उपयोग गर्न नपाएको, राज्य सरकारले विभिन्न कानून, नीति र संस्थाका नाममा दोहन गरेको यथार्थ उजागर गरेको छ। राज्यको दोहनकारी चरित्रका कारण ‘गोर्खाल्यान्ड’ का बासिन्दाले भोग्नुपरेका समस्या र पीडाको विरह गान नै छ।
पुस्तकको दोस्रो खण्ड ‘हाम्रो आवाज र स्वाभिमान’ मा गोर्खाल्यान्ड आन्दोलनको इतिहास छ। एक शताब्दीभन्दा पुरानो यो आन्दोलनका आरोह, अवरोह र वर्तमान अवस्थाबारे विस्तृत लेखिएको छ। लेखकले गोर्खाल्यान्डलाई ‘आगोभित्र अर्को आगो’ को विम्ब दिएका छन्। भारतमा नेपालीभाषीले पाएका सास्ती, पहिचानका निम्ति गरेका सङ्घर्ष, बलिदानीको मात्र गाथा छैन, निरन्तरको प्रयासबाट अन्ततः नेपाली भाषाले कसरी सन् १९९२ मा भारतको संविधानको आठौं अनुसूचीमा २१ वटा भाषाभित्र मान्यता पायो, त्यसको प्रत्यक्षदर्शी र अभियानको प्राज्ञिक नेतृत्व गरेको नाताले लेखक लामाले प्रथम पुरुष दृष्टिकोणबाट वर्णन गरेका छन्।
पुस्तकमा नेपाल र भारत सरकारबीच सन् १९५० मा भएको सन्धिलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय सन्दर्भमा नेपालीभाषी भारतीयको नजरबाट विश्लेषण गरिएको छ। उक्त सन्धि असमान भएको, खारेजी वा पुनरावलोकन आवश्यक रहेको भनी नेपालमा वेलावेला आवाज उठिरहँदा भारतमा पनि त्यो सन्धि जलाइएको यसै पुस्तकबाट थाहा हुँदा सन्धिलाई हेर्ने नयाँ आयाम पाइन्छ।
लेखकले गोर्खाल्यान्डका नेताहरू पटक पटक असफल भएका घटना र इतिहास ठाउँ ठाउँमा चर्चा गरेका छन्। गोर्खाल्यान्ड प्राप्त नहुनुमा त्यहाँका नेताहरूको द्वैध चरित्र पनि उति नै कारक रहेको उनको ठहर छ। गोर्खाल्यान्डको नाममा कसरी दलीय गुटहरू निर्माण गरेर सरकारको दलाली गरिन्छ भन्ने पनि रहस्योद्घाटन गरिएको छ। उनले ती भ्रष्ट र दिशाहीन, नैतिकहीन नेताहरूलाई ‘उत्ताने मुसा’ को संज्ञा दिएका छन्।
तेस्रो खण्ड ‘नेपाललाई नियाल्दा’ मा दिल्लीबाट नेपाललाई कस्तो देखिन्छ भन्ने चर्चा छ। नेपाल मामिला जानकार लामाले नेपाल धेरै सम्भावना भएर पनि विकासको गति समात्न नसक्नुमा यहाँका दलहरूको कार्यक्षमताप्रति प्रश्न उठाएका छन्। ‘नेपालको पूर्वतिर थाइल्यान्ड’ लेखमा त उनले नेपालको सोचमा नै नयाँ क्षितिज उघारिदिएका छन्। अहिलेसम्म नेपालमा उत्तर र दक्षिण मार्गमा केन्द्रित छलफल हुँदै आएकोमा उनले अब पूर्वतिर हेर्दै नवीन मार्ग खोल्न तत्पर रहनुपर्ने सुझाव दिएका छन्।
चीनको विगतको गरीबी र भोकमरीदेखि आजको चामत्कारिक आर्थिक विकाससम्मको इतिहास र चर्चाले हिजो र आजको चीन के हो भन्ने चिनारी मिल्छ।
यसै खण्डमा लेखकले ‘नेरु, भारु र चियु’ लेखमा नेपाली रुपैयाँमाथि विहङ्गम विश्लेषण गरेका छन्। अमेरिकी डलर, चिनियाँ युआनको अन्तर्राष्ट्रिय बजारमा भएको प्रतिस्पर्धालाई व्याख्या गर्दै चियुले डलरको विकल्प खोजेको प्रसङ्ग र उदाहरण समेत दिएका छन्। बर्मा, इरान, अफगानिस्तान लगायत मध्यपूर्वी एशियाका देशहरूमा चीनको बढ्दो प्रभाव र चियुको कारोबारले गति लिन थालेको परिदृश्यमा भारु र नेरुको बारेमा राम्रो छलफल चलाएका छन्।
चौथो खण्ड ‘चीनतिर चियाउँदा’ अन्तर्गत चीन सम्बन्धी सात वटा लेख छन्। नेपाल र चीन भौगोलिक रूपमा नजिक छन् र औपचारिक सम्बन्ध पनि राम्रै छ। तर, बन्द सीमाका कारण आवतजावत र द्विपक्षीय आदानप्रदान भारतको तुलनामा कमजोर छ। आम नेपालीलाई चीनबारे त्यति जानकारी छैन। चीन विशेष सात वटा लेख नेपाली पाठकहरूलाई चीन परिचय जस्ता छन्, यिनले चिनियाँ समाज र नागरिकको बारेमा विस्तृत जानकारी दिन्छन्। चीनको विगतको गरीबी र भोकमरीदेखि आजको चामत्कारिक आर्थिक विकाससम्मको इतिहास र चर्चाले हिजो र आजको चीन के हो भन्ने चिनारी मिल्छ।
पाँचौं खण्ड ‘कूटनीति र यताउति’ मा लेखक लामाले आफ्नो लामो कूटनीतिक कार्यकालमा देखेका, भोगेका र अभ्यास गरेका ज्ञान र अनुभवबाट सर्वसाधारणले बुझ्ने गरी ठूल्ठूला सिद्धान्त, राजनीति र कूटनीतिका विषयलाई केलाएका छन्। हामीकहाँ विषयवस्तुलाई जति जटिल र रहस्यमयी बनाएर नबुझ्ने बनाउन सक्यो, उति विद्वान् कहलिने मानसिकता र अभ्यास छ। तर, लामाको लेखनमा भने गहन विषय तर सरल प्रस्तुति पाइन्छ। यस खण्डमा ‘चिकेन नेक’ देखि सार्कको शिथिलता र भविष्यको चिरफार गरिएको छ।
प्राध्यापक लामाले दक्षिणएशियामा चीनको बढ्दो प्रभावबारे तिक्खर शैलीमा लेखेका छन्। उनले डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीमाथि समेत प्रश्न उठाएका छन्। विश्व र दक्षिणएशियामा शरणार्थी समस्या कसरी झाङ्गिंदै गयो, त्यसमा विभिन्न देशका सरकारको सकारात्मक/नकारात्मक भूमिकाको प्रशंसा र आलोचना दुवै गरेका छन्। शरणार्थी मामिला, सार्क र अहिले कोभिड-१९ महामारीको वेला दक्षिणएशियामा भारतको क्षेत्रीय भूमिका चित्तबुझ्दो नभएको भन्दै उनले आलोचना गरेका छन्। विभिन्न देशका शरणार्थीको व्यवस्थापनमा नेपालको भूमिकाको उनले खुलेर तारीफ गरेका छन्।
पुस्तकको छैटौं तथा अन्तिम खण्ड ‘अनुभूति र अवलोकन’ मा उनले जीवनयात्रामा देखेका र अनुभूति गरेका विषय प्रस्तुत गरेका छन्। उनी बालापनको प्रसङ्ग उप्काउँदै ग्रामीण भेगमा जडीबुटी लगायतमा पुरानो पुस्तामा रहेको परम्परागत ज्ञानको चर्चा गर्छन्। सानोमा उनलाई ज्वरो आउँदा हजुरबा र बज्यैले म्लागन पोर पोर (एक प्रकारको पहाडी फूल) पानीमा उमालेर खान दिएका थिए। त्यो ज्ञानलाई उनले आफू सिक्किम विश्वविद्यालयको कुलपति हुँदा सैद्धान्तिक कलेवरमा विश्वविद्यालयको कक्षामा प्रवेश गराए।
समाज, माटो र हाम्रो आवश्यकतामा आधारित शिक्षा नहुँदा नेपालका विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बनेको सन्दर्भमा सिक्किम विश्वविद्यालयको अभ्यास हाम्रा लागि पाठ हुन सक्छ।
परम्परागत ज्ञानका खानी बाजे र बज्यै बित्दा उनीहरू जीवित पुस्तकालय लिएर गएको भन्दै लामाले अब त्यस्तो सामाजिक क्षति हुन नदिने सङ्कल्प नै गरे। अन्ततः परम्परागत ज्ञानलाई विश्वविद्यालयको पाठ्यक्रममा समेटे, मौखिक साहित्य र ज्ञानको कार्यक्रम नै चलाए। गाउँगाउँमा विद्यार्थी, प्राध्यापक र अनुसन्धाता पठाएर अभिलेखन अभियान नै सञ्चालन गरे।
‘सिक्किम विश्वविद्यालयको एक दशक’ लेखमा उनले विश्वविद्यालय कसरी हाँके, विश्वविद्यालयको शैक्षिक जग कसरी बनाइयो, देश र विश्वलाई चाहिने ज्ञान कसरी पस्के भन्नेबारे समष्टिमा लेखेका छन्। शिक्षामा उनले दुनियाँलाई चकित हुने गरी काम मात्रै गरेनन्, आफ्ना दुवै छोरीलाई विद्यावारिधि पनि गराए।
उनले सिक्किम विश्वविद्यालयमा गरेका अभ्यास विश्वका नाम चलेका थुप्रै विश्वविद्यालय र भारतभरि फैलिंदै आज १५ वर्षपछि त्यहाँको राष्ट्रिय शिक्षा नीतिमा समावेश भएको छ। तर, त्यो असल अभ्यास र पद्धतिबारे यतिका वर्षसम्म नेपाल बेखबर रह्यो, यता प्रवेश हुने सुरसार नै छैन। समाज, माटो र हाम्रो आवश्यकतामा आधारित शिक्षा नहुँदा नेपालका विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बनेको सन्दर्भमा सिक्किम विश्वविद्यालयको अभ्यास हाम्रा लागि पाठ हुन सक्छ।
‘साहित्य र बजार-व्यवस्था’ लेखमा प्रकाशकले लेखकलाई कसरी ठग्छन्, उनले आफ्नै उदाहरण सहित बयान गरेका छन्।
लामाले आफ्नो पुस्तकको नाम ओ दार्जीलिङ राख्नुमा गम्भीर अर्थ-राजनीति छ। उनले यो सम्बोधन मार्फत गोर्खालीहरूलाई पुकार गरेका हुन्। गौरवशाली इतिहास बोकेको जन्मभूमिमा निष्पट्ट अँध्यारो छायो, यसबाट मुक्त हुन सबै जाग भनेका हुन्। ओ दार्जीलिङमा पुकार मात्र छैन, आक्रोश छ, मातृभूमिको मुक्तिको आवाज छ र निराशाबीचमै आशाको झिल्को छ।
भुइँबाट उठेर आफ्नो क्षमताबाट फैलिंदै गए पनि आफ्नो जरा र पहिचान नभुलेका प्राध्यापक लामा कुनै कुरामा आफ्नो स्वाभिमान र अस्तित्व बन्धकी नराख्ने जोदाहाका रूपमा पुस्तकमा चिनिन्छन्। उनको सपना हो गोर्खाल्यान्ड, तिनलाई विपना बनाउन आहुति दिनेहरू सबैलाई कदर गर्दै बौद्धिक क्षेत्रबाट निरन्तर लडिरहेका उनी जोखिम मोल्न पछि पर्दैनन्।
दार्जीलिङले गोर्खाल्यान्ड नपाउनुको कारण राजनीतिक नेतृत्वभित्रकै दाउपेच त छँदै छ, आफ्नो भूमिपुत्रलाई चिन्न नसक्नु पनि उसको कमजोरी देखिन्छ। बाहिरबाट आउने पाहुना उम्मेदवारलाई जिताउने दार्जीलिङले सन् २०१४ को लोकसभा निर्वाचनमा उम्मेदवार बनेका लामालाई पराजित गरेको थियो। निष्पट्ट अँध्यारो कालमा आफन्त र पराई नचिन्नु स्वाभाविकै हो। तर, यही अँध्यारो समयमा पनि टाढा टाढाबाट चम्किलो देखिने महेन्द्र पी. लामाहरू नै दार्जीलिङ पहाडका आशाका किरण हुन्।