यस कारण महिला नेतृत्व
संसारको आधा जनसङ्ख्या ओगटेका र दिगोपनाका लागि चाहिने गुण बोकेका महिला नै नेतृत्व हाँक्ने भूमिका र अवसरबाट वञ्चित हुनुले समाजको दिगो भविष्यको कल्पनासम्म पनि गर्न सकिँदैन।
सामाजिक संस्था रोटरी क्लबमा एक वर्षअघि सदस्य भएकी मलाई रोटरी इन्टरनेशनलको सन् २०२२-२३ को अध्यक्ष महिलालाई छानिँदै छ भन्ने थाहा थियो। तर, यो चाहिं थाहा थिएन- रोटरीको ११५ वर्षे इतिहासमै महिलालाई नेतृत्व दिन लागिएको पहिलो पटक रहेछ।
योभन्दा अचम्म, तीन दशकअघिसम्म रोटरीमा नेतृत्व त परको कुरा, महिलाले सदस्य समेत बस्न नपाउने अवस्था रहेछ। अमेरिकाको क्यालिफोर्नियाको एक रोटरीले सन् १९७८ मा पहिलो पटक तीन महिलालाई सदस्यता दिंदा उक्त क्लबको मान्यता नै खारेज गरिएछ। पछि अदालतले थमौती गरिदिएपछि बल्ल त्यस रोटरी क्लबको मान्यता कायम भएको रहेछ। यिनै प्रवृत्तिहरूबाट प्रस्ट हुन्छ, अहिले पनि किन हरेक क्षेत्रमा पुरुषकै बाहुल्य छ भनेर।
आजकल धेरैले अब राज्यका हरेक क्षेत्रमा महिलाहरू प्रवेश गरिसकेको भन्दै अब महिला सशक्तीकरणको बहस आवश्यक नभएको तर्क गर्छन्। तर, अझै पनि नेतृत्वदायी अनि निर्णायक भूमिकामा महिलाको पहुँच छैन। उदाहरण सर्वत्र छन्।
निर्वाचन आयोगका अनुसार, गत स्थानीय निर्वाचनमा ७५३ पालिकाका ३५,०४१ पदमा प्रतिस्पर्धा हुँदा ४०.९६ प्रतिशत महिला चुनिए। त्यसमध्ये उपप्रमुख पदमा महिलाको उपस्थिति ९२.९६ प्रतिशत छ। तर प्रमुख पदमा जित्ने महिलाको सङ्ख्या २.३९ प्रतिशत मात्र छ। हालै सम्पन्न देशका प्रमुख राजनीतिक दलका महाधिवेशनमा पनि महिला नेतृत्वको कमी छर्लङ्गै देखियो।
जनसङ्ख्याका हिसाबले आधाभन्दा बढी महिला छन्। तर, दलहरू आफैंले संविधानमा व्यवस्था गरे अनुसार केन्द्रीय तहमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन गम्भीर देखिँदैनन्।
जनसङ्ख्याका हिसाबले आधाभन्दा बढी महिला छन्। तर, दलहरू आफैंले संविधानमा व्यवस्था गरे अनुसार केन्द्रीय तहमा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन गम्भीर देखिँदैनन्। यसै कारण जुनसुकै राजनीतिक दलको निर्णायक तहमा दुई-चार जना महिला भेट्न पनि मुश्किल छ।
केही समयअघिसम्म नेपालका ब्याङ्कहरूमा पनि शतप्रतिशत पुरुष नै रहेको सञ्चालक समिति हुन्थ्यो। २०७४ सालमा कम्पनी ऐन २०६३ संशोधन भएपछि महिला शेयरधनी भएको पब्लिक कम्पनीहरूमा सञ्चालक समितिमा कम्तीमा एक जना महिला हुनैपर्ने बाध्यकारी नियम बन्यो। अनि मात्र ब्याङ्कको सञ्चालक समितिमा एक-एक जना महिलाले ठाउँ पाएका छन्। तर, सञ्चालक समितिमा कोटा बाहेकका महिलाले नै आधाभन्दा बढी पद सम्हालेको हेर्न अझै कति कुर्नुपर्ने हो, थाहा छैन।
महिलाहरू नेतृत्वमा आउनुपर्छ भन्ने आवाज धेरै उठे पनि दिगो समाज र भविष्य निर्माणका लागि महिला नेतृत्व किन आवश्यक छ भन्ने बारेको चर्चा अझै अधुरो छ। यो लेख नेतृत्वमा महिला हुनु किन आवश्यक छ भन्नेमा केन्द्रित छ।
सामान्य विवेक
कुनै संस्थामा आधा जति सदस्य निष्क्रिय भए त्यो संस्था राम्रोसँग चल्न सक्दैन। ठीक त्यसै गरी देशमा पनि आधा नागरिकले आधारभूत अधिकार, शिक्षा र अवसरको अभावमा आफ्नो क्षमता विकास गर्न नसक्दा समाज अघि बढ्न सक्दैन। अर्थात्, यस्तो अवस्थाको समाज र देश प्रगतिशील हुन सक्दैन।
यो सामान्य विवेककै भरमा अनुमान लगाउन सकिने कुरा हो। तर विडम्बना, नेपाल लगायत अधिकांश देशमा महिलाहरूको लामो समयदेखि यही दुःखद अवस्था छ।
करीब दुई सय वर्षयता औद्योगिक क्रान्ति र विकासका नाममा मान्छेले जस्ता काम गर्यो, त्यसबाट पृथ्वी मात्र नभई सम्पूर्ण प्राणीकै जीवन जोखिममा पार्ने जलवायु सङ्कट निम्तियो। यसको मुख्य जड पितृसत्तात्मक व्यवस्था र मानव जातिले प्रकृतिसँग राखेको हिंसापूर्ण सम्बन्ध हो।
फरक समय, फरक नेतृत्व
नेतृत्वका पनि विभिन्न आयाम हुन्छन्। नेतृत्व कुन प्रयोजनका लागि हो भन्ने कुराले त्यसको परिणाम निर्धारण गर्छ। हरेक समय-परिस्थितिले आफूलाई अनुकूल नेतृत्व मागिरहेको हुन्छ। जस्तो, माओवादीहरू जब सशस्त्र द्वन्द्वमा थिए, तब उनीहरूलाई हिंसा, शारीरिक बल र युद्धकलालाई प्रोत्साहित गर्ने नेतृत्व चाहिएको थियो। दया-माया, मानवता जस्ता भावनालाई नकुल्चेसम्म लडाकूहरूले आफैंले चिन्ने शिक्षक, छिमेकी, साथी, दाजुभाइ, दिदीबहिनीको हत्या गर्न अनि आफ्नै कलिला छोराछोरीलाई ‘युद्ध’ मा होम्न सम्भव नै हुँदैनथ्यो।
मूलधारको राजनीतिमा आएपछि जब तिनै माओवादीले सरकार चलाउने जिम्मा पाए, तब उनीहरूले विद्रोहीका रूपमा गर्दै आएको भन्दा ठीक फरक भूमिका देखाउनुपर्ने भयो। राज्य संरचना विरुद्ध लड्दै आएका उनीहरूलाई सबै पक्ष मिलाएर लैजाने, आफैंले उठाएका समावेशिताका मुद्दा सम्बोधन गर्दै जनताको इच्छा आकाङ्क्षा बुझेर काम गर्ने, आफैंले भत्काएका संरचनाको पुनर्निर्माण गर्ने जिम्मेवारी आयो। तर, फेरिएको परिस्थितिसँगै नेतृत्व, सोचाइ अनि काम गराइमा जुन परिवर्तन आउनुपर्ने हो, त्यो आएन। यसले गर्दा उनीहरूले आफ्ना कार्यकर्ता र जनताको जे अपेक्षा थियो, त्यसलाई पूरा गर्न सकेनन्।
असफल पितृसत्ता
करीब दुई सय वर्षयता औद्योगिक क्रान्ति र विकासका नाममा मान्छेले जस्ता काम गर्यो, त्यसबाट पृथ्वी मात्र नभई सम्पूर्ण प्राणीकै जीवन जोखिममा पार्ने जलवायु सङ्कट निम्तियो। यसको मुख्य जड पितृसत्तात्मक व्यवस्था र मानव जातिले प्रकृतिसँग राखेको हिंसापूर्ण सम्बन्ध हो। मान्छेले पृथ्वी आफ्नो जननी भन्ने बिर्सी हरेक जीवलाई उपभोग्य वस्तुका रूपमा हेर्दा प्राकृतिक स्रोतको अत्यधिक दोहन गर्यो। बस्ती, कलकारखाना, खेती, बाटोघाटोका लागि वनजङ्गल फाँडियो। खानीजन्य स्रोतको उत्खनन असीमित भयो।
जलवायु सङ्कटको मुख्य कारक तत्त्व खनिज इन्धनमै मान्छे अत्यधिक आश्रित हुन पुग्यो। यस बाहेक आणविक हतियार प्रयोग गर्नुका साथै संसारका आधाभन्दा बढी प्रजाति लोप गराएर मान्छेले यो अवधिमा पृथ्वीका कति कुरा फिर्ता हुनै नसक्ने गरी नाश गरिसक्यो। उसले प्रकृतिलाई दिन कहिल्यै जानेन, दोहन गर्न र लिन मात्र जान्यो।
हरेक क्षेत्र पुरुषहरूले हाँकिरहँदा हामीले कस्तो नेतृत्वलाई, कस्तो खालको चरित्रलाई प्रोत्साहित गर्यौं त, जो नाफाका लागि जस्तोसुकै घातक निर्णय गर्न पनि पछि परेनन्?
यो दुई सय वर्षयता पूरै संसार पितृसत्ताबाट सञ्चालित त थियो नै, नेतृत्वका हरेक ठाउँ, सरकार प्रमुखमा पुरुषकै बाहुल्य थियो। स्टाटिस्टा डटकममा ४ जुन २०२१ मा प्रकाशित रिपोर्ट अनुसार, अहिले २०२१ मा आउँदा पनि अमेरिकाका सबैभन्दा ठूला र धेरै आम्दानी भएका ५०० वटा कम्पनी (फर्च्युन ५०० कम्पनी)को प्रमुख कार्यकारी अधिकृतमा जम्मा ४१ जना अर्थात् आठ प्रतिशत मात्र महिला छन्। हरेक क्षेत्र पुरुषहरूले हाँकिरहँदा हामीले कस्तो नेतृत्वलाई, कस्तो खालको चरित्रलाई प्रोत्साहित गर्यौं त, जो नाफाका लागि जस्तोसुकै घातक निर्णय गर्न पनि पछि परेनन् ?
फोर्ब्स पत्रिकामा ९ डिसेम्बर २०१९ मा प्रकाशित सम्पादकीय ‘द साइकोप्याथिक सीईओ’ का अनुसार, सामान्य जनसङ्ख्यामा एक प्रतिशतमा मात्र समाज विरोधी चरित्र हुन्छ। तर, व्यावसायिक दुनियाँका प्रमुख कार्यकारीहरूमा चारदेखि १२ प्रतिशतसम्म त्यस्तो चरित्र पाइएको छ। अनुसन्धाता क्यारेन ल्यान्डेका अनुसार, अहिलेको व्यावसायिक जगत्मा कुनै पनि संस्था वा सरकारका प्रमुख कार्यकारीहरूको साझा चरित्र भनेको उनीहरूमा सहानुभूतिको कमी देखिन्छ। समाजविरोधी चरित्रका व्यक्ति नेतृत्वमा पुग्ने सम्भावना बढी छ र त्यस्तो चरित्र देखाउँदा महिलाभन्दा पुरुष बढी पुरस्कृत हुने अवस्था छ।
सुरक्षित भविष्यका लागि
हामीले पृथ्वीमा मानव अस्तित्व बचाउनकै लागि पनि दुई सय वर्षमा बिगारेका कुरा २०-३० वर्षभित्र सच्याइहाल्नुपर्नेछ। यसका लागि प्राकृतिक स्रोतको अत्यधिक दोहन रोक्नु छ। कमसेकम स्रोतमा बाँच्न सक्ने जीवनशैली स्थापित गर्नुपर्नेछ। आफ्नो मात्र होइन, अरू सबै प्राणीको बाँच्ने आधार बचाउनु छ। प्रकृतिसँगको मानवीय सम्बन्धलाई पारस्परिक बनाउनु छ।
आफैंले फँडानी गरेका वनजङ्गललाई पुनःस्थापित गर्नुपर्नेछ। आफैंले दूषित गरेको हावा, पानी, माटो शुद्ध पार्नुपर्नेछ। आफैंले उत्सर्जन गरेको पृथ्वी तताउने ग्यासलाई जमीनमुनि फिर्ता पठाउनुपर्नेछ। अत्यधिक दोहनबाट थिलथिलिएको प्रकृतिका सबै प्रणालीको मर्मत, सम्भार र पुनःस्थापना गर्नुपर्नेछ।
जब सुदृढ नेतृत्वका लागि आवश्यक सबै गुण बोकेको आधा जनसङ्ख्या नै त्यो अवसर र भूमिकाबाट टाढा छ, हामी दिगो अनि व्यवस्थित समाजको कल्पना पनि गर्न सक्दैनौं।
यो सब गरिरहँदा जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा रहेका सीमान्तीकृत वर्गहरूको हित संरक्षण गर्दै समावेशी र दिगो समाज निर्माण गर्नुपर्नेछ। यसका लागि प्रतिस्पर्धा होइन, सहकार्य चाहिन्छ। द्वन्द्व होइन, शान्ति चाहिन्छ। यो काम सजिलो छैन, तर आफ्नो र आगामी पुस्ताहरूको भविष्य सुरक्षाका लागि नगरी अरू उपाय नै छैन।
अब पनि हामीले पृथ्वीका हरेक वस्तुलाई उपभोग्य दृष्टिले हेर्यौं, स्रोतको अत्यधिक दोहन गर्यौं, स्वार्थका लागि नैतिकता बिस्र्यांै भने वातावरणीय, सामाजिक र आर्थिक रूपान्तरण र हाम्रो अस्तित्व सम्भव छैन।
त्यसैले अबको नेतृत्व यस्तो चाहिन्छ, जसले दया, माया, करुणा, समभाव जस्ता गुणलाई आत्मसात् गरोस्। प्रतिस्पर्धा होइन, सहकार्यको बाटो रोजोस्। पैसाको नाफा-घाटाभन्दा सबै प्राणीको दूरगामी हित सोचेर निर्णय लिओस्। यस्तो गर्न सक्ने गुण बढीजसो महिलामा हुन्छ। महिलामा परोपकारी सोच, भविष्य केन्द्रित विचार अनि सामाजिक जिम्मेवारीको भावना बढी हुन्छ भन्ने कुरा बेलायती दैनिक द गार्डियनमा ६ फेब्रुअरी २०२० मा प्रकाशित एक लेखमा उल्लेख छ।
अर्कातर्फ लैङ्गिक दृष्टिले वातावरणीय ह्रासबाट उत्पन्न समस्या र जलवायु सङ्कटबाट सबैभन्दा बढी पीडित पनि महिला नै रहेको बीबीसीमा प्रकाशित एक रिपोर्टले औंल्याएको छ। त्यसैले पनि दिगोपन र वातावरणीय मुद्दामा महिलाहरूको सहभागिता र नेतृत्व अपरिहार्य छ।
जब सुदृढ नेतृत्वका लागि आवश्यक सबै गुण बोकेको आधा जनसङ्ख्या नै त्यो अवसर र भूमिकाबाट टाढा छ, हामी दिगो अनि व्यवस्थित समाजको कल्पना पनि गर्न सक्दैनौं। महिला मात्र होइन, पुरुष लगायत सम्पूर्ण जीवनकै रक्षा गर्न अब हरेक क्षेत्रमा चाँडोभन्दा चाँडो महिला नेतृत्वको खाँचो छ।
(अभ्नी दिगोपना केन्द्रकी सञ्चालक आचार्य वातावरण संरक्षण अभियन्ता हुन्। हिमालको २०७८ माघ अङ्कबाट।)