क्रिप्टोकरेन्सीमा लगानी गर्नेलाई कारबाही गर्ने राष्ट्र ब्यांकको चेतावनी
नेपाल राष्ट्र ब्यांकले भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सीमा कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
केन्द्रीय ब्यांकले आइतबार सूचना सार्वजनिक गरेर छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अभौतिक मुद्रा/क्रिप्टोकरेन्सीमा कारोबार गर्ने तथा त्यस्ता अभौतिक मुद्रासँग सम्बन्धित हाइपर फन्डमा लगानी गर्ने काम भइरहेको सूचना आएकाले ध्यानाकर्षण भएको जनाएको छ।
नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा अभौतिक मुद्रा/क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएको सन्दर्भमा यस्ता वित्तीय औजारमा लगानी र कारोबार गर्दा सर्वसाधारण ठगिने तथा अवैधानिक तरीकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने जोखिम रहेको राष्ट्र ब्यांकले जनाएको छ।
केन्द्रीय ब्यांकले नेपाली तथा नेपालभित्र बसोबास गर्ने विदेशी नागरिक एवं विदेशमा बस्ने नेपाली समेत यस्तो अवैध कारोबार र व्यवसायमा संलग्न भएको पाइएमा कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
पछिल्ला वर्षमा नेपालीले पनि अभौतिक मुद्रा/क्रिप्टोकरेन्सीमा लगानी र कारोबार बढाइरहेका छन्। नेपालमा कानूनी मान्यता नपाए पनि विभिन्न तरीकाले विदेशमा मुद्रा पठाएर यस्तो कारोबार गर्नेको सङ्ख्या बढिरहेको जानकारहरू बताउँछन्।
यस्तो कारोबारमा संलग्नलाई कारबाहीको चेतावनी दिए पनि कारोबारमा संलग्नको पहिचान गरी कारबाही अघि बढाउने राष्ट्र ब्यांकको क्षमतामा भने आशङ्का गरिंदै आएको छ।