आईसीयूमा पनि बढ्न थाले कोरोना सङ्क्रमित
कोभिड-१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार, तीन सातामा आईसीयूमा राख्नुपर्ने सङ्क्रमितको सङ्ख्या तीन गुणा बढेको छ। आइतबार साँझसम्म देशभरका अस्पतालका आईसीयूमा २१५ जनाको उपचार भइरहेको छ।
एक साताअघि २ माघमा १२२ जना आईसीयूमा उपचाररत थिए। त्यसको एक साताअघि २६ पुसमा ६७ जनामा सङ्क्रमित मात्रै आईसीयूमा थिए।
त्यस्तै, भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सङ्क्रमितको सङ्ख्या पनि बिस्तारै बढ्दै गएको छ। २६ पुसमा १६ जना भेन्टिलेटरमा थिए भने २ माघमा २९ जना पुगेका थिए। आइतबार भने ४० जनालाई भेन्टिलेटरमा राखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, अस्पताल भर्ना गर्नुपर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। आइतबार साँझसम्म एक हजार ६६४ जनालाई अस्पताल भर्ना गरिएको छ। यसअघि २ माघमा एक हजार ९६ जनालाई भर्ना गरिएको थियो भने २६ पुसमा ६१० मात्रै भर्ना भएका थिए।
आइतबार देशभर ६ हजार ४६२ सङ्क्रमित थपिएका छन्। योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ।
यस अनुसार, सक्रिय सङ्क्रमितमध्ये दुई प्रतिशतलाई अस्पताल भर्ना गर्नुपरेको छ। त्यस्तै, अस्पताल भर्ना भएकामध्ये १२ प्रतिशतलाई आईसीयूमा र दुई प्रतिशतलाई भेन्टिलेटरमा राख्नु परिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।