६ महीनामै १० खर्बको आयात, यो वर्ष व्यापार घाटा १७ खर्ब नाघ्ने आकलन
उच्च आयात निरुत्साहनका लागि सरकारले अघि सारेको नीतिले आंशिक मात्रै प्रभाव छोडेको देखिएको छ।
गत पुस महीनामा पनि उच्च आयातको रफ्तार कायमै रहेको देखिएको छ। यद्यपि, अघिल्ला महीनाको तुलनामा भने आयातको वृद्धिमा सामान्य सङ्कुचन आएको छ।
भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीनाको तथ्याङ्कका अनुसार, पुससम्म नेपालले रु.नौ खर्ब ९९ अर्ब ३४ करोड मूल्य बराबरको वस्तु विदेशबाट आयात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ५१.१३ प्रतिशत हो।
पुसमा मात्रै रु.एक खर्ब ५९ अर्ब ९३ करोड बराबरको आयात भएको छ। पुसभन्दा अघिल्ला महीनामा औसतमा हरेक महीना रु.एक खर्ब ६७ अर्ब ६८ करोडका दरले आयात भएको थियो। आयात घटाउन पुसको पहिलो साता नेपाल राष्ट्र ब्यांकले विभिन्न आयात निरुत्साहनको नीति अघि सारेको थियो।
उच्च आयातका कारण पछिल्लो समयमा देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा ठूलो चाप पर्दै आएको छ। शोधनान्तर र चालू खाता अहिलेसम्मै उच्च अवस्थामा पुगेका छन् भने विदेशी मुद्राको सञ्चिति पनि तीव्र गतिले घटिरहेको छ। तर, पुसको आयात हेर्दा शोधनान्तर र चालू खातामा परिरहेको चाप थप गहिरो हुने अनुमान लगाउन सकिन्छ। राष्ट्र ब्यांकले पुसको आर्थिक स्थितिको तथ्याङ्क सार्वजनिक गरिसकेको छैन।
भन्सार विभागका अनुसार, चालू आर्थिक वर्षको पहिलो ६ महीनामा देशले वैदेशिकमा रु.आठ खर्ब ८० अर्ब व्यापार घाटा खेपेको छ। यसले यो वर्षको व्यापार घाटा करीब रु.१७ अर्बभन्दा धेरै पुग्ने आकलन गर्न सकिन्छ।
पुससम्म नेपालले रु.एक खर्ब १८ अर्ब ८५ करोडको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षका तुलनामा ९५.४८ प्रतिशत धेरै हो। खासगरी, विदेशबाट आयात गरिएका कच्चा तेल भारत पठाउने धन्दाका कारण नेपालको निर्यात उच्च गतिले बढेको देखिएको हो।
विभागको तथ्यांकका अनुसार, पुससम्म नेपालले रु.दुई खर्ब १६ अर्ब ७१ करोड बराबरको कृषिजन्य वस्तुको आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा करीब ४९ प्रतिशत धेरै हो।
पुससम्म नेपालले रु.४२ अर्ब ७२ करोडको अन्न, रु.२२ अर्ब ५१ करोडको तरकारी, रु.१२ अर्ब ८ करोडको फलफूल, रु.पाँच अर्ब तीन करोडको चियाकफी आयात गरको छ।