एमाले अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण पुष्टि
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।
केही दिनदेखि अध्यक्ष ओलीलाई रुघाखोकी लागेको थियो। एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
त्यसपछि शनिबार गरिएको पीसीआर परीक्षणमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको एमालेले जनाएको छ। उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
दुवै जना बालकोटस्थित निवासमा आइसोलेशनमा बसेका छन्। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको थियो। तर, कोरोना सङ्क्रमण भएपछि कार्यक्रम स्थगन गरिएको एमालेले जनाएको छ।
यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, एमाले उपाध्यक्ष विष्णु पौडेललाई पनि कोरोना सङ्क्रमण भएको थियो। उनीहरू निको भइसकेका छन्।
अहिले दैनिक १० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ। शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको थियो।