एक कलाकारको पर्यावरण चिन्ता
‘पुतली सर्जक’ को उपमाले चिनिने मिलन राईको कला यात्राले लामो दूरी तय गरिसकेको छ।
कला अभियानको शुरूआती दिनमा उनले काठमाडौंका रूखहरूमा सेता पुतली टाँसे। उनको त्यो कला अभियान नेपालमा मात्र सीमित भएन, विदेशका शहरमा पनि फैलिए। स्वाध्ययनले कलाकार बनेका राई आफ्नो कलाको विस्तारलाई प्रकृति जस्तै क्रमिक विकास ठान्छन्।
अहिले भने उनको अभियान अतिक्रमणको मार खेपिरहेको काठमाडौंका सार्वजनिक स्थल जोगाउन केन्द्रित छ। उनको धारणा के छ भने बढ्दो भीड र साँघुरिंदो शहरमा सार्वजनिक स्थल जोगाउन पहल गर्न अत्यावश्यक भइसकेको छ।
“मानिसहरू मलाई अचेल किन पेन्टिङ गर्नुहुन्न भनेर सोध्छन्,” ३८ वर्षीय राई भन्छन्, “खासमा मैले कलाको काम रोकेको होइन, बरु मेरो क्यानभास सयौं रोपनीको खुला क्षेत्रमा फैलिएको पो छ।”
“मलाई लाग्छ, मेरो कला त झन् घनीभूत हुँदै गएको छ,” उनी भन्छन्, “अचेल म दृश्यमा मात्र सीमित छैन। मानिसहरूले माटोलाई छुन सकून्, तिनको स्वाद र गन्ध लिन सकून्, किनभने त्यसमा जीवित कीटपतङ्ग छन्। मेरो कलालाई चट्याङले पनि लाग्न सक्छ।”
वास्तवमा राईको कला काठमाडौंमा अलिकति भए पनि बचेखुचेको सार्वजनिक स्थल जोगाउन केन्द्रित छ। तर, जसै उनले आफ्नो सिर्जना शक्तिलाई सार्वजनिक हितका लागि एकत्र गरे, उनी गैरजिम्मेवार नेता, नगरपालिकाका अल्छी कर्मचारी, भ्रष्ट ठेकेदार र अदूरदर्शी स्थानीयको तारोमा परे। किन? किनभने, उनीहरूले प्राकृतिक हरियालीको महत्त्व बुझेका छैनन् वा आफ्नो स्वार्थका कारण त्यसलाई बेवास्ता गरिरहेका छन्।
विद्यमान राजनीतिक विसङ्गति कला मार्फत प्रस्तुत गर्न सकिन्छ नै। शायद त्यसैले राईको कला ध्वंसपूर्ण छ। “यो राजनीतिक कला हो, भूमि कला पनि हो। यसले मानिसहरूलाई प्रतिक्रिया दिन बाध्य पार्ने गरी भावनाको तहमै प्रहार गर्छ,” उनी भन्छन्।
राईको बाल्यकाल हङकङको पूर्ण शहरी वातावरणमा बितेको थियो, उनका बुबा गोर्खा सेनामा कार्यरत थिए। समयक्रममा उनी धरान फर्किए। तर, धरानमा उनको जीवनको लय मिलेन। गतिलो सङ्गतमा नपरेका कारण उनी दुई-दुई पटक स्कूलबाट निकालिए। त्यो वेलाको उनको नियति नै त्यस्तो थियो। उनी ‘ग्याङफाइट’ मा परे र नराम्रो परिणाम भोग्न बाध्य भए। त्यसपछि उनी कलामा लागे र शान्तिको अनुभूति गर्न थाले।
कलामा लागिरहँदा उनले भारतमा भएको एउटा कला प्रतिस्पर्धामा भाग लिए र प्रथम भए। लगत्तै उनले ललितपुरको पार्क ग्यालरीमा एकल कला प्रदर्शनी गरे। कलाकर्ममा लगावका साथ लागिरहे पनि उनलाई केही नपुग भए जस्तो लागिरहेको थियो।
मनमा दोधारको आँधी चलिरहेको वेला एक दिन बिहान उनको पेन्टिङ ब्रसमा कताकताबाट एउटा पुतली आएर बस्यो। उनका लागि त्यो दैवी देन जस्तै ‘युरेका क्षण’ भइदियो। त्यसपछि नै हो उनी ‘पुतली अभियान’ मा लागेका। उनको अभियान अन्तर्गत काठमाडौंका रूख, बत्तीका खम्बामा सेता पुतलीहरूको हुल उडिरहे झैं देखिने पुतलीहरू टाँसिए। सद्भावको सन्देश दिने उनको यो अभियान शीघ्र नै सङ्क्रमण झैं फैलियो।
वास्तविक पुतलीको झल्को दिने उनको पुतली टाँस्ने अभियान नेपालमा मात्र सीमित भएन। विदेशमा पनि फैलियो। उनको पुतलीका सिर्जना लण्डनको चर्चित राता दुईतले बस, ग्रीक टापुका रूखहरू र हार्वर्ड विश्वविद्यालयको आँगनका सिंढीहरूसम्म फैलिए।
उनलाई विश्वभरबाट आफ्नो कला प्रदर्शन तथा प्रवचनको निम्ता आउन थाल्यो। “पुतली टाँस्ने क्रममा म रूखसँग नजिक भएँ। म तीसँग सञ्चार गरिरहेको थिएँ,” उनले भने, “पछि आएर मैले के थाहा पाएँ भने वैज्ञानिकहरूले रूखले एकअर्कासँग कुरा गर्छन् भन्ने प्रमाणित गरेका रहेछन्।
सन् १९१७ मा कलकत्तामा बोस इन्स्टिच्यूट स्थापना गरेका वैज्ञानिक जगदीशचन्द्र बोसले ‘मानिसभित्र जे छ, त्यो सबै आभास वनस्पतिभित्र पनि छ। प्रेम, घृणा, आनन्द, डर, सुख, दुःख, उत्तेजना, मोह तथा अन्य असङ्ख्य भावात्मक प्रतिक्रियाहरू वनस्पतिहरूमा त्यत्तिकै सत्यताका साथ विद्यमान छन् जति कि जीवजन्तुहरूमा’ भन्ने प्रमाणित गर्न क्रेस्क्रोग्राफ आविष्कार गरी सफल प्रयोग गरेका थिए। बोसको मान्यता थियो- रूखहरूमा सञ्चार प्रक्रिया हुन्छ, तिनीहरूको सञ्चार प्रक्रिया प्राणीहरूको रक्तचापसँग मिल्छ तथा एउटा सानो बाहिरी हस्तक्षेप पनि संवेदनशील तन्तुहरूका लागि हानिकारक हुन्छ। वनस्पतिको संवेदनाको यस खोजको विषयमा योगीको आत्मकथामा योगानन्दले विस्तारपूर्वक उल्लेख गरेका छन्।
त्यसो हो भने त एउटै ग्रहका निवासी वनस्पति र हामी प्राणीबीचको सञ्चारले यो पृथ्वीलाई नै उन्नत बनाउन सहयोग हुँदैन र?
विडम्बना कस्तो भने, मिलनले काठमाडौंमा पुतली टाँसेको पहिलो रूख नै बाटो चौडा बनाउन भनेर काटियो। यो भावनासँग जोडिने कुरा पनि थियो। यसले उनलाई दुःखी बनायो। अनि यो दुःखको कारणबारे घोत्लिंदै जाँदा उनलाई लाग्यो- यो दुःखद काम जसरी भएको भए पनि यसबारे केही त गर्नैपर्छ। त्यसपछि उनलाई लाग्यो- काठमाडौंको हरियाली बचाउन पहल गर्नैपर्छ।
“मलाई के लाग्यो भने कलाको परिभाषालाई विस्तार गर्न जरुरी छ। अब यो क्यानभास वा प्रतिस्थापन कलामा मात्र सीमित हुनु हुँदैन। कला भनेको कौशल मात्र होइन, बरु यसले दर्शकलाई केही गर्न उत्प्रेरित गर्नुपर्छ,” उनी भन्छन्।
जब काठमाडौंको वायु प्रदूषण संसारलाई नै उछिनुँला झैं गरेर आकाशिंदै थियो, त्यो वेला राई युद्धका वेला प्रयोग गरिने ग्यास मास्क लगाएर शहरको मुख्य चोकहरूमा हातमा कुचो समातेर उभिए। साङ्केतिक सन्देश प्रवाह गर्न यो उनले गरेको सिर्जनात्मक अभिव्यक्ति थियो। त्यति मात्र होइन, उनी ग्यास मास्क नै लगाएर नगरपालिकाका कार्यालयहरूमा गए। सामाजिक सञ्जालको उपयोग गर्दै सरकारको अकर्मण्यताको विरोध जनाए।
अनि उनले सरकारी संयन्त्रको बेवास्ता र लापरवाहीले कतिसम्म जरा गाडेको रहेछ भन्ने बुझे। अहिले भने उनी नगरपालिकाहरूको कार्यशैलीबारे राम्रैसँग परिचित छन्। र, गैरनाफामूलक संस्था ‘वृक्ष’ मार्फत हरियाली र वातावरण संरक्षणको अभियानलाई अघि बढाइरहेका छन्।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा तीनकुनेमा रहेको पार्कमा जब केही गर्न खोजे, तब उनलाई स्थानीयको पनि साथ मिलेन। आफ्नो उद्देश्य समुदायले बुझ्न नसकेकोमा निराश हुँदै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्ने क्रममा गला अवरुद्ध बनाउँदै रोए। उनको त्यो आँसु अर्थोक होइन, हरियाली जोगाऊँ, सार्वजनिक स्थल जोगाऊँ भन्ने सन्देश थियो।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबाट सहयोग पाउन नसकेपछि उनले ललितपुर महानगरका मेयरसँग सहकार्यको प्रयास गरे। ललितपुरका मेयर चिरिबाबु महर्जन सार्वजनिक स्थल र वातावरण संरक्षणको योजनामा उत्साहित देखिए। यद्यपि, मिलनका लागि आसन्न दिन सजिला थिएनन्। उनले प्रत्येक पाइलामा प्रशासनिक झ्याउलो र ठेकेदारहरूको अवरोधको सामना गर्नुपर्यो।
उनले ललितपुर महानगरपालिकासँग जावलाखेलको चोकमा हरियाली सहितको खुला स्थल बनाउने प्रस्ताव गरे। तर, उनको प्रस्ताव तुहियो। त्यहाँ कङ्क्रिटको संरचना र एउटा पानीको फोहरा पनि बनाइयो। तर, दुःखको कुरा त्यसले काम नै गर्दैन। पोखरी पनि फोहोरले भरिएको छ।
मिलनले प्राकृतिक हरियाली स्थल बनाउन खोजेका थिए, तर आखिरमा सिमेन्टको कृत्रिम ढलान पो बन्न पुग्यो! यद्यपि, उनी आफ्ना तर्फबाट सकेसम्मको प्रयास गरिरहेकै छन्। हाल उनी जावलाखेलका सडकछेउको चार स्थानमा शीतल छहारी सहितको हरियाली स्थल बनाउन लागिपरेका छन्।
कलाका माध्यमबाट वातावरण संरक्षणको अभियानमा लागिरहेका उनले देशविदेशबाट सद्भाव र सम्मान पाइरहँदा आफ्नै देशमा भने भूमाफियाको तारो बनेका छन्।
जसै उनी काममा अग्रसर हुँदै गए, उनलाई आफूले राम्रै सङ्ख्यामा शत्रु कमाएको अनुभव हुँदै छ। सार्वजनिक जग्गा हडप्ने दाउमा रहेका भूमाफिया र रड तथा सिमेन्ट बेच्न नपाउनेहरूले उनलाई रुचाउने कुरै भएन।
“यो हाम्रो विडम्बना हो,” उनको गुनासो छ। किनभने, जुन रूपमा सार्वजनिक पार्कहरूमा उनी संलग्न भएर काम गरिरहेका छन्, त्यसमा उनी सन्तुष्ट छैनन्। “यो मेरो सिर्जना होइन। म त खालि सम्भावित हानिलाई कम गर्ने प्रयासमा छु,” उनी भन्छन्, “वास्तवमा यो विषयमा तत्काल हस्तक्षेप हुनुपर्ने थियो । मैले उठाउन खोजेको कुरालाई कसैले पनि वास्ता गरे जस्तो लाग्दैन। यी पार्कहरू हाम्रो समयका उत्तर होइनन्, यी त हाम्रा लागि प्रश्न हुन्।”
क्यानभासमा कोरिएका चित्र, रूख तथा बिजुलीका पोलमा टाँसिएको पुतलीदेखि वायु प्रदूषणको अवस्था झकझकाउन लगाएको ग्यास मास्कदेखि सार्वजनिक स्थानहरूको जगेर्ना गर्ने अभियानमा होमिइरहँदा मिलनले के बुझे भने भएका यी सबै प्रयास नगण्य छन्।
“बिग्रँदो सहरी पर्यावरण जोगाउने नीतिगत खाका बनाउनु पर्दैन?” उनको प्रश्न छ, “सर्वसाधारणले पनि के बझ्नु जरुरी छ भने हामीले थप संरचनाको माग होइन, गैरमानवीय संसारसँग आत्मीयता राख्ने आदिम सम्बन्धको पुनः खोजी गर्नुपर्दछ।”