कोरोनाकाे तेस्राे लहर: कस्तो छ आइसीयूको अवस्था?
पहिलेका दुवै भेरियन्टभन्दा ओमिक्रोन छिटो फैलने देखिएकाले यसले फेरि कुन वेला रूप फेर्छ र त्यो कतिको घातक हुन्छ भन्ने ठूलो डर छ।
दुई वर्षअघि फैलिन शुरू गरेको कोरोनाभाइरसले विभिन्न रूप परिवर्तन गर्दै आउने क्रममा अहिले ‘ओमिक्रोन’ भेरियन्ट फैलिएको छ। कुनै पनि भाइरसले रूप परिवर्तन गर्नु सामान्य हो। रूप परिवर्तन गर्दै जाँदा भाइरसले गुण परिवर्तन गर्नु पनि सामान्य नै हो।
पछिल्लो केही सातायता सङ्क्रमण व्यापक रूपमा फैलिएको छ। सङ्क्रमण फैलिएको सङ्ख्यालाई मात्र हेर्दा यो लहरलाई ‘डेल्टा’ भन्दा भयानक मान्न सकिन्छ। तर, आजको मितिसम्म त्यसले पारेको असर हेर्ने हो भने हामी दोस्रो लहरभन्दा सहज अवस्थामा छौं।
म आईसीयूमा काम गर्ने भएकाले त्यसकै कुरा गर्छु। दोस्रो लहरमा डेल्टा भेरियन्ट फैलिंदा आईसीयूको अवस्था नाजुक थियो। आईसीयू चाहिने बिरामीलाई शय्या अभाव भएर आकस्मिक कक्षमा ‘होल्ड’ गर्नुपर्ने बाध्यता थियो।
आईसीयू खोज्न एक अस्पतालबाट अर्को अस्पतालमा कुदाकुद गर्दागर्दै बिरामीको ज्यान गएको घटना सुनिरहेका थियौं। केही समय अक्सिजन अभाव समेत भएको थियो। कतिपय बिरामी बेड नपाएरै मरिरहेका थिए।
आजको मितिसम्म हेर्दा सङ्क्रमणदर पहिलेको भन्दा धेरै छ, तर आईसीयू तथा इमर्जेन्सी भने सङ्क्रमणको तुलनामा शान्त छ। यसो भन्दैमा लापरवाही गर्ने र पूर्व तयारी नै गर्नु नपर्ने भनेको होइन।
दोस्रो लहरको वेला अस्पताल आउने अधिकांश बिरामी अत्यन्त सिकिस्त नै हुन्थे। सबैलाई श्वासप्रश्वासको समस्या हुन्थ्यो। अक्सिजन लेभल अत्यन्त कम भएकाले जुनसुकै वेला ‘कोल्याप्स’ हुने सम्भावना ज्यादा थियो। तुरुन्तै भेन्टिलेटरमा नहाले ज्यानको माया मार्नुपर्ने अवस्था थियो।
अहिले ओमिक्रोन भएर अस्पताल आउने बिरामीलाई श्वासप्रश्वासमा समस्या, अक्सिजन लेभल कम या अन्य जटिल लक्षण देखिएका छैनन्। अन्य दीर्घरोग भएका व्यक्तिलाई मात्र केही जटिलता छन्। धेरैजसोलाई सामान्य वार्डमा राखेर केही दिनको उपचारपछि घर पठाइएको छ।
आईसीयूमा बिरामी हुँदै नभएका होइनन्, तर ती बिरामीमा अन्य रोग पनि छन्। जस्तो, मुटुको रोग, फोक्सोको रोग, मिर्गौलाको रोग आदि। यस्ता रोग भएर अस्पतालमै उपचार गराइरहेका बिरामीलाई जाँच गर्दा ओमिक्रोन देखिएको छ। ओमिक्रोन भएर नै अस्पताल आएर अथवा इमर्जेन्सीमा बसेर आईसीयू आएका बिरामी अत्यन्त कम छन्।
अहिलेसम्मको अवस्था हेर्दा ओमिक्रोनले श्वासप्रश्वासमा गम्भीर समस्या देखाउँदैन भन्ने लागेको छ। अस्पताल आएका बिरामीमा घाँटी दुख्ने, नाक बन्द हुने, टाउको दुख्ने, जिउ दुख्ने र ज्वरो आउने लक्षण छन्। अस्पताल भर्ना भए पनि केही दिनमै डिस्चार्ज भइरहेका छन्। उनीहरूको जनरल वार्डमा नै उपचार भइरहेको छ।
उपचारका क्रममा अक्सिजन पनि पहिलाको अनुपातमा कम दिंदा उनीहरू ठीक भएका छन्। अन्य विविध रोग भएका बाहेक स्वस्थ मान्छे गम्भीर समस्या लिएर आएका छैनन्।
पहिलेका दुवै भेरियन्टभन्दा ओमिक्रोन छिटो फैलने देखिएकाले यसले फेरि कुन वेला रूप फेर्छ र त्यो कतिको डरलाग्दो हुन्छ भन्ने ठूलो डर छ। त्यसै गरी कम मानिसलाई सिकिस्त बनाउने भए पनि धेरै ठूलो जनसङ्ख्यामा फैलिंदा पनि त्यसको असर धेरैलाई हुन्छ। किनकि, पहिलेभन्दा १० गुना बढी मानिसलाई सङ्क्रमण भयो भने कम मान्छेलाई असर गर्दा पनि त्यो सङ्ख्या ठूलो हुन्छ।
त्यसैले यसलाई केही होइन भनेर सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्छ। आजसम्म आईसीयूमा बिरामी हेर्दाको अनुभवका आधारमा भन्दा ओमिक्रोन भेरियन्टसँग एकदमै आत्तिनुपर्ने र लापरवाही नै गर्नुपर्ने दुवै अवस्था छैन।
(नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका महासचिव डा. पनेरू त्रिवि शिक्षण अस्पतालको आईसीयूमा कार्यरत छन्।)