कोरोनाबाट १६ जनाको मृत्यु, १० हजारमा सङ्क्रमण पुष्टि
कोरोनाभाइरसको तेस्रो लहर शुरू भएसँगै पहिलो पटक एकै दिन १६ जना सङ्क्रमितको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको छ। शुक्रबार २३ हजार ९२ जनाको स्वाब परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना देखिएको थियो।
आज सङ्क्रमण पुष्टि भएकामध्ये १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार २१२ जनामा र पाँच हजार ७२५ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ४२ जनामा कोरोना देखिएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाले ज्यान गुमाएका छन्। शुक्रबार कोरोनाबाट तीन जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ।
आज कोरोनाबाट ७०८ जना निको भएका छन्। निको हुनेको सङ्ख्या न्यून रहँदा सक्रिय सङ्क्रमितको सङ्ख्या भने बढेको छ। शनिबारसम्म देशभर ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।