उत्तरभित्रका गम्भीर ‘प्रश्नहरू’
जसरी अन्तर्वार्ताकारले ६ स्रष्टालाई विविध आयाममा फैलिएर प्रश्न गरेका छन् र तिनका गम्भीरतम जवाफ समेटेका छन्, यस्तो विशिष्ट कर्म विरलै भेटिएला।
चेकोस्लोभाकियाबाट फ्रान्समा निर्वासित लेखक मिलान कुन्देरा पेरिस रिभ्यूसँगको एउटा अन्तर्वार्ताको शुरूमै आफ्नो व्यक्तिगत जीवन र राजनीतिक आस्थाबारे कुराकानी गर्न अस्वीकार गर्छन्। अन्तर्वार्ताकारलाई केवल उनका किताबबारे चर्चा केन्द्रित गर्न आग्रह गर्छन्। लेखकले लगाएको यो सीमाको पक्ष-विपक्षमा बहस गर्न सकिन्छ। तर, राम्रो पक्ष चाहिं अन्तर्वार्ताको पूर्व शर्त रह्यो- अन्तर्वार्ताकारले कुन्देराका किताब पढेको हुनुपर्ने।
हामीकहाँ अधिकांश अन्तर्वार्तामा खट्किने पक्ष हो यो। अन्तर्वार्ता लिनेहरू पूर्व तयारी विना तथा लेखकका सिर्जनाबारे छिपछिपे सूचना लिएर प्रस्तुत हुन्छन्। यस्ता संवादमा स्वाभाविक रूपमा लेखकहरू हावी हुन्छन् र अन्तर्वार्ताको सन्तुलन गुम्छ।
हालसालै प्रकाशित अन्तर्वार्ताको सँगालो प्रश्न पढ्दा आनन्द लाग्यो। नेपाली र विदेशी किताबका पाना-पाना छिचोलेका उदय अधिकारीको प्रश्नहरूको उपज हो यो सङ्ग्रह। सँगालोमा ६ जना स्थापित स्रष्टा समेटिएका छन्। लामो समयदेखि उनीहरूलाई पढेर, पछ्याएर र सङ्गत गरेर गाढा सम्बन्ध बनाएका छन् उदयले। उनीहरूका आनीबानीसँग परिचित छन्। त्यसैले अन्तर्वार्तामा उनी सीधै प्रश्न गर्दैनन्, सन्दर्भ जोडेर मात्र सोधिने विषयतिर मोडिन्छन्।
लेखकलाई थप जिम्मेवारीबोध गराउनु उदयको सशक्त पाटो हो। सरुभक्तबाट आत्मकथा, अभि सुवेदी र मनु मञ्जिलबाट आख्यानको अपेक्षा गर्दै प्रश्नबाटै उनीहरूलाई अतिरिक्त अभिभारा बोकाउँछन्। श्रवण मुकारुङलाई ‘कविता किन कम लेखेको?’ भनेर सोध्छन्। ‘म श्यामलसँग खुशी छैन, किनकि उनी नयाँ केही पनि लेखिरहेका छैनन्’ भनेर घचघच्याउँछन्। लोभलाग्दो पठन आयाम बनाएका नारायण ढकाल अन्तर्वार्ताका क्रममा आफैंप्रति निर्मम समीक्षा गर्छन्। ‘प्रगतिशील लेखनबाट सन्तुष्ट हुनुहुन्छ?’ भन्ने उदयको प्रश्नमा ढकाल भन्छन्, ‘म सर्वप्रथम त आफैंसँग सन्तुष्ट छैन।’
चरा, जून, नदी प्रकृतिमा मात्र सीमित भएर कविता कोरल्ने रोमान्टिक युग होइन, आजको समय। उत्पीडन र दलनमा परेका, हेपिएका वर्ग र समूहबारे लेखिने क्रम छ। श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ मा तिनै निमुखाको दमित आवाज समेटिएको छ। साहित्य र राजनीतिको सम्बन्धबारे सोधिएको प्रश्नमा मुकारुङको जवाफ गहकिलो सुनिन्छ, ‘नयाँ दृष्टिकोण नै नभएका यान्त्रिक, थोत्रा-पुराना र दासहरूको झुण्ड भेला गरेर नयाँ नीति बनाउने नाटक नेताहरूले हरेक क्षेत्रमा मञ्चन गरिरहेका छन्। तर, हामी हेरिरहेका मात्र छैनौं, हाम्रो हातमा कलम छ।’
‘नयाँ दृष्टिकोण नै नभएका यान्त्रिक, थोत्रा-पुराना र दासहरूको झुण्ड भेला गरेर नयाँ नीति बनाउने नाटक नेताहरूले हरेक क्षेत्रमा मञ्चन गरिरहेका छन्। तर, हामी हेरिरहेका मात्र छैनौं, हाम्रो हातमा कलम छ।’
मनु मञ्जिलको अध्ययनको दायरा फराकिलो छ। वाल्ट ह्विटम्यानका कविताको त उनी केस्रा-केस्रा केलाउँछन्। एलेन गिन्सबर्ग पनि उनको रोजाइका कवि हुन्। लेखनमा आविष्कारलाई मूल ध्येय मान्ने मञ्जिलको अन्तर्वार्ता कविता पढे जस्तो लाग्छ, सुललित भाषा र सघन विम्बविन्यासका कारण।
आख्यानमा गाब्रियल गार्सिया मार्खेज र कवितामा बर्तोल्त ब्रेख्तलाई नेपाली पाठकमाझ् चिनाउने श्रेय क्रमशः नारायण ढकाल र श्यामललाई जान्छ। श्यामलले ब्रेख्तका कविताहरू अनुवाद समेत गरेका छन्। अभि सुवेदी र मञ्जिलको परिचय पनि लेखनमा मात्र सीमित छैन, दुवै राम्रा अनुवादक पनि हुन्। नेपाली अनुवादको अवस्थाबारे उनीहरू खासै उत्साहित देखिंदैनन्। उनीहरूको बुझाइमा बजारमा छ्यापछ्याप्ती पाइने विदेशी साहित्यको गुणस्तरहीन अनुवादले नेपाली साहित्यलाई नै घाटा पुगेको छ। राम्रा नेपाली कृतिहरूको स्तरीय अनुवादको आवश्यकतामा उनीहरू जोड दिन्छन्।
नेपाली साहित्यमा आफ्नो अस्तित्व साबित गर्न नसकेको नेपाल प्रज्ञा-प्रतिष्ठान सधैं सन्देह, प्रश्न र विवादको घेरामा छ। नारायण ढकालले प्रज्ञाको अकर्मण्यताबारे लेख्ने, बोल्ने गर्दै आएका छन्। अन्तर्वार्तामा ढकाल र मन्जिलले प्रज्ञाको कर्मकाण्डीय गतिविधिमाथि दह्रो प्रहार गरेका छन्।
नेपाली समालोचनाको हालको अवस्था साह्रै दयनीय छ। समालोचना अति प्रशंसा या अति विषवमनबाट ग्रस्त छ। धेरैले सन्दर्भ सामग्रीहरूको अध्ययन र उल्लेख गर्न पनि जाँगर चलाउँदैनन्। यस सङ्ग्रहमा अन्तर्वार्ता लिइएका अधिकांश लेखक नेपाली समालोचनाप्रति निराश देखिन्छन्। सरुभक्त भन्छन्, ‘हाम्रा कति स्वनामधन्य समालोचकहरूले पनि उनीहरूको समालोचनाको समालोचना हुन्छ भन्ने बिर्सेका छन्।’ विश्व साहित्यमा नेपाली उपन्यासको निम्छरो अवस्था हुनुमा लेखक, प्रकाशक र समालोचक सबै दोषी ठान्छन् ढकाल।
सर्जकले बहुविधामा हात हाल्न सक्ने, न्याय समेत गर्न सक्ने अनि विधा भञ्जनलाई सामान्य प्रक्रिया ठान्ने अभि सुवेदीका तर्क दमदार छन्।
अधिकांश अन्तर्वार्ताको अन्त्यमा लेखकहरूका प्रिय पुस्तकहरूको नाम उल्लेख छन्। प्रभावशाली पुस्तकको यो सूची पाठकका लागि दिगो साहित्यिक खुराक बन्ने निश्चित छ। यद्यपि, लेखकहरूले उल्लेख गरेका यतिका सन्दर्भ छिचोल्न आम पाठकलाई सहज देखिँदैन। साहित्य, समाज र विश्व परिवेशबारे अनेकौं सन्दर्भको फराकिलो राजमार्गमा ढिलो गरी छिरेकाहरूका लागि सङ्ग्रह उपयोगी बिब्लियोग्राफी हो।
अन्तर्वार्तामा समाविष्ट स्रष्टामा कविकै प्रधानता छ। बहुविधामा विचरण गर्ने अभि सर र सरुभक्तको चिनारी नाटक विना अपूरो रहन्छ। यी दुई स्रष्टासँग अन्तर्वार्ताकारले प्रायः उपेक्षित रहने नाटक विधाबारे गरेका प्रश्नबाट सार्थक बहस र विमर्श सिर्जना भएको छ। सर्जकले बहुविधामा हात हाल्न सक्ने, न्याय समेत गर्न सक्ने अनि विधा भञ्जनलाई सामान्य प्रक्रिया ठान्ने अभि सुवेदीका तर्क दमदार छन्। नारायण ढकालका केही कथालाई निबन्ध मान्न सकिन्छ, विधा भञ्जनको अर्को दृष्टान्त यो पनि हो।
सङ्ग्रहमा आख्यान र गैरआख्यान दुवैका स्रष्टा रहेकाले विधागत समावेशिता भएको छ। तर, एक जना पनि महिला स्रष्टा नसमेटिंदा यो वार्ता अपूर्ण बनेको हो। तर, समावेशिताको बहस बडो पेचिलो हुन्छ। क्षेत्रीयता, जातीयता, अपाङ्गता, समलैङ्गिकता अनेक पाटा छन् यसका। समावेशिताका अरू थुप्रै आयाममा न्याय गर्न कसैलाई पनि सहज भने छैन। यो सङ्ग्रहलाई आरम्भ मानेर आगामी सँगालोमा अन्तर्वार्ताकारबाट नयाँ र पुराना पुस्ता, महिला र पुरुष, जातीय, क्षेत्रीय जस्ता विविध समावेशी आयामका स्रष्टाहरू समेटिने अपेक्षा गरौं।
अधिकतर अन्तर्वार्ता धेरै पहिले लिइएको र कतिपय सन्दर्भमा परिमार्जन नभएको देखिन्छ। अन्तर्वार्ताकारले श्यामल गद्य लेखनमा कम सक्रिय रहेको उल्लेख गर्छन्। जबकि, तिनै श्यामलको उत्कृष्ट र सग्लो गद्य लेखनको साक्षी छ, रित्तो गाउँ।
प्रशस्त पढिएका र चर्चामा छाइरहेका लेखकहरूका पनि केही अनुद्घाटित पक्षहरू रहेछन्, तिनको पटाक्षेप गरेका उदयको यो प्रयास एकसाथ सरस र गहन छ।
इन्द्रबहादुर राईको चर्चा उनी जीवित छन् झैं गरी भएको छ। नारायण ढकालसँगको कुराकानीमा प्रेतकल्प र वृषभ वधको चर्चापछि ‘ट्रिलोजी’ को प्रसङ्ग उठ्छ। तर, यसअघि नै छापिएको हजार माइलको बाटोले त्यो चरण पूरा गरेको उल्लेख छैन। यस्ता अपरिमार्जित अंशले पाठकका आँखा बिझाउँछन्।
सँगालोका कुनै पृष्ठ पनि भाषिक, हिज्जेगत र शब्दविन्यासका त्रुटिबाट मुक्त छैनन्। उही व्यक्तिलाई कहीं तपाईं, कहीं तिमी अनि कतै तँ सम्बोधन गरिएको छ। विदेशी लेखक र तिनका किताबका नाममा एकरूपता छैन। भाषा सम्पादनको गुरुत्वपूर्ण जिम्मेवारी लिएका कवि निमेष निखिलको भूमिका समेत प्रश्नको कठघरामा उभिन्छ। वर्णविन्यासप्रति लेखक र प्रकाशकको उदासीनता पनि उदेकलाग्दो छ।
उसो त उदय अधिकारीले गरेको यो पहल अन्तर्वार्ताको क्षेत्रमा नितान्त नौलो होइन। उत्तम कुँवरको स्रष्टा र साहित्य (२०२३ साल) र देवेन्द्र भट्टराईको स्रष्टा र समय (२०६२) मा नेपाली साहित्य, सङ्गीत र कलाका चर्चित व्यक्तिबारे अनेक सन्दर्भ पढ्न पाइन्छ। नेत्र एटमको पनि अन्तर्वार्ता सँगालो प्रकाशित छ। तर, जसरी अन्तर्वार्ताकारले ६ स्रष्टालाई विविध आयाममा फैलिएर प्रश्न गरेका छन् र तिनका गम्भीरतम जवाफ समेटेका छन्, यस्तो विशिष्ट कर्म विरलै भेटिएला। प्रशस्त पढिएका र चर्चामा छाइरहेका लेखकहरूका पनि केही अनुद्घाटित पक्षहरू रहेछन्, तिनको पटाक्षेप गरेका उदयको यो प्रयास एकसाथ सरस र गहन छ।
- 'हिमाल मासिक'को माघ अंकबाट। पत्रिकामा यसको शीर्षक ‘वैचारिकी’ बहस रहेको छ।
पुस्तक : प्रश्न कृतिकार : उदय अधिकारी
प्रकाशक : शिखा बुक्स पृष्ठ : १९० मूल्य : रु.२८५