टी-२० विश्वकप छनोटअघि नेपालले त्रिदेशीय श्रृङ्खला खेल्ने
आईसीसी टी-२० विश्वकपको ग्लोबल छनोटअघि नेपालले त्रिदेशीय श्रृङ्खला खेल्ने भएको छ।
ग्लोबल छनोटअघि नेपालले त्रिदेशीय श्रृङ्खला खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपालले ओमन, यूएई र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले २८ माघमा ओमन, २९ माघमा यूएई र २ फागुनमा आयरल्यान्डसँग प्रतिनिस्पर्धा गर्नेछ। तीनै देशसँगको खेल ओमनको राजधानी मस्कटमा हुने क्यानले जनाएको छ। यसलाई नेपालले ग्लोबल छनोटको तयारीका रूपमा लिएको छ।
लगत्तै ५ देखि १२ फागुनसम्म नेपालले ग्लोबल छनोट खेल्नेछ। नेपाल रहेको समूह ‘बी’ मा क्यानडा, ओमन र फिलिपिन्स रहेका छन्।
ग्लोबल छनोटका लागि सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा भइसकेको छ। यसको तयारीका लागि लामिछाने पनि शुक्रबार राति मात्रै नेपाल फर्किएका छन्।
उनी बिगबास लिग छोडेर फर्किएका हुन्। लामिछानेले होबर्ट हरिकेन्सको तर्फबाट बिगबास लिग खेलेका थिए। उनले १४ खेलमा १४ विकेट लिएका थिए।