तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा सत्ता गठबन्धनमा छलफल
सत्तारुढ दलहरूले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेका छन्।
शुक्रबार बसेको गठबन्धन दलको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
निर्वाचन खर्च, नेपालको भूगोल लगायत विषयलाई ध्यानमा राखेर सबै निर्वाचन एकै पटक गर्न लागेको उनले बताए।
२०७४ सालमा स्थानीय निर्वाचन चरणमा भएकाले पाँच वर्षे पदावधि कहिले पुग्छ भन्ने स्पष्ट नभएको बैठकपछि कार्कीले सञ्चारकर्मीसँग भने।
संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको दाबी गर्दै कार्कीले त्यसलाई कसरी ‘मिलाउने’ भन्ने विषयमा पनि छलफल भएको बताए।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) स्थानीय चुनावमा जान तयार नभएपछि सत्ता गठबन्धनले मंसीरपछि गर्दा हुने चुनाव पनि अहिले गर्ने विषयमा छलफल गरेको हो।