यी हुन् सयभन्दा बढी सङ्क्रमित थपिएका ११ जिल्ला
काठमाडौंसँगै विभिन्न प्रदेशका ११ जिल्लामा एक सयभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, एक सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लामा प्रदेश १ का झापा, मोरङ र सुनसरी, बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन, गण्डकीको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली रहेका छन्।
काठमाडौं उपत्यकामा मात्रै पाँच हजार २९९ जनामा कोरोना देखिएको छ। जसमध्ये काठमाडौंमा चार हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जना छन्।
त्यस्तै, झापामा २७६, मोरङमा ६४६, सुनसरीमा ३३२, चितवनमा १६५, मकवानपुरमा ११५, कास्कीमा २५४, रुपन्देहीमा २७२ र कैलालीमा १६५ जनामा कोरोना देखिएको छ।
नयाँ थपिएका सङ्क्रमितको तुलनामा निको हुनेको सङ्ख्या न्यून रहेको छ। जसले गर्दा सक्रिय सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दै गएको छ।
शुक्रबारसम्म देशभर ६५ हजार ३७४ सक्रिय सङ्क्रमित रहेका छन्। यससँगै पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या पनि बढेर १५ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके र कैलालीमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित पुगेका छन्।
यस्तै, दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या पनि १५ पुगेको छ। पर्सा, बारा, महोत्तरी, सप्तरी, सिराहा, सर्लाही, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा, बाग्लुङ, दाङ, सुर्खेत र कञ्चनपुरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित छन्।