एपीएफलाई प्रधानमन्त्री कपको उपाधि
प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल प्रहरी क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। उपाधिसँगै एपीएफले पाँच लाख नगद पुरस्कार पाएको छ।
एपीएफका किशोर महतो प्लेयर अफ द म्याच भएका छन्। उनले १७ रन खर्चेर महत्त्वपूर्ण तीन विकेट लिएका थिए।
एपीएफले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा प्रहरी क्लब सात विकेटको क्षतिमा १३६ रनमै समेटियो। प्रहरीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ बल खेल्दै ६५ रन बनाए पनि अन्य खेलाडी टिक्न सकेनन्।
प्रहरीका लागि दिलीप नाथले २३, आरिफ शेखले १२ र अनिल साहले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
एपीएफका लागि किशोर महतोले तीन, अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको थियो। एपीएफका लागि अमर रौटेलाले २९, लोकश बमले २७, सन्दीप जोराले २४, शरद भेषवाकरले १४ र भुवन कार्कीले १७ रन बनाएका थिए।
प्रहरी क्लबका लागि सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले तीन–तीन, गुल्सन झाले दुई तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले एक-एक विकेट लिएका थिए।
प्रतियोगितामा तीन वटा विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता थियो।