प्रहरीको पदोन्नतिमा अनुशासनहीन खेल
राजनीतिको ‘क्रेन’ ले माथि तानिएका व्यक्ति नै नेपाल प्रहरीको नेतृत्वमा पुग्ने हो भने कार्यदक्षता र मूल्याङ्कनको के अर्थ?
म पञ्चायतको पृष्ठपोषक होइन, तर दृष्टान्तकै लागि यहाँ केही सन्दर्भ उल्लेख गर्दै छु। त्यस वेला प्रहरीमा अनुशासन निकै महत्त्वपूर्ण पक्ष थियो। आफूभन्दा दुई दिनअघि बढुवा भएकालाई देख्दा पनि ‘जय नेपाल’ भन्दै खुट्टा जोड्न पर्थ्यो।
कनिष्ठ प्रहरी निरीक्षकले आफूलाई देखेर सलाम नगरे वरिष्ठ प्रहरी निरीक्षकले उजुरी गर्थे। निःसन्देह समयसँगै अनुशासनका मान्यता बदलिन्छन्। तर, संशोधित मान्यताहरूको पनि अनिवार्य पालना हुनुपर्छ।
प्रहरी समाजकै उपज हो। त्यसैले सामाजिक विकृतिको असर सङ्गठनमा पनि देखिन्छ नै। यस्तोमा प्रहरीमा अनुशासन अझ महत्त्वपूर्ण बन्न जान्छ। अनुशासन जति स्खलित हुँदै जान्छ, प्रहरीको काम-कारबाही उति प्रभावित हुन्छ। यस्तो स्खलन पछिल्ला दिनमा अझ बढेर गएको छ। देश चलाउनुपर्ने राजनीतिले प्रहरी सङ्गठनमा खेल्दाको परिणाम हो, यो।
अगाडि हुन हानथाप
प्रहरी सङ्गठनमा कार्यदक्षता र मूल्याङ्कनका आधार स्पष्ट नभएकाले नेतृत्वमा पुग्न कामभन्दा पनि राजनीतिक सम्पर्कलाई दुरुपयोग गर्ने गरिएको छ। दक्षता होस्-नहोस्, सबैलाई एक-दुई नम्बरमा आउने गरी पदोन्नति चाहिएको छ। उपयुक्त पात्र छनोट नहुँदाको मार समग्र सङ्गठनले भोग्दै आएको छ।
जयबहादुर चन्दलाई सरकारले महानिरीक्षक बनाउँदा आफूलाई १ नम्बर दाबी गर्दै अर्काले जाहेरी दिएपछि चार महीनासम्म प्रहरी नेतृत्वविहीन भएको कसैले बिर्सिएको छैन। रमेश खरेल र सर्वेन्द्र खनालको सम्बन्धले उब्जाएका प्रश्नले सेवानिवृत्त हुँदासम्म खनाललाई पछ्याइरहे।
बढुवाका वेला आफ्नो दबाब कायम गर्न र एकअर्कालाई बदनाम गर्न मिडियाबाजी पनि व्यापक बनाइन्छ। एकअर्काका तीनपुस्ते बजारमा छरिन्छन्।
बढुवाका वेला आफ्नो दबाब कायम गर्न र एकअर्कालाई बदनाम गर्न मिडियाबाजी पनि व्यापक बनाइन्छ। एकअर्काका तीनपुस्ते बजारमा छरिन्छन्। भर्ना हुँदादेखि पछिसम्म पुछारमा रहेका अनि समय अनुकूल हुँदा ‘क्रेन’ लगाएर तानिएका व्यक्तिले एक नम्बर, दुई नम्बरमा दाबी गर्ने हो भने कार्यदक्षता र मूल्याङ्कनको के अर्थ?
अहिले नम्बर जुटाउने जुन लिगलिगे दौड चलाइएको छ, त्यसले काम गर्नेभन्दा पनि ‘गणेशभक्ति’ लाई प्रोत्साहित गरिरहेको छ। यसले गर्दा कार्यक्षेत्रमा श्रेष्ठ ठहरिएका अधिकृतले उपयुक्त जिम्मेवारी कमै पाएका छन्। नम्बर एकमा आउने मनोविज्ञानले स्वस्थ प्रतिस्पर्धाको वातावरण बिगारेको छ।
एउटै थालमा खाना खाएका साथीबीच एकअर्कालाई देखिनसहने अवस्था बनेको छ, गुट-उपगुट खडा भएका छन्। यस्तो प्रवृत्तिले सुरक्षा निकायको अनुशासनलाई बिगारिदिंदा शक्तिकेन्द्रले नाजायज फाइदा लिने मौका पाउँछ, जसले सङ्गठनको भित्री संरचनालाई बुझेको हुँदैन। शक्तिकेन्द्रले सङ्गठनको दीर्घकालीन हितभन्दा पनि आफ्नो क्षणिक स्वार्थलाई प्राथमिकतामा राखेको हुन्छ।
विभागमा असर
जुन नेतृत्वले सम्मानित र न्यायोचित व्यवहार गर्न सक्दैन, बाहिरी स्वार्थ हावी हुन दिन्छ, त्यसलाई विभागले अभिभावकका रूपमा स्वीकार गर्दैन पनि। दर्जा र पद अमर-अजर होइनन्। पदमा बसेर विभागीय स्वार्थ विपरीत गरिएका निर्णय नागरिकले पनि हेरिराखेका हुन्छन्। यी कुरा सेवानिवृत्त भइसकेपछि पनि छुट्दैनन्। शक्तिकेन्द्रको स्वार्थमा साङ्गठनिक हित विपरीत गरिएका निर्णयहरू नै विभागभित्र बेथिति र अनुशासनहीनता बढ्नुका कारण हुन्।
जब विधि-नियममा स्पष्टता हुँदैन, त्यहाँ काम गर्नेहरूभन्दा पनि चतुरेहरूको रजाइँ हुन्छ। किनकि, शक्तिकेन्द्रका ढोका त्यस्तै व्यक्तिका लागि खुला राखिन्छन्।
नम्बरको होडबाजीले प्रहरीको अनुशासन, व्यावसायिकता र भाइचारा थिलथिलो भएको छ। आफूले नगरेका कामको महिमामण्डन गराउँदै प्रतिस्पर्धीलाई लाञ्छना लगाउने प्रवृत्तिले विभागकै छवि धूमिल भएको छ। नेतृत्वमा पुग्ने इच्छा सबैमा हुन्छ, तर त्यो स्वस्थ प्रतिस्पर्धाबाट हुनुपर्छ।
जब विधि-नियममा स्पष्टता हुँदैन, त्यहाँ काम गर्नेहरूभन्दा पनि चतुरेहरूको रजाइँ हुन्छ। किनकि, शक्तिकेन्द्रका ढोका त्यस्तै व्यक्तिका लागि खुला राखिन्छन्। जिम्मेवार निकाय र शक्तिकेन्द्रले क्षमताभन्दा पनि आफू र पार्टीलाई फाइदा पुग्ने गरी बढुवाका आधार तय गरेका हुन्छन्। यसले गर्दा कार्यदक्षतामा उत्कृष्ट रहेकाहरू पछि पर्छन्।
तल्लो तहमा यसको दुरुपयोग अझ बढी छ। रामकाजी बान्तवा, राजेन्द्रबहादुर सिंह जस्ता अधिकृतहरू प्रहरीको नेतृत्वमा पुग्न सकेनन्। यिनलाई विस्थापित गरेर अरूलाई नेतृत्वमा ल्याउनुको ऋण विभागले अहिलेसम्म तिर्दै छ। विभागलाई व्यावसायिक बनाउन नेतृत्व तह नै राम्रो हुनुपर्छ। राम्रो नेतृत्व छान्न कार्यदक्षताका मापदण्ड स्पष्ट पार्नुपर्छ। नियम-कानूनमा रहेका अस्पष्टता हटाउनुपर्छ। कार्यदक्षता मापन गर्ने विधिहरू समयसापेक्ष बनाइनुपर्छ।
स्वार्थी कर्मचारी
राजनीतिकर्मी र शक्तिकेन्द्र मात्र होइन, दोषी हामी पनि छौं। आफ्नो स्वार्थलाई विभागीय स्वार्थभन्दा माथि ठान्छौं। शक्तिकेन्द्रलाई खुशी पार्न उनीहरूकै कार्यक्षेत्रमा सरुवा मिलाउँछौं। आफ्नो स्वार्थपूर्ति गर्न ऐन-नियममा भएका छिद्र खोज्दै उनीहरूलाई खेल्ने तरीका सिकाउँछौं। आज कांग्रेस, भोलि कम्युनिष्ट हुन पछि पर्दैनौं। जातिगत, क्षेत्रगत, जिल्लागत नाता पहिल्याउनतिर लाग्छौं। किनकि, हामीलाई आफ्नो क्षमतामा विश्वास छैन।
बढुवाको विधिलाई यति अस्पष्ट जानीजानी बनाइएको हो। किनकि, विधि स्पष्ट भए स्वार्थी तत्त्वले खेल्न सक्दैनन्, आफू अनुकूलका व्यक्ति ल्याउन पनि सक्दैनन्।
प्रहरी सङ्गठनमा यस्ता कर्मचारी थोरै मात्र छन्, जसले संस्थाको गरिमा धानेका छन्। व्यक्तिगत स्वार्थकै लागि शक्तिकेन्द्र धाउन र कसैलाई भेट्न उनीहरूको नौतिकताले दिंदैन, त्यसैले जिम्मेवारीमा पछि पारिन्छन्।
अस्पष्ट विधि
जहाँ आफू उभियो त्यहींबाट लाइन शुरू भन्ने उक्ति प्रहरीमा एकदम प्रचलित छ। आफ्नो मान्छे पछि रहे कार्यदक्षतालाई आधार बनाइन्छ। तर, त्यो कार्यदक्षताको कुनै मापदण्ड निर्धारण गरिंदैन, किनकि यसको उद्देश्य आफ्नो मान्छेलाई जसरी हुन्छ अघि तान्ने नै हो। यसै अघि नै छ भने चाहिं वरिष्ठताको आधार लिइन्छ।
बढुवाको विधिलाई यति अस्पष्ट जानीजानी बनाइएको हो। किनकि, विधि स्पष्ट भए स्वार्थी तत्त्वले खेल्न सक्दैनन्, आफू अनुकूलका व्यक्ति ल्याउन पनि सक्दैनन्। जबसम्म यस्तै व्यक्तिपरक आधार बनाइन्छ र काम गर्ने कर्मचारीलाई महत्त्व दिइंदैन, भविष्यमा निराशा सिबाय केही हात लाग्ने वाला छैन।
नेतृत्वमा पुग्न योग्य व्यक्तिलाई चिन्ने भनेको विभागले हो, मन्त्रालय वा शक्तिकेन्द्रले होइन। त्यसैले मूल्याङ्कनका आधारहरू स्पष्ट पार्नुपर्छ। मूल्याङ्कन विभागले नै गर्नुपर्छ, पर्दापछाडिका शक्तिकेन्द्रहरू हावी हुन हुँदैन। मूल्याङ्कनको आधार कामलाई बनाइनुपर्छ। सरुवालाई ‘म्युजिकल चेयर’ जस्तो खेल बनाउन हुन्न।