कोरोना सङ्क्रमण दिनमै २० हजार नाघ्ने प्रक्षेपण
देशमा पछिल्ला दिनहरूमा कोभिड-१९ को सङ्क्रमण तीव्र रूपमा बढ्न थालेको छ। सोमबार देशभर ६ हजार ७३४ जनामा सङ्क्रमण पुष्टि भएकोमा मंगलबार १० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन्। मंगलबार २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सङ्क्रमण दर बढिरहे पनि उत्कर्षमा पुग्न भने केही समय लाग्ने मन्त्रालयको भनाइ छ। मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयले दैनिक रूपमा सङ्क्रमितको सङ्ख्या २० हजारभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको जानकारी दिएको छ।
हिमालखबरसँग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले अबको आठदेखि १० दिनमै सङ्क्रमण उत्कर्षमा पुग्ने बताए। "दोस्रो लहरमा एक दिनमा सबैभन्दा बढी नौ हजारमा सङ्क्रमण पुष्टि भएको थियो। तर, ओमिक्रोन धेरैमा फैलिने पूर्वानुमान थियो, यसैले दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिन सक्छन्।"
अझै पनि धेरै सङ्क्रमित परीक्षण नगराई घरमा बसेको अनुमान समेतका आधारमा मन्त्रालयले सङ्क्रमितको सङ्ख्या अझ बढ्ने प्रक्षेपण गरेको हो। देशभर परीक्षण नगराई एकदेखि दुई लाख सङ्क्रमित घरमा बसेको अनुमान गरिएको छ।
"हाल २२ हजार जनाको स्वाब परीक्षण गर्दा १० हजारमा सङ्क्रमण देखिएको छ। परीक्षणको दायरा बढायो भने सङ्क्रमित झनै बढ्नेछन्," डा. पौडेलले भने।
धेरैजसोलाई सामान्य रुघाखोकी लागेको तर चिसोको असर भन्दै बसेकाे र ५० प्रतिशतले लक्षण नदेखेकै कारण परीक्षण नगराएको पाइएको छ।
डा. पौडेलले कोरोना सङ्क्रमित गम्भीर बिरामी नपरेको तथा अस्पतालमा भर्ना हुन नपरेको चाहिं सबैभन्दा सकारात्मक पक्ष रहेको बताए। "हामीसँग भएका अस्पतालका शय्या तथा आईसीयू खाली छन् र यसको व्यवस्थापन सहज भइरहेको छ," डा. पौडेलले भने।