बतासले उघारिदिएका साँठगाँठ
आज रेस्टुराँका नाममा नारायणहिटीको १४ रोपनी हडप्ने बतासले भोलि विश्वका राजखलक र राष्ट्राध्यक्ष बसेका अतिथि कक्षलाई ‘रोयल एक्स्पेरियन्स’ भन्दै नबेच्ला?
२०७२ सालको महाभूकम्पबाट मर्माहत सम्पदा संरक्षणका अभियन्ताहरू फेरि अर्को मानवीय कारणले आहत हुन पुगे। प्रकृतिको प्रहारसँग जुध्दै सम्पदा पुनर्निर्माणमा होमिएका उनीहरू पुरातत्त्व विभागको रबैयाका कारण झमेला बेहोर्न बाध्य भए। विभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहालका आत्मकेन्द्रित तथा ‘टाङ अडाउने’ मनोवृत्तिका कारण सम्पदा संरक्षकहरू स्वयं पाइला पाइलामा लर्खराए/लडे।
सम्पदा पुनर्निर्माणका क्रममा दुई कित्ता प्रस्ट देखियो– एकातिर अभियन्ताहरू, अर्कातिर महानिर्देशक दाहाल। संरक्षण अभियन्ताहरू मन्दिर र देवलबाट झरेका प्रत्येक इँटा र काठमा पुर्खाको स्पन्दन महसूस गर्थे र मौलिक स्वरूपमा पुनर्निर्माण गर्न तम्सिन्थे। उनीहरू सम्भव भएसम्म परम्परागत सामग्री र सीपको प्रयोगमा जोड दिन्थे।
तर, दाहालको ध्यान लटरपटर गर्नमै रहन्थ्यो। उनी पुनर्निर्माणको साटो नवनिर्माण चाहन्थे। त्यसैले रड, कङ्क्रिट, डोजर र एक्स्काभेटर रोज्थे, जसबाट झटपट काम सकियोस्। अभियन्ताहरू उपभोक्ता समिति बनाएर सम्पदा संरक्षणमा स्थानीय बासिन्दाको सहभागिता सुनिश्चित गर्न चाहन्थे। यस विपरीत दाहालको जोड ठेक्कापट्टामा हुन्थ्यो। रानीपोखरी पुनर्निर्माण निम्ति दाहालले पोखरीमा एक्स्काभेटर नै झारे।
अझ, बालगोपालेश्वर मन्दिरको निर्माणमा रड तथा सिमेन्ट प्रयोग गरे। यसको चौतर्फी विरोध भएर स्थानीय बासिन्दा तथा संरक्षण अभियन्ताले हस्तक्षेप नै गरेपछि मात्र दाहाल पछाडि हटे। यस्तै रबैया उनले बुङ्मतीको रातो मत्स्येन्द्रनाथ मन्दिरको पुनर्निर्माणमा पनि देखाए। धेरै ऐतिहासिक भवन ‘रेट्रोफिट’ (प्रबलीकरण) गर्नुभन्दा पनि भत्काउन दाहाल नेतृत्वको विभागले स्वीकृति दियो।
बतास प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गरिसकेका छन्। यसमा व्यापारिक घराना बताससँगै भेषनारायण दाहाललाई दोषी करार गर्दै कारबाहीका निम्ति नेपाल प्रहरीको सीआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ।
तिनै दाहाल अहिले नारायणहिटी सङ्ग्रहालय (दरबार) मा व्यापारिक घराना बतासलाई भित्र्याउने ‘ग्रान्ड डिजाइन’ का सूत्रधार रहेको कुरा सतहमा आएको छ। बतास प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गरिसकेका छन्। यसमा व्यापारिक घराना बताससँगै दाहाललाई दोषी करार गर्दै कारबाहीका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको छ।
अनुसन्धान जारी रहेकाले यस प्रकरणका कैफियत र दण्डका भागीदारहरू ढिलो–चाँडो सार्वजनिक भइहाल्लान्। तर, एउटा पाटो भने उदाङ्गो भइसकेको छ। त्यो हो– व्यापारिक घराना, राजनीतिकर्मी र कर्मचारीबीचको सेटिङ। त्यसै गरी वर्तमान पर्यटन मन्त्री प्रेम आले तथा तत्कालीन मन्त्री योगेश भट्टराईबीचको ‘रोमाञ्चक’ जुहारी यो प्रकरणको अर्को पाटो हो, जसबाट जनता आफैंले नारायणहिटी र पशुपति धर्मशालामा कसको बदनियत छ भन्ने परख गर्न सक्छन्।
धर्मशाला आफैंमा सुपथ र मुनाफारहित हुनुपर्ने हो जसको सञ्चालन पशुपति विकास कोषले दर्जन जति कर्मचारीको दरबन्दीबाट सहजै गर्न सक्छ। अनि किन बतासलाई हुल्न पर्यो त्यहाँ, जसको उद्देश्य परोपकारभन्दा धर्मशालालाई ‘सेभेन स्टार’ बनाउने होस्?
भारतको सहयोगमा पशुपतिमा निर्मित धर्मशाला ‘सेटिङ’ का भरमा हत्याएको बतासले त्यसअघि पनि राजनीतिक संरक्षणमा पुरातात्त्विक र सार्वजनिक सम्पत्ति बेलगाम दोहन गरेको प्रस्टै देखिन्छ। पैसाका निम्ति कतिसम्म अनैतिक व्यापार हुन सक्छ भन्ने कुरा आफूलाई शिवभक्त र अध्यात्मवादी दाबी गर्ने बतास समूहका अध्यक्ष आनन्दराज बतासको कर्तूतबाट उजागर भएको छ।
धर्मको अंश भएकै कारण अस्थायी आवासलाई धर्मशाला भनिएको हो। यस्तो ठाउँ जहाँ सामान्य आयका तीर्थालुले सहुलियत दरमा रात कटाउन सकून्। धर्मशाला आफैंमा सुपथ र मुनाफारहित हुनुपर्ने हो जसको सञ्चालन पशुपति विकास कोषले दर्जन जति कर्मचारीको दरबन्दीबाट सहजै गर्न सक्छ। अनि किन बतासलाई हुल्न पर्यो त्यहाँ, जसको उद्देश्य परोपकारभन्दा धर्मशालालाई ‘सेभेन स्टार’ बनाउने होस्?
नारायणहिटीको ‘सेटिङ’ त झनै प्रस्ट छ। कुन सार्वजनिक सूचनाका आधारमा त्यहाँ बतासको प्रवेश भयो? फेरि तीन वटै बोलपत्र एउटै कम्पनीको हुने र १० हजारभन्दा कम रकमका आधारमा तीनमध्येको एक छानिनु सेटिङ नभएर के त? आफ्नो नोकरी अवधिभर नागरिक (सेवाग्राही) सताउने र नोकरीपछि पनि मालदार अड्डा जोहो गर्ने दाहाल छट्टू नोकरशाहीका एक प्रतिनिधि पात्र हुन्, जसका दाहिने राजनीतिकर्मी र देब्रे व्यापारिक घराना हुन्छन्।
आले-भट्टराई जुहारीमा को ठीक, को बेठीक आउने दिनले बताउला। तर, एउटा कुरा चाहिं पक्का छ, नारायणहिटीमा क्याफे सञ्चालन तत्कालीन मन्त्री भट्टराईकै सहमतिमा भएको हो जसलाई उनको संसदीय समितिको सुनुवाइ र ताजा अन्तर्वार्ता समेतले पुष्टि गर्छन्। उनी पदमा बहाल रहँदै ‘टेन्डर’ स्वीकृत भएकाले सम्झौतामा हस्ताक्षर राजीनामापछि भएको भन्ने जस्तो प्राविधिक तर्क गरेर भाग्न मिल्दैन।
नेता र कर्मचारीबीच ‘सेटिङ’ को ज्वलन्त उदाहरण हो, बतास काण्ड । दाहालले पुरातत्त्वको महानिर्देशक हुँदै कार्यदल नै गठन गरेर नारायणहिटीलाई व्यावसायिक प्रयोजनका निम्ति भाडामा दिन सकिने राय दिइसकेका थिए। अवकाशपछिको मालदार अड्डाको ‘रेकी’ उनले त्यति वेलै गरिसकेका रहेछन्।
उनको त्यो अभीष्टलाई तत्कालीन पर्यटन मन्त्री भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त गर्दै पूरा मात्र गरिदिएनन्, रेस्टुराँ खोल्न ‘ग्रीन सिग्नल’ समेत दिए।
बतासको अभीष्टलाई तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा नियुक्त गर्दै पूरा मात्र गरिदिएनन्, रेस्टुराँ खोल्न ‘ग्रीन सिग्नल’ समेत दिए।
सुन्नमा आएको कुरा, नारायणहिटीमा पहिल्यै निर्मित भवनमा बतासले क्याफे सञ्चालन गर्ने भन्ने थियो। २१ सय वर्गफिटको क्षेत्रफल बतासले प्रति वर्गफिट १०२ रुपियाँका दरले प्रति महीना दुई लाख २० हजारमा हात पारेका हुन्। तर, देखिन आएको कुरा चाहिं बतास नारायणहिटीमा ‘सियो बनेर छिरी मुसल बनेर निस्कने’ दाउमा रहेछन्।
त्यसैले सम्झौतापत्रमा क्याफे सञ्चालन हुने भवनका निम्ति बोल–कबोल गरे पनि ‘आवश्यक मात्रामा जग्गा उपयोग गर्न सकिने’ प्रावधान घुसाइयो र बतास बगैंचाको रेखदेख भन्दै थप १४ रोपनीमा धमाधम कङ्क्रिट संरचना तयार गर्न लाग्यो। रेस्टुराँ, नाचगानका लागि स्टेज, सटर सँगसँगै बतासले त्यहाँ रहेको बङ्कर समेतमा धावा बोल्दै बार खोल्न लागिपरेको देखियो। नारायणहिटीको भिडिओ बाहिर आएसँगै बतासको कर्तूत छर्लङ्ग भएको छ।
बतास दीर्घकालीन योजना सहित नारायणहिटी छिरेको देखिन्छ। शाहवंशीय राजाको प्रशासनिक तथा आवासीय थलो नारायणहिटी इतिहास र संरचना दुवैका दृष्टिले अद्वितीय छ। भारत, राजस्थानका रजौटाहरूका दरबारमा सञ्चालित होटलहरू, जस्तै उदयपुरको ताज लेक प्यालेस, जोधपुरको उम्मेद भवन, जयपुरको रामवाग प्यालेस आदिको एक रातको ‘ट्यारिफ’ (शुल्क) मात्र लाखौं रुपियाँ छ। संसारका धनाढ्य र बलिउडदेखि हलिउडसम्मका सेलेब्रिटी त्यहाँ बिदा मनाउन, विवाह र हनिमुनका लागि करोडौं खर्चेर पुगिरहेका हुन्छन्।
नारायणहिटीमा त पहिल्यैदेखि अतिथिकक्ष छन्, जहाँ विश्वका कैयौं मुलुकका राष्ट्राध्यक्षले शाही अतिथिका रूपमा रात बिताए। विश्व पर्यटन बजारमा ‘सेलिङ इज अल अबाउट स्टोरी टेलिङ’ मानिने परिप्रेक्ष्यमा नारायणहिटी जति ‘स्टोरी’ अन्त दुर्लभै पाइएला। आज रेस्टुराँको नाममा १४ रोपनी जग्गा हडप्ने बतासले भोलि विश्वका राजखलक र राष्ट्राध्यक्ष बसेका ती कक्षलाई ‘रोयल एक्सपेरियन्स’ भन्दै किन नबेच्ला?
बतास नामको वायु नारायणहिटी छिरेसँगै राज्य संयन्त्रका पातहरू कसरी फिरिफिरी नाचिरहेछन्, त्यो दृश्य आम नागरिक उदेकका साथ हेरिरहेछन्।