रङ्गशालाको बार भत्काउने १७ जना पक्राउ, दुई कार्यकर्ता निलम्बित
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निलम्बन गरेको छ ।
नेकपा चितवनले एक विज्ञप्ति जारी गरी कँडेललाई पूर्णरुपमा निलम्बन गरेको र भैरव बस्ताकोटीलाई दुई महीनाका लागि पार्टी सदस्यबाट हटाएको जनाएको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाही र क्षतिपूर्ति भराउन माग गरिएको छ ।
जिल्ला अध्यक्ष यमबहादुर परियारद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ ।
बार भत्काउने कार्यमा संलग्न कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए ।
उनीहरुले रङ्गशालाको जग्गाबाट पश्चिमतर्फ सडक चौडा गराउन माग गर्दै आएका थिए ।