‘बुबा सपनामा आइरहनुहुन्छ, न्यायको लडाइँ जारी छ’
त्यो घटना अगाडि बुबाकी दिदीले ‘माओवादीको डरले सबैले विद्यालय छाड्दै छन्, तिमी मात्रै कति खतरा मोल्छौ?’ भन्नुभएको थियो। बुबाले ‘मैले कसैको एक पैसा खाएको छैन, कसैको कुभलो पनि चिताएको छैन, विद्यालय छाडें भने यत्रा विद्यार्थीको भविष्य के होला’ भनेर छोड्न मान्नुभएन।
मेरा बुबा मुक्तिनाथ अधिकारी लमजुङको दुराडाँडास्थित पाणिनि संस्कृत माविमा विज्ञान र गणित विषय पढाउनुहुन्थ्यो। म कक्षा सात उत्तीर्ण भएर आठमा जाने वेला आमा बिरामी पर्नुभयो। उपचारका लागि आमालाई डोकोमा बोकाएर काठमाडौं लगियो। त्यस्तो अवस्थामा पनि विद्यालय छुट्छ भनेर बुबा काठमाडौं जानुभएन।
आमाको माया नलागेर बुबा नजानुभएको पक्कै होइन। विद्यार्थी र विद्यालयप्रतिको लगावका कारण एक दिन पनि गयल हुन चाहनुहुन्नथ्यो।
त्यति वेला दुवै दाइ काठमाडौं बसेर पढ्दै हुनुहुन्थ्यो। ठूलो दाइ आईए पढ्नुहुन्थ्यो, सानो दाइ एसएलसीको तयारी गर्दै हुनुहुन्थ्यो। आमाको दुई वटा अपरेशन भयो। उहाँको रेखदेख दाइहरूले गर्नुभयो।
२०५८ सालमा म दाइहरूसँगै काठमाडौं बसेर स्नातक तहमा अध्ययनरत थिएँ। जाडो बिदामा बुबाआमालाई भेट्न ठूलो दाइ र म घर गएका थियौं। हामी २ माघमा काठमाडौं फर्कने कुरा थियो। बुबा जिल्ला सदरमुकाम बेसीशहरबाट नफर्केकाले हामी काठमाडौं फर्कने समय ४ माघमा सार्यौं।
मेरी दिदी पनि माघे सङ्क्रान्ति मनाउन आउनुभएको थियो। ३ माघको दिउँसो आमा, दाइ, दिदी र म घरमै बसिरहेका थियौं। दिउँसो ३ बजेतिर गाउँकै हजुरबुबा र ठूलो बुबा आएर बुबालाई माओवादीले अपहरण गरेको खबर सुनाए।
हामीलाई के गरौं, कसो गरौं भयो। ‘सोधपुछ गरेर छोड्छौं’ भनेर लगिएको रहेछ। कक्षा १० मा विज्ञान विषय पढाइरहनुभएको थियो। चौथो घण्टीको पढाइ भइरहँदा करीब एक बजेतिर लगिएको रहेछ। पछि थाहा भयो– कक्षामा पढाइरहेका वेला पेस्तोल तेर्स्याएर, बिस्तारै हिंड्न मात्रै मिल्ने गरेर खुट्टामा डोरीले बाँधेर लगिएको रहेछ।
एक हिसाबले सोच्दा बुबाको केही पनि गल्ती छैन, नबिराउनु नडराउनु भने झैं गल्ती नै नगरेको मान्छेलाई त केही नगर्लान् भन्ने लाग्यो। नराम्रो घटना होला भन्ने लागेकै थिएन। तर, माओवादीले जे मन लाग्यो त्यही गर्ने भएकाले कताकता डर भने लागेको थियो।
बुबाले जाने वेला सहकर्मीहरूलाई ‘अवस्था देखिहाल्नुभएको छ, मलाई जे जस्तो भए पनि विद्यालय राम्रो सञ्चालन गर्नू, विद्यार्थीको भविष्य नबिगार्नू’ भन्नुभएको रहेछ।
घटनाको विषयमा साँझसम्म पनि हामीलाई जानकारी थिएन। दाइको पछि लागेर म पनि खोज्न गएँ। घर नजिकैको हात्तीगाडे चौतारा पुग्दा दाइलाई ‘यस्तो भइसकेको छ, खोज्न नजाऊ’ भनिएछ। म त्यहींबाट फर्किएँ। मान्छेहरूले कुरा गरेको सुन्दा अप्रिय घटना भइसकेको लख काटेका थियौं।
साँझ सात बजेतिर दाइ पनि घर आउनुभयो। त्यसपछि मात्रै बुबाको हत्याबारे थाहा पायौं।
हाम्रो घर गाउँको बीचतिर पर्छ। घरभन्दा तल छ विद्यालय। उनीहरूले घर नजिकैबाट खजे गाउँको पानीट्याङ्की भन्ने ठाउँमा लगेर हत्या गरेका रहेछन्। बुबाले लगाउनुभएको गलबन्दीले हात पछाडि पारेर रूखमा बाँधिएको रहेछ।
सानो दाइको परीक्षा चलिरहेको थियो। अंकलहरू सानो दाइलाई लिन काठमाडौं आउनुभयो। बुबाको घटनाबारे थाहा नहोस् भनेर रेडियो पनि सुन्न दिनुभएनछ। तर, थाहा त दिनैपर्ने थियो। भोलिपल्ट एक जना अंकलले बताउनुभएछ।
सानो दाइ घर आएपछि हामी सबै घटनास्थलमा पुग्यौं। दाइहरूले हेर्नुभयो। आमा, दिदी र मैले हेर्न सकेनौं। अन्तिममा एक पटक हेर्न मन थियो, तर जति गर्दा पनि हेर्न सकिएन। आफ्नै बाबुको त्यो अवस्था हेर्न कसरी सकियोस् र?
पछि हिमाल खबरपत्रिकामा तस्वीर छापियो। अहिले २० वर्षपछि पनि त्यो तस्वीर हेर्दा सिरिङ्ग हुन्छ । घटना भएका वेला हाम्रो अवस्था के भयो होला? त्यो अवस्था शब्दमा बयान गर्नै सक्दिनँ। हिमालले त्यो तस्वीर साहस गरेरै छापेको हो। त्यो तस्वीर पछि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयो।
सबैले बलेको आगो ताप्छन् भनेको सुनेकी थिएँ, बुबा बितेपछि प्रत्यक्ष भोग्यौं। घरमा कमाइ गर्ने बुबा मात्रै हुनुहुन्थ्यो। आपत्विपत् पर्दा बुबाले अरूलाई पनि सहयोग गर्नुहुन्थ्यो। तर, हामीलाई सघाउने कोही थिएनन्। आर्थिक रूपले मात्रै होइन, मानसिक रूपले पनि धेरै पीडा सहनुपर्यो। बुबा जानुभएपछि हामीप्रति हेर्ने दृष्टिकोण पनि बदलियो। बोल्नैपर्नेहरूले बोलिदिनुभएन। सबैलाई आफ्नो ज्यानको माया लागेर पनि होला शायद।
त्यो घटनाभन्दा अगाडि बुबाकी दिदीले ‘माओवादीको डरले सबैले विद्यालय छाड्दै छन्, तिमी मात्रै कति खतरा मोल्छौ?’ भन्नुभएको थियो। बुबाले ‘मैले कसैको एक पैसा खाएको छैन, कसैको कुभलो पनि चिताएको छैन, विद्यालय छाडें भने यत्रा विद्यार्थीको भविष्य के होला’ भनेर छोड्न मान्नुभएन।
दशैं आसपासमा माओवादीले चन्दा स्वरूप कुल तलबको २५ प्रतिशत मागेको रहेछ। एउटा शिक्षकको तलब कति नै हुन्थ्यो र? घर चलाउने, छोराछोरी पढाउने दायित्व पनि थियो। त्यसमाथि चन्दा भन्ने कुरा त स्वैच्छिक पो हुन्छ। जबर्जस्ती असुल्नु त चन्दा होइन। बुबाले साथीहरूसँग सल्लाह गरेर जवाफ दिन्छु भन्नुभएको रहेछ। तर, चन्दाकै निहुँमा उनीहरूले अपहरण गरेर बुबाको हत्या गरे।
बुबाको मृत शरीर कुरेर बस्न पनि पाएनौं। आगो बालेर छोडियो। माओवादीको डरले घरमा काजकिरिया पनि नगर्ने भन्ने कुरा थियो। डराईडराई १३ दिने काजकिरिया सकेर सानो दाइ काठमाडौं फर्कनुभयो। दुई–तीनपछि ठूलो दाइ पनि फर्कनुभयो।
त्यस्तो पीडादायी अवस्थामा आमालाई एक्लै छोड्ने कुरा भएन। उहाँ बिरामी पनि हुनुहुन्थ्यो। घरमा आमा र म बस्न थाल्यौं। मेरो पढाइ छुट्यो। पढाइको के कुरा, हाम्रो परिवारको ओत ढल्यो। माया–ममताबाट वञ्चित भयौं।
घटनाबारे जिल्ला प्रहरी कार्यालय, लमजुङमा किटानी जाहेरी दियौं। द्वन्द्वपीडितलाई न्याय दिन भनेर दुई वटा आयोग गठन भए। त्यहाँ पनि आमा, दाइ र म गएर किटानी जाहेरी दियौं। राष्ट्रिय मानव अधिकार आयोग गुहार्यौं। काठमाडौं बसेर न्यायका लागि सङ्घर्ष गरिरहेका छौं। सञ्चारकर्मी, मानव अधिकारकर्मी सबैको साथ पाएका छौं। तर, २० वर्ष भइसक्दा पनि हामीले न्याय पाएनौं। यति चर्चित र सबैले सुने/जानेको घटनाको त हामीले न्याय पाएका छैनौं, आम द्वन्द्वपीडितको अवस्था के होला? दूरदराजका पीडितहरूले कसरी र कहिले पाउलान् न्याय?
लाग्छ, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग न्याय दिन भन्दा पनि पीडकहरूलाई उम्काउन बनाइएको हो। आयोगमा दलीय भागबण्डाको आधारमा नियुक्ति गर्नु भनेकै पीडकलाई जोगाउने उद्देश्य हो। हिजोको द्वन्द्वरत पक्ष नै सरकारमा छ। त्यसले गर्दा पनि पीडितलाई न्याय दिने भन्दा पनि आफू उम्किने बाटो खोजे जस्तो लाग्छ।
माओवादी हिंसात्मक युद्धको घटनाका दोषीलाई आममाफी दिने रे भन्ने सुन्छौं। माफी दिने वा नदिने कुरा त नितान्त पीडितले निर्णय गर्ने कुरा होइन र? अन्तर्राष्ट्रिय अभ्यास पनि यस्तै छ। अचानोको चोट खुकुरीलाई थाहा हुँदैन भने जस्तै हाम्रो पीडा बाहिरी मान्छेलाई त थाहा हुँदैन नि!
टुँडिखेलमा उभिएर पाँच हजार मारेकै हुँ, त्यसको जिम्मा लिन्छु भन्ने व्यक्ति खुलेआम हिंडिरहेका छन्। यो कुरा दुनियाँलाई थाहा छ। हत्याराहरू यसरी हिंड्न पाउनु त ठूलालाई चैन, सानालाई ऐन भने जस्तो भएन र? माओवादी द्वन्द्वसँग कुनै सम्बन्ध नै नभएका मेरा बुबाको हत्या भयो। तर, हामीले न्याय पाएनौं। न्याय मात्रै होइन, सरकारले घटना विवरण खुलाएर परिचयपत्र सम्म दिनसकेको छैन।
हामीले बुबा गुमायौं। अब जति जे गरे पनि बुबालाई फिर्ता ल्याउन सक्दैनौं। दोषीले सजाय पाएनन् भने भोलि फेरि द्वन्द्व चर्किएला, हामी जस्तो अरू टुहुरा बन्न नपरोस् भनेर हामी न्यायको लडाइँमा छौं। कैयौं व्यक्ति घाइते हुनुहुन्छ। शरीरमा गोली लिएर हिंडिरहनुभएको छ। भोलि द्वन्द्व नबल्झियोस् भनेर न्यायिक निकास चाहेका हौं। हामीले जस्तो मानसिक र सामाजिक तनाव कसैले पनि भोग्न नपरोस् भनेर लडाइँ जारी राखेका हौं।
त्यो घटना भएको २० वर्षपछि पनि बुबा सपनामा आउनुहुन्छ, कस्तो खुशी लाग्छ। विपनामा त रुन मात्रै मन लाग्छ। बरु, सधैं सपना नै भइदिए हुन्थ्यो जस्तो लाग्छ।