सिनेमा हल लगायत भीडभाड हुने स्थान १५ माघसम्म बन्द
कोरोनाभाइरसको सङ्क्रमण बढ्न थालेपछि सरकारले सिनेमा हल लगायत भीडभाड हुने स्थान १५ माघसम्म बन्द गरेको छ।
आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सिनेमा हल लगायत भीडभाड हुने स्थान बन्द गर्ने निर्णय गरिएको बताए। उनका अनुसार, सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, हेल्थ क्लब, जीम खाना, स्वीमिङ पुल, फूटसल, हाटबजार र मानिसको भीडभाड हुने स्थान १५ माघसम्म बन्द गरिएको छ।
यससँगै सरकारले सबै प्रकारका आमसभा, जुलूस, सभा, भेला वा धेरै मानिस जम्मा हुने क्रियाकलाप गर्न माघ मसान्तसम्म रोक लगाएको छ। त्यस्तै, गोष्ठी, सेमिनारलाई भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ।
भौतिक उपस्थितिमा गर्नुपर्ने कामकाजमा पनि २५ जनाभन्दा बढी उपस्थित नगर्न भनेको छ। आगामी ७ माघदेखि यस्तो उपस्थितिमा पनि खोप लगाएका व्यक्तिलाई मात्रै सहभागी गराउनुपर्नेछ।