पशुपतिमा धर्मशाला नभएर सेभेन स्टार होटल बनाएको रहेछ: मन्त्री आले
पशुपतिनाथ मन्दिर क्षेत्रमा निर्माण गरिएको धर्मशालालाई सेभेन स्टार होटल जस्तो बनाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताएका छन्।
आइतबार धर्मशालाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले भने, “यो त धर्मशाला नभएर आधुनिक सेभन स्टार होटलको हाराहारीमा पाएँ।”
पशुपतिनाथको दर्शन गर्न आउने देश-विदेशका भक्तजनको आवासका लागि भारत सरकारको सहयोगमा धर्मशाला निर्माण गरिएको थियो। यसको व्यवस्थापनका लागि सरकारले बतास अर्गनाइजेशनलाई जिम्मा दिएको थियो।
धर्मशालालाई होटल जस्तो बनाएको भन्दै गुनासो आएपछि मन्त्री आलेले छानबिन समिति गठन गरेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
त्यसै क्रममा आइतबार मन्त्री आलेले धर्मशालाको निरीक्षण गरेका हुन्। अहिले सरसर्ती हेर्दा पनि व्यावसायिक प्रयोजनका लागि प्रयोग भइरहेको पाइएको उनले बताए।
“यो धार्मिक स्थल हो। नेपाल-भारत तथा अन्य देशबाट आउने तीर्थालुका लागि सस्तो र सुलभ मूल्यमा बस्न पाउने व्यवस्थाका लागि धर्मशाला बनाइएको हो,” मन्त्री आलेले भने, “यो त फाइभ स्टार होइन, सेभेन स्टार होटलकै सेरोफेरोमा छ जस्तो लाग्यो। म एकदम ‘सक्ड’ भए।”
केही कोठा आफूलाई पनि हेर्न नदिएको र व्यावसायिक प्रयोजनका लागि उपयोग गरिएको पाइएको उनको भनाइ थियो। “एउटा कोठामा दुई वटा बेड राखेको छ। एक जना बसेको ५५ सय र दुई जना बसेको ११ हजार उठाउने गरी बनाइएको रहेछ,” मन्त्री आलेले भने, “बाहिरका मान्छेलाई रुम दिनुहुँदो रहेछ। बिजनेस प्रपोजका लागि काम हुँदो रहेछ।”
सोमबार छानबिन समितिले प्रतिवेदन बुझाउने र त्यसका आधारमा अघि बढ्ने मन्त्री आलेले बताए। “छानबिन प्रतिवेदनले जो जोलाई दोषी देखाउँछ, ती सबैलाई कारबाही हुन्छ,” उनले भने।
भारत सरकारको सहयोगमा निर्माण भएको धर्मशालाको दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए।