आजबाट अग्रपङ्क्तिमा खटिने व्यक्तिलाई बुस्टर डोज
सरकारले आजदेखि कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिएका अग्रपङ्क्तिका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ।
कोरोना विरुद्धको पूर्ण खोप लगाएको ६ महीना पूरा भएका व्यक्तिलाई बुस्टर डोज दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार, अग्रपङ्क्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज दिन थालिएको हो। त्यस्तै, ६० वर्षभन्दा माथिका नागरिकलाई १४ माघबाट बुस्टर डोज दिइनेछ।
यसका लागि आवश्यक व्यवस्था गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई विभागले पत्र पठाइसकेको छ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिने व्यक्ति, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्छन्।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, सशस्त्र प्रहरीको बीओपीमा खटिएका, जनपथ प्रहरी, शव व्यवस्थापनमा खटिने नेपाली सेनाको टोली, ब्यांकको क्यास काउन्टरमा खटिने कर्मचारी, सरकारी सेवामा अग्रपङ्क्तिमा खटिने कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिले आजबाट बुस्टर डोज लगाउन पाउनेछन्।