अफगानिस्तानलाई चार्टर्ड फ्लाइटबाट सहयोग पठाइँदै
नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ।
आइतबार हिमालय एअरलाइन्सको चार्टर्ड फ्लाइटबाट सहायता सामग्री पठाउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री नारायण खड्काको सचिवालयका अनुसार, नेपाली जनताका तर्फबाट अफगानिस्तानका जनतालाई सहायता सामग्री पठाउन लागिएको हो।
यसमा खाद्यान्न, लुगाकपडा र औषधि रहेको छ। नेपालको सहायता सामग्री बोकेर हिमालयन एअरलाइन्सको जहाज आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काबुलका लागि उड्नेछ।
सहायता सामग्री पठाउनुअघि आइतबार बिहान परराष्ट्र मन्त्री खड्काले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। पत्रकार सम्मेलनमा मन्त्री खड्काले मानवीय सहायताबारे जानकारी दिनेछन्।
अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो। तत्कालीन राष्ट्रपति असरफ गनी देश छोडेर गएका थिए। उनको सरकार ढलेसँगै तालिबानको सरकार बनेको छ। यसलाई अन्तर्राष्ट्रिय जगत्ले मान्यता दिएको छैन।
जसले गर्दा अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहयोग रोकिएको छ भने आर्थिक सङ्कट उत्पन्न भएको छ। अफगान नागरिक खाद्यान्न अभाव झेलिरहेका छन्। यस्तो वेला नेपालले मानवीय सहायता पठाउन लागेको हो।