सेल्सबेरीको ‘मेड इन नेपाल’ अभियान
सेल्सबेरी ब्रान्डले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ।
१ माघदेखि ३० फागुनसम्म चल्ने अभियानमा २० भन्दा बढी स्वदेशी उत्पादक कम्पनीहरूका नेपाली उत्पादन बिक्रीमा राखिने सेल्सबेरीका अध्यक्ष सुशीलमान प्रधानाङ्ग बताउँछन्। काठमाडौंमा सातदोबाटो, सीतापाइला, महाराजगञ्ज, बत्तिसपुतली र पोखरामा चिप्लेढुङ्गा, शान्तिनगर र लेकसाइडमा स्टोर सञ्चालन गरिने उनले बताए।
अध्यक्ष प्रधानाङ्गले भने, “अभियानले चामत्कारिक रूपमा देशको अर्थव्यवस्थामा बदलाव नल्याए पनि आफ्नै उत्पादनले आत्मनिर्भर बन्न सङ्घर्ष गरिरहेका नेपाली व्यवसायीलाई प्रोत्साहन गर्नेछ।”
नेपाली ब्रान्ड र उत्पादनले उचित बजार नपाएर देशकै व्यापार घाटा भइरहँदा नेपाली उत्पादनलाई यस अभियानले प्राथमिकता दिने सञ्चालकले जनाएको छ। अभियान बाहेक पनि सेल्सबेरीले आफ्ना स्टोरहरूमा कुल सामानको सात प्रतिशत स्वदेशी सामान बिक्रीका लागि राखेको सेल्सबेरीका प्रमुख सञ्चालन अधिकृत रमेश कार्कीले बताए। उनी भन्छन्, “हामीले नेपाली ब्रान्ड भनेर भावना मात्र जित्न खोजेका होइनौं, गुणस्तरमा पनि उत्तिकै ध्यान पुर्याएका छौं।”
देशभरि ३० शाखाबाट सेवा दिइरहको सेल्सबेरीले आउँदो पाँच वर्ष १०० वटा शाखा विस्तार गर्ने योजना सुनाउँदै प्रमुख बिजनेस अफिसर चेतनारायण पौडेलले भने, “यस अभियान अहिलेलाई सात स्थानमा सञ्चालन गरे पनि भविष्यमा बढाएर लानेछौं । यसले आन्तरिक रोजगारीसँगै स्वदेशी उत्पादनको घाटा न्यूनीकरण गर्न टेवा पुर्याउने विश्वास छ।”