विपन्न परिवारका ६१० घर बनाउँदै प्रदेश २ सरकार
प्रदेश २ सरकारले विपन्न परिवारका लागि ६१० वटा नयाँ घर बनाउने भएको छ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ‘महेन्द्रनारायण निधि विपन्न आवास योजना’ को कार्यविधि स्वीकृत गरेको छ। कार्यविधि स्वीकृत भएसँगै विपन्न परिवारका लागि घर बनाउने बाटो खुलको प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बताए।
प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्रमा १० परिवारका दरले आठ जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवास बनाउने भएको छ। “असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रूपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तीकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताका आधारमा आवासको व्यवस्था गरिनेछ,” मन्त्री साहले भने।
एउटा घरमा पाँच लाख खर्च गर्ने प्रदेश सरकारको योजना छ। दुई कोठा, एउटा भान्साघर र एउटा शौचालय बनाइनेछ। अब आवास निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढ्ने मन्त्री साहले जानकारी दिए।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले दलित सशक्तीकरण नियमावली पनि स्वीकृत गरेको छ। अब दलित सशक्तीकरण बोर्डलाई काम गर्न सजिलो हुने उनले बताए।