‘महाभारा’ मा के छ ?
कथानकमा बलियो कल्पनाशीलताको अभाव धेरैजसो नेपाली लेखकको ठूलो समस्या हो। त्यस अर्थमा महाभारा पनि कमजोर छ। तर, पूर्वेली लवज मिसिएको मीठो भाषिकाको स्वाद लिन यो आख्यान उघार्नैपर्छ।
बसन्त बस्नेतको हालै प्रकाशित उपन्यास महाभाराको कथा भनिनुअघि सुरज सुवेदीको कविता राखिएको छ। कविता भन्छ,
सोच्छु
आफूले (न)लडेको
युद्धका डोबहरू मेट्दैमेट्दै
अघि आएको बाटैबाटो
चूपचाप
घर फर्कौं
तर घर पुगेपछि
नियास्रो मेट्न
छेउ आउनेहरूलाई
के ल्याएँ भनेर सुनाउनु?
के जितें भनेर देखाउनु?
होस्, बरु म यतै बस्छु।
बस्नेतको दोस्रो पुस्तक, पहिलो उपन्यास महाभारामा के छ, यस कविताले पाठकलाई सुटुक्क पहिल्यै भविष्यवाणी गरेको कुरा उपन्यास बिट मारेपछि पत्तो चल्छ। उपन्यासमा चामत्कारिक कथानक केही छैन। पाँचथर र इलाम वरपरको परिवेशमा बुनिएको, स्थानीयहरूले महाभारा भन्ने पहाडी भेकको कथा हो, यो पुस्तक।
यसमा ३८८ पृष्ठभरिको कथामा बाँचेको मूल पात्रको उटपट्याङ, गाम्भीर्य, प्रेम, बेचैनी आदि छ। कथानकमा बलियो कल्पनाशीलताको अभाव धेरैजसो नेपाली लेखकको ठूलो समस्या हो। त्यस अर्थमा महाभारा पनि कमजोर छ।
उपन्यासमा शुरूआती पाठतिरै कथानक चुहाए मात्रै पुस्तकभरि पाठक बाँधिने कतिपयलाई लाग्छ। यस्तो खोज्ने पाठकलाई महाभारामा टिकाइराख्न हम्मे पर्छ।
उपन्यासमा शुरूआती पाठतिरै कथानक चुहाए मात्रै पुस्तकभरि पाठक बाँधिने कतिपयलाई लाग्छ। यस्तो खोज्ने पाठकलाई महाभारामा टिकाइराख्न हम्मे पर्छ। किनभने, लगभग एक तिहाइ पढिसक्दा एउटै पात्रको एकोहोरो वर्णनले अत्यास लगाउन सक्छ। यसमा लेखकले सकभर उपाय अपनाउन खोजेका छन्, कथालाई सक्दो रमाइलो गरी भन्न खोजेर। पाना पल्टँदै जाँदा त्यो ठट्यौलो बिस्तारै गाम्भीर्यमा परिणत हुँदै जान्छ।
कथाको मुख्य पात्र डुक्पा हो। गाउँको गरीब केटो हो ऊ, जो डुक्पा, जयवीर, थेबा र डेनी जस्ता विभिन्न नामबीचको अन्योलमा बाँचेको छ। कहिले एउटा हुनुको अभिनय गर्नुपर्छ, कहिले अर्को, जीवनमा आइपर्ने अनेक उल्झनको झल्को नै हो जस्तो।
डुक्पाका बा भेडा चराउँछन्। दाजु पढाइमा अब्बल छ, ऊ चाहिं कमजोर। विद्यालयमा बदमासी र हाँसोठट्टा गर्नेहरूको केन्द्रबिन्दु हो ऊ। कक्षामा शिक्षकले असह्य ‘बिल्ला’ गरेपछि ऊ स्कूलै छाडेर ड्राइभर बन्ने सपना पूरा गर्न मधेश भाग्छ। अनि कथानकको रफ्तार अलि बढ्छ। उता, सेक्मुरी (सुक्मती)सँग भर्खर टुसाउन लागेको प्रेममा अल्पविराम लगाएर डुक्पा हिंड्दा पाठकलाई ‘उसको प्रेम के होला’ भन्ने भावले सताइरहन्छ।
ड्राइभर बन्ने डुक्पाको सपना अन्ततः पूरा हुन्छ। त्यस क्रममै ऊ कसोकसो माओवादी सशस्त्र युद्धमा जोडिन्छ, चालककै रूपमा सघाउँछ। यसपछि कथामा धर्म मिसिन्छ, द्वन्द्वको रापताप थपिन्छ। त्रिकोणात्मक प्रेमको चस्को पनि आउँछ।
नयाँ भनेका पूर्वेली लवज सहितका मीठा र अनौपचारिक भाषिका हो। यो उपन्यासको ठूलो शक्ति हो र उपन्यासकारको लेखकीय कदको चिनारी पनि।
आम नेपालीले जानेको माओवादी द्वन्द्वको कारण कथाको मूलपात्रबाट लेखकले भनाएका छन्, ‘तलब छैन, पेन्सन छैन। तैपनि यी परिआए ज्यान दिउँला भन्दै हिँडेका छन्। मान्छे त्यसै मर्न हिन्दैन। यो मुलुकमा केही न केही समस्या छ।’ (पृ. २४५) यसै गरी, ग्रामीण पहाडी भेगले भोगेको पीडा एक वाक्यमा पात्र बोल्छ, ‘भोक नै हाम्रो दुःख हो, अभाव नै हाम्रो ज्ञान।’ (पृ. २४४)।
उपन्यासमा डुक्पाको चरित्र बनाउनमा लेखक यति डुबे कि बाँकी पात्रहरूलाई राम्ररी हुर्काइ-बढाइ गर्न बिर्सिए जस्तो महसूस हुन्छ। डुक्पाको अघिल्तिर लगभग सबै पात्रको हाउभाउ, भाषा, भङ्गिमा र कथाकहानी फिका लाग्छ। वेलावेला पात्र नै भएर झुल्किने भीरपाखा, प्रकृति, पर्वत, जङ्गल, खोलाले भने आख्यानको सौन्दर्य बढाउन मद्दत गरेका छन्।
माओवादी द्वन्द्व सम्बन्धी साहित्य हामीमाझ बिस्तारै प्रकाशमा आउन थालेका छन्। महाभारा पनि यसैमा मिसिएको छ। द्वन्द्वले भनिआएको गरीबको कथा, जातीय द्वन्द्वको घर्षण, दुवैतर्फका सेनाको चालढाल, द्वन्द्वबीच मौलाएको गाउँले प्रेमकथा, गाउँबस्तीका लाठे युवा कि विदेशिने कि युद्धमा लाग्ने वास्तविकता आदि यसमा पनि छन्। नयाँ भनेका पूर्वेली लवज सहितका मीठा र अनौपचारिक भाषिका हो। यो उपन्यासको ठूलो शक्ति हो र उपन्यासकारको लेखकीय कदको चिनारी पनि।
यस अर्थमा, भाषामा बल गर्ने पाठकका लागि किताब मीठो खुराक हो। जस्तै, सामान्यतया हामी भन्छौं, फलानाले उत्तर दियो। तर यहाँ भनिन्छ, ...उत्तर गर्यो (पृ.५२)। यस्तै, हामी पढ्छौं, ...कथा भन्नुहुन्थ्यो। तर यहाँ पढ्न पाइन्छ, ...कथा गर्नुहुन्थ्यो। (पृ. ११५) किताबमा धेरै नयाँ शब्दहरू अटेका छन्। पूर्वेली बोलीचालीले स्वाद सहित उपन्यासले ट्वाक्कको अचार बनेर पाठकलाई खातिरदारी गर्छ।
पुस्तक: महाभारा विधाः उपन्यास लेखकः बसन्त बस्नेत
प्रकाशकः फाइनप्रिन्ट पृष्ठः ३९२ मूल्यः रु.५७५ (पातलो गाता), रु.६५० (मोटो गाता)