‘लापरवाही कम भएन भने दोस्रो लहरभन्दा बढी क्षति हुन्छ’
‘घाटी खसखसाउने, ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने भयो भने कोभिड-१९ भएको बुझ्नुपर्छ र त्यसको उपचारमा लाग्नुपर्छ।’
एक सातादेखि कोभिड-१९ का सङ्क्रमण तीव्र भएसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। गत वैशाखमा आएको दोस्रो लहरको शुरूआतमा जस्तै सङ्क्रमण बढिरहेकाले विज्ञहरूले तेस्रो लहर आउन थालेको जनाएका छन्।
छोटो समयमै सङ्क्रमितको सङ्ख्या कैयौं गुणाले बढेकाले धेरैलाई दोस्रो लहरको जस्तै क्षति हुने पो हो कि भन्ने डर छ। यसै सन्दर्भमा हिमालखबरले सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग गरेको कुराकानीः
राज्य र नागरिकका तर्फबाट के कस्ता कमी-कमजोरी भए, जसको कारण पछिल्लो केही दिनमै कोरोना सङ्क्रमण एकाएक बढ्यो?
अरू देश र नेपालको स्थिति हेर्दा पनि सङ्क्रमणको अहिलेसम्म लहर आउने र कम भएर जाने गरेको देखिएको छ। ह्वात्तै बढेको सङ्क्रमण कम भएपछि कोरोना सङ्क्रमण सकियो, यसलाई हामीले जित्यौं भन्ने भाव आउँदो रहेछ। जसको कारण भौतिक दूरी, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने जस्ता कुरा भुल्दा रहेछौं।
ओमिक्रोन फैलिनुअघि नै खोपको कभरेज दर बढाउने जस्ता काम सुस्त गतिमा भए। हामी सबैले लापरवाही गरेर नै ओमिक्रोन यति छिटो फैलिएको मान्नुपर्छ।
पहिलो लहर सकियो, दोस्रो आयो, त्यो पनि सकियो। तेस्रो लहरको ओमिक्रोन त झन् यसरी आयो कि कसैलाई पूर्व तयारी गर्ने मौका नै मिलेन। ओमिक्रोन सबैतिर फैलिएपछि मात्र थाहा पायौं। ओमिक्रोन फैलिनुअघि नै खोपको कभरेज दर बढाउने जस्ता काम सुस्त गतिमा भए। हामी सबैले लापरवाही गरेर नै ओमिक्रोन यति छिटो फैलिएको मान्नुपर्छ।
दोस्रो लहरमा धेरै क्षति भयो। अहिले ओमिक्रोनको रफ्तार पनि दोस्रो लहरलाई बिर्साउने किसिमको छ। यो लहरमा पहिले जस्तै क्षति बेहोर्नुपर्छ कि रोक्न सकिएला?
पहिलोभन्दा दोस्रो लहरमा डेल्टा भेरियन्टले धेरैलाई छिटो सङ्क्रमण गरायो। उसै गरी सिकिस्त बनायो र मृत्यु पनि भयो। त्यसको कारण पहिलो लहरको भन्दा दोस्रो लहरमा डेल्टा भेरियन्टले एकदमै शिथिल पार्यो र छिटो फैलियो। डेल्टा विरुद्ध लड्ने कुनै पूर्व तयारी गर्न नपाउँदा नै ठूलो क्षति भइसकेको थियो।
पूर्व तयारी किन गरिएको थिएन भने पहिलो लहरमा कोरोनाले खासै क्षति गराएको थिएन। जसको कारण सबैमा कोरोनालाई जितिसक्यौं भन्ने मनोविज्ञान विकास भएको थियो।
दोस्रो लहरले पूर्व तयारी नगर्दा ठूलो क्षति भोग्नुपर्ने रहेछ भन्ने सिकायो। सङ्क्रमण बढ्दा अस्पताल भर्ना हुने बिरामी बढ्ने, अक्सिजन अभाव हुने र बेड नपाउने हुनाले पहिला नै तयारी गर्नुपर्छ भन्ने मनोविज्ञान विकास भएको छ।
डेल्टा भेरियन्टले जस्तो ओमिक्रोनले धेरै नै सिकिस्त बनाउने नभए पनि यसले धेरै जनालाई सङ्क्रमण गराउँछ, जसले गर्दा अस्पताल भर्ना हुने बिरामी पनि बढ्छन्। बिरामी बढेपछि जनशक्ति, औषधि तथा अक्सिजन धेरै चाहिन्छ। हामीले दोस्रो लहरमा गरेका गल्तीबाट पाठ सिक्दै तयारी र काम गर्ने हो भने ठूलो क्षति बेहोर्नु पर्दैन। किनकि, दोस्रो लहरमा भन्दा जनशक्ति, स्वास्थ्य उपचार सामग्री र पूर्वाधारको क्षमता बढेको छ।
ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक छ भनिरहँदा अस्पतालमा भर्ना हुने बिरामी बढिरहेका छन्, यसबाट आम मानिसले के बुझ्ने?
यसमा दुई वटा कुरा छन्। पहिलो, हामी सबैले सतर्कता नअपनाउँदा सङ्क्रमण ह्वात्तै बढ्यो। दोस्रो, डेल्टाभन्दा ओमिक्रोन दुई गुणा छिटो फैलिन्छ।
मृत्यु या क्षतिको कुरा गर्ने हो भने विभिन्न अध्ययनले डेल्टाभन्दा ओमिक्रोनले कम क्षति गराएको देखिन्छ। यसको मतलब डेल्टाले १०० जनामा दुई देखि तीन जनाको मृत्यु हुन्थ्यो भने ओमिक्रोनबाट एक जनाको मृत्यु हुन्छ। तर, डेल्टाले भन्दा धेरै मानिसलाई सङ्क्रमण गराउने भएपछि मृत्यु त बढ्छ नै। किनकि, ओमिक्रोनले मृत्यु गराउँदै नगर्ने त होइन नि।
अहिले पनि खोप नलगाउने मानिस धेरै छन्। खोप लगाउनेको पनि प्रतिरोधी क्षमता घट्दै गएको छ। त्यस्तै, दीर्घरोगी र वृद्धवृद्धाको सङ्ख्या पनि ठूलो छ। ओमिक्रोनबाट खोप नलगाउने, दीर्घरोगी, वृद्धवृद्धाको बढी मृत्यु भएको तथ्यहरू सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा ओमिक्रोनले कम क्षति गराउँछ भनेर बस्नु झन् हानिकारक हुन्छ।
घाटी खसखसाउने, ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने भयो भने कोभिड-१९ भएको बुझ्नुपर्छ र त्यसको उपचारमा लाग्नुपर्छ।
डेल्टाभन्दा ओमिक्रोन के के कारणले फरक छ?
ओमिक्रोनले रुघाखोकी गराउँछ, जबकि डेल्टाले सीधै फोक्सोमा सङ्क्रमण गराउँथ्यो। जसको कारण डेल्टाको मृत्युदर बढी थियो। घाटी खसखसाउने, ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने भयो भने कोभिड-१९ भएको बुझ्नुपर्छ र त्यसको उपचारमा लाग्नुपर्छ। यो बाहेक अन्य फरक भनेको एकदमै छिटो धेरैलाई सङ्क्रमण गराउँछ।
राज्यको र नागरिकले ओमिक्रोनको क्षतिबाट बच्न के के गर्नुपर्नेछ?
सतर्कता अपनाइएन भने ओमिक्रोनले अत्यन्त छिटो फैलने र धेरै क्षति गराउने देखियो। यसबाट बच्न आम नागरिकले जनस्वास्थ्यका मापदण्ड उचित ढङ्गले पालना गर्नैपर्छ। सरकारले धेरै सङ्क्रमण देखिएको ठाउँमा आवतजावत कम गर्ने, समुदाय स्तरमै परीक्षण बढाउने जस्ता काम गर्यो भने सङ्क्रमणको विस्तार रोक्न सकिन्छ। किनकि, समुदाय स्तरमा परीक्षण बढ्यो भने पहिचान भएका सङ्क्रमित छुट्टै बस्ने भएकाले अरूमा सर्ने सम्भावना कम हुन्छ। सङ्क्रमण विस्तारको ‘चेन ब्रेक’ गर्नु अहिलेको मुख्य काम हो।
अर्को, खोपको कभरेजदर बढाउनु नै क्षतिबाट बच्ने प्रमुख अस्त्र हो। खोप लगाएको छैन भने खोप लगाएको व्यक्तिभन्दा सङ्क्रमण हुने सम्भावना १० गुणा बढी, अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी र मृत्यु हुने सम्भावना २० गुणा बढी हुन्छ। त्यसैले खोप नलगाएकाहरू खोप अभियानमा सामेल हुनुपर्छ।
अहिलेको सङ्क्रमणको रफ्तार र राज्यको तयारी हेर्दा अबको एक महीनापछिको अवस्था कस्तो होला?
अहिलेको सङ्क्रमणको रफ्तार हेर्दा तेस्रो लहर शुरू भएको देखिन्छ। यसको गति हेर्दा डेल्टाभन्दा अत्यन्त छिटो विस्तार भएको देखिन्छ। किनकि, ३०० बाट एक सातामै तीन हजार सङ्क्रमित भेटिनु सामान्य कुरा होइन। सङ्क्रमण यही रफ्तारमा बढ्दै जाने हो र हामीले लापरवाही गर्दै जाने हो भने यसले धेरै नै ठूलो रूप लिन सक्छ। तर, अहिले नागरिकले लापरवाही नगरीकन जनस्वास्थ्यको मापदण्ड पालना गर्ने हो र राज्यले पनि त्यसै अनुसार काम गर्ने हो भने ठूलो क्षति भने हुँदैन।