चिनियाँ नाका बन्द हुँदा केरुङका नेपाली व्यवसायी मर्कामा
कोभिड-१९ कारण चीनले नाका बन्द गरेपछि केरुङमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीलाई घरभाडा तिर्नै सकस भएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, ठूलोभार्खुका जीवन तामाङले केरुङमा डेढ वर्ष होटल सञ्चालन गरे। १५ माघ २०७६ मा उनी नेपाल फर्किएका थिए। त्यसपछि केरुङ जान पाएका छैनन्।
एक वर्षसम्म त उनी होटलका घरधनीसँग कुराकानी गरिरहेका थिए। हरेक पटकको कुराकानीमा सामान्य हालखबर बुझ्ने र बाँकी समय घरभाडाको विषय झिक्ने गर्थे। हरेक महीना भाडा माग्न थालेपछि भदौदेखि घरधनीसँग सम्पर्कमा आएका छैनन्।
“प्रत्येक महीना साहूले घरभाडा तिर्न मेसेज गर्थे। दिक्क लागेपछि विच्याट अनस्टल गरें,” जीवन भन्छन्।
आफ्नो कमाइ नभएपछि भाडा तिर्न नसकेको उनी सुनाउँछन्। यता कुनै व्यवसाय नभएको, उता जान नाका बन्द रहेकाले समस्या भएको उनको भनाइ छ। “आफूले कमाएको भए पो उनीहरूलाई तिर्ने!,” उनी भन्छन्, “यता आएपछि त कमाइ गर्न सकिएको छैन।”
नेपाल फर्किंदा उनले एउटा चाबी घरबेटीलाई पनि दिएका थिए। घरधनीले ताल्चा खोलेको उताका साथीहरू खबर गरेको उनले सुनाए।
होटलका लागि उनले मासिक पाँच हजार आरएमबी (करीब ९० हजार रुपैयाँ) तिर्दै आएका थिए। नेपाल आउनुअघिको सबै भाडा तिरिसकेका थिए। होटलमा ४० लाख बराबरको सरसामान थियो। “होटल शुरू गर्दा २० लाख खर्च भएको थियो। लगानी उठ्नै बाँकी थियो,” उनी भन्छन्, “फेरि केरुङ जान त मन छ, तर नाका बन्द छ।”
त्यस्तै, समस्या गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुका फुर्पाछिरिङ तामाङको पनि छ। उनलाई पनि सटरको भाडाका लागि साहूले फोन गरिराख्छन्। नेपाल फर्किएपछि पनि एक लाख ६० हजार तिरिसकेको उनी बताउँछन्। “कोरोनाअघि व्यापार राम्रै थियो,” फुर्पा भन्छन्, “अहिले त आफूले गरेको व्यवसाय नै बन्द छ। भाडा कसरी तिर्नु!”
उनी जस्तै रसुवाको स्याफ्रुका व्यवसायी चीनको केरुङमा व्यवसाय गर्छन्। तर, कोरोनाका कारण नाका बन्द भएपछि उनीहरू चीनतिर जान पाएका छैनन्। जसले गर्दा उता लिएको घरको भाडा तिर्नै नसक्ने अवस्था आएको छ।
स्थानीय व्यवसायीका अनुसार, केरुङमा करीब एक हजार नेपाली काम गर्थे। अधिकांशले होटल, डान्सबार, ट्रान्सपोर्ट र ब्लक निर्माण लगायत क्षेत्रमा काम गर्दै आएका थिए।
त्यस्तै, केहीले व्यापार तथा अन्य व्यवसाय गर्दै आएका थिए। दशैं, तिहार तथा ल्होसारमा नेपाल फर्किने र बाँकी समय केरुङमा व्यवसाय गर्ने प्रचलन छ।
तर, कोरोनाका कारण दुई वर्षदेखि नाका बन्द भएपछि केरुङका नेपाली व्यवसायी समस्यामा परेका छन्। उनीहरूले नाका खोल्न माग गर्दै आएका छन्।