ओमिक्रोन फैलिएका नौ देशको यात्रा नगर्न अध्यागमन विभागको अनुरोध
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका नौ देशको यात्रा नगर्न अध्यागमन विभागले अनुरोध गरेको छ।
विभागले सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बाहेक ओमिक्रोन फैलिएका देशमा यात्रा नगर्न सचेत गराएको हो। आमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई नेपालमा प्रवेशमा रोक लगाएको छ। १६ मंसीरदेखि लगाइएको रोक यथावत् रहेको जनाएको छ।
विभागले नौ देश र अन्य कोरोनाको उच्च जोखिम भएका मुलुकबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्ट बाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा पनि विशेष व्यवस्था गरेको छ।
पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोर्डिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी अनुमति दिने विभागले जनाएको छ।
विभागका निर्देशक प्रकाशचन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलेशनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा भने घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने उल्लेख छ।
यस्तै खोपको मात्रा पूरा नगरेका वा खोप लगाएको १४ दिन नपुगेका कूटनीतिक, अफिसियल पासपोर्ट बाहेक तथा आवासीय भिसा प्राप्त गरेका विदेशीको हकमा प्रवेशबिन्दुमा एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेशन वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम आइसोलेशनमा पठाउने र परीक्षण रिपोर्ट नेगेटिभ आएमा १० दिन होटल वा कूटनीतिक नियोगको जिम्मेवारीमा होम क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिने जनाइएको छ।
यो व्यवस्था बाहेकको हकमा भने विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश २०७८ को आधारमा विभागबाट गएको ८ असोजमा जारी भएको सूचना बमोजिम हुने जनाइएको छ। ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट आएका यात्रुको हकमा मात्रै क्वारेन्टिन र आइसोलेशनको व्यवस्था लागू हुने विभागले स्पष्ट पारेको छ।