आफू प्रतिकूल नेतृत्व आए आन्दोलन गरिहाल्ने प्रवृत्तिले विरामी वीर अस्पताल
वीर अस्पतालको आन्दोलन अस्पताल सुधार र गरीब विरामीले सेवाका लागि भन्दा पनि ‘सेटिङ’ नभत्कियोस् र ड्युटी नगरी तलब खान पाइयोस् भन्नेमा केन्द्रित भएको सरोकारवालाहरू बताउँछन्।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले वीर अस्पतालको नयाँ स्वीकृत संगठन संरचनाअनुसार प्रमुख प्रशासकीय अधिकारीका रुपमा पठाएका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई हाजिर गर्न नदिने भन्दै वीर अस्पतालका केही कर्मचारी आन्दोलनमा उत्रिएका छन्। यो आन्दोलनले वीरको पुरानै रोग 'आफु प्रतिकुल नेतृत्व आए आन्दोलन'लाई सम्झाएको छ। यही आन्दोलनको कारण डा. लोहनी बुधबार हाजिर हुन पाएनन्।
गत २ जेठमा कोभिड-१९ संकट व्यावस्थापन अध्यादेश २०७८ पारित भएसँगै स्वास्थ्य मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको नेतृत्वमा डा. जागेश्वर गौतमलाई पठाएको थियो। ११औ तहका उनी वीर टेक्नासाथ आन्दोलन शुरु भयो। उनीहरुले स्वास्थ्य मन्त्रालयका साथै प्रधानमन्त्री केपी ओली, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायतमा उजुरी दिए।
वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउनु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ऐन विपरीत भएको भन्दै उनीहरुले डा. गौतमलाई हटाउनुपर्ने र न्याम्सको ऐनअनुसार युनिफाइड अस्पताल चलाउन माग गरेका थिए। तर, सरकारले गौतमलाई हटाएर १०औ तहका डा. भुपेन्द्र बस्नेतलाई १९ साउनमा कोभिड युनिफाइड अस्पतालको निर्देशकको रुपमा नियुक्त गरेपछि आन्दोलन सकियो।
किनकी डा. बस्नेत त्यहाँका आन्दोलनरत कर्मचारीको लागि 'अनुकुल' थिए। उनी वीरको निर्देशक नियुक्त हुनु भन्दा पहिले सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनीलाई वीरको निर्देशक नियुक्त गरेको थियो। तर, मरासिनीले पत्र बुझेको तीन घण्टामै पत्र खोसेर बस्नेतलाई नै निर्देशक बनाइयो। कोभिड-१९ संकट व्यावस्थापन अध्यादेश २०७८ मा वीरमा स्वास्थ्य सेवाको कम्तीमा ११औं तहको अधिकृत वा वरिष्ठ चिकित्सकलाई खटाउन सक्नेछ भनिएको छ। तर, १०औ तहका डा. बस्नेतले अस्पतालको कमाण्ड सम्हालेपछि आन्दोलन सकिएको थियो।
पूर्व निर्देशक डा. गौतम वीर सुधार गर्न नसकिने गरि 'क्रोनिक' भइसकेको निष्कर्षमा पुगेका छन्। एउटा अस्पतालमा २ दर्जन भन्दा बढी कर्मचारी संगठन हुनु नै वीर भद्रगोलको कारण रहेको उनको भनाइ छ। गौतमका अनुसार त्यहाँका केही कर्मचारीहरू अस्पताल सुधार र गरीब जनताले सेवा पाउन भन्ने चाहदैनन्। आफ्नो 'सेटिङ' नभत्कियोस् र ड्युटी नगरी तलब आवोस् भन्ने उनीहरूको चाहना छ। “वीरका बिरामी निजीमा पुर्याएर कमिशन खाने गिरोहहरू काम गर्ने मान्छे गएपछि सधै आन्दोलन गर्छन्,” गौतम भन्छन्।
गौतमले भनेझै डा. लोहनी पनि आफुले नेतृत्व गरेको ठाउँमा परिणाम दिने थोरै चिकित्सक मध्येमा पर्छन्। उनले कोभिड–१९ महामारीका बेला मन्त्रालयको 'इन्सिडेन्ट कमाण्ड' कुशलतापूर्वक सम्हालेका थिए। त्यस्तै उनको नेतृत्वमा विभिन्न जिल्ला अस्पताल र विराटनगरको कोशी अस्पतालमा सुधारका काम भएका थिए। “डा. लोहनी आफ्नो कार्यक्षमता प्रमाणित गरेर देखाइसक्नु भएको छ, उहाँ आएपछि अब काम गर्नुपर्छ भनेर उहाँको विरोध शुरु भयो” डा.गौतम भन्छन्।
गौतम निर्देशक हुनुअघि वीरमा डा. केदार सेञ्चुरी निर्देशक थिए। उनको पालामा पनि पटक–पटक आन्दोलन र तोडफोड भए। इमर्जेन्सी बाहेकका सेवा बन्द गरेर कर्मचारीहरू सडकमा उत्रिए। पूर्व निर्देशक डा. सेञ्चुरी यथास्थितीमा रमाउनेहरूले काम गर्न खोज्दा अवरोध गरेकाले आफुले चाहेर पनि काम गर्न नसकेको स्विकार गर्छन्। उनका अनुसार त्यहाँ राजनीतिक लाइन नमिल्ने नेतृत्व आउनासाथ पटक पटक आन्दोलन हुन्छ। “वीर अस्पतालले डा. लोहनीजस्तो अनुभवी र वरिष्ठ मान्छे पाउनु एकदम राम्रो हो तर त्यहाँ यस्ता यस्ता मान्छे छन् कि काम गर्नेलाई सहयोग गर्न त परै जावस् र काम गर्ने वातावरण दिदैनन्,” उनी भन्छन्।
सरकारको १२ औ तहको कर्मचारी नियुक्ति भएर जादाँ विरोध हुदाँ कर्मचारीमा झ्याङगिएको राजनीतिको पराकाष्ठा देखिने पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेती बताउँछन्। वीरमा भइरहेको भद्रगोल सुधार्न स्वास्थ्य मन्त्रालयले मिहिन ढंगले अध्यन गरेर काम नगर्ने हो भने वीर सुधार गर्नै नसकिने अवस्थामा पुग्ने उप्रेतीको भनाइ छ। “डा. लोहनी जहाँ जानु भयो, त्यहाँ सुधार गर्नु भयो, वीरमा काम गर्न सक्ने मान्छे जाँदा फाइदा लिइरहेकाहरुले थ्रेट महशुस गरेर विरोध गर्छन्,” डा. उप्रेती भन्छन्, “वीर सुधार्न मन्त्रालय गम्भिर भएर लाग्नुपर्छ।”
वीर अस्पतालमा आन्दोलन हुदाँ वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरी सधै अग्रपंक्तिमा देखिन्छन्। उनी व्यक्ति हेरेर भन्दा पनि नेतृत्वको भिजन हेरेर विरोध गर्ने गरेको बताउँछन्।
यसअघि निर्देशक हुँदा र अहिले निर्देशक भएको ५ महिनामा डा. बस्नेतले सुधारको काम गरेकाले पनि उनलाई परिवर्तन गर्दा विरोध गरेको उनको दाबी छ। वीर अस्पताल भद्रगोल बनाउने नियतले विरोध नगरेको उनी बताउँछन् । उनी भन्छन्, “हाम्रो आन्दोलन अस्पताल सुधारका लागि हो।”