खोप लगाएका भन्दा नलगाएका व्यक्तिमा ओमिक्रोनबाट मृत्यु हुने सम्भावना २० गुणा बढी
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणदर र मृत्युदर खोप लगाएकाभन्दा नलगाएका व्यक्तिमा धेरै भएको पाइएको छ।
भरखरै सार्वजनिक भएको अध्ययनमा खोप नलगाएका व्यक्तिमा संक्रमणदर धेरै रहेको पाइएको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले बताए। डा. कोइरालाले कोभिड-१९ को ओमिक्रोन भेरियन्ट यसअघि फैलिएको डेल्टा भेरियन्टभन्दा अत्यधिक संक्रामक भएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै डा. कोइरालाले पछिल्ला अध्ययनहरूले भिडभाड गर्ने, मास्क, स्यानिटाइजर र खोप नलगाउनेमा ओमिक्रोनको संक्रमण बढि देखिएको बताए।
त्यस्तै, डेल्टाजस्तो मृत्यु गराउने नभए पनि एकदम छिटो धेरै जनसंख्यालाई संक्रमण गराउने भएकाले यसले ठूलो क्षति गराउन सक्ने सम्भावना रहेको उनको भनाइ छ। खोप लगाएका भन्दा नलगाएकालाई ओमिक्रोन भेरियन्टको संक्रमण सर्ने सम्भावना १० गुणा र सिकिस्त भएर अस्पताल भर्ना हुने सम्भावना १७ गुणा बढी भएको उनले बताए।
“खोप लगाएका व्यक्तिभन्दा नलगाएका व्यक्तिको मृत्यु हुने सम्भावना २० गुणा बढी छ,” डा. कोइरालाले भने, “हिजो मात्र सार्वजनिक भएको अध्ययनले खोप नलगाउँदा धेरै नै असर गरेको देखिएकाले सबैलाई खोप लगाउन आग्रह गर्छु।”
अहिले तेस्रो लहरको अनुमान गर्न सकिने भए पनि एकीन गरेर भन्न नसकिने उनको भनाइ छ। “पछिल्लो सातामा २०० रहेको केस बढेर ३ हजार पुग्दा तेस्रो लहरको अनुमान गर्न त सकिन्छ,” डा. कोइरालाले भने।
ओमिक्रोनले फोक्सोमा भन्दा घाटी, नाक, श्वासनलीमा संक्रमण गराउने उनले बताए। डा. कोइरालाले भने, “डेल्टा भेरियन्टले सिधै छातीमा निमोनियन गराउँथ्यो, तर ओमिक्रोन भेरियन्टले फोक्सोमा संक्रमण तथा निमोनिया गराएको भने देखिएको छैन्।”