‘घरबाट निस्किँदा साँझ ज्यूँदै फर्किन पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुन्छ’
मानवमैत्री सडक नहुँदा ह्वीलचियरमा यात्रा गर्नेहरूलाई देशको राजधानीमै ज्यान जोगाउन मुश्किल हुने गरेको अपाङ्गता भएका व्यक्तिहरू बताउँछन्।
चार वर्षअघि झण्डै ६० जना अपाङ्गता भएका व्यक्तिहरूले ह्वीलचियरमा बसेर जोरपार्टीको सडक खने। हथौडा, हम्मर बोकेर आएका उनीहरूले धमाधम सडकपेटी खन्न थालेपछि सबै हेराहेर भए।
तर, उनीहरूले सडक बनाउन मिहिनत गरेका थिएनन्, फराकिलो सडकपेटी निर्माण गरी आफूलाई यात्रा गर्न सहज बनाइयोस् भन्ने माग राख्दै साङ्केतिक विरोध गरेका थिए। आफू पनि यो देशको नागरिक भएको र सडकमा सुरक्षित रूपमा हिंड्न पाउनुपर्ने भन्दै उनीहरूले विरोध गरेका थिए। यति मात्र नभई उनीहरूले अपाङ्गतामैत्री तथा ह्वीलचियरमैत्री सडक पेटी कस्तो हुनुपर्छ भनेर १०० मिटरको नमूना सडक पेटी बनाए।
यति विरोध जनाइसकेपछि बल्ल चाबहिल-साँखु सडक खण्डको योजनामा अपाङ्गतामैत्री सडक पेटीको डिजाइन बनेको छ। तर, अहिलेसम्म पनि यसको निर्माण हुन सकेको छैन, जसका कारण ह्वीलचियरमा यात्रा गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिको दैनिकी कष्टकर बनेको छ। चाबहिल-साँखु सडकखण्ड आसपासको क्षेत्रमा अपाङ्गता भएका एक हजारभन्दा बढी व्यक्ति बसोबास गर्छन् भने नेपाल अपाङ्ग संघको कार्यालय पनि छ।
सडकपेटी अपाङ्गता, पैदलयात्री, साइकलयात्रीमैत्री हुनुपर्नेमा सधैंभरि लबिङ गरी नै रहनुपर्ने बाध्यता छ। ह्वीलचियरमा यात्रा गर्दै आएकी लक्ष्मी कुँवर भन्छिन्, “सरकारले आफैं बुझेर योजना बनाउनुपर्ने ठाउँमा हामीले सम्झाइरहनुपर्ने बाध्यता छ।”
जोरपाटीमा डेरा गरी बसेकी उनी १५ वर्षको उमेरमा घाँस काट्ने क्रममा लडेकी थिइन्। उनको कम्मर (स्पाइनल कर्ड)मा चोट लाग्यो। यसपछि उनी कहिल्यै आफ्नो खुट्टामा उभिन सकिनन्।
परिवार र गाउँलेको हेपाइमा परेपछि गुल्मीबाट काठमाडौं आएकी उनले थप समस्या भोगेको सुनाइन्। न कसैको घर शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सहज हुने किसिमले बनाइएको छ न त राज्यले बाटो नै। “सधैं बिचरा भनिने हुनुपर्यो। कोठा खोज्न जाँदा ओहोरदोहोर गर्न गाह्रो छ भन्दै फर्काउँछन्। आफैं सबै मिलाउँछु भन्दा पनि पाइएन,” उनी भन्छिन्, “बल्लतल्ल एउटा कोठामा डेरा पाएर बसेकी छु। त्यहाँ कोठा, भर्याङ तथा शौचालयका लागि फलामको र्याम्प बनाउन लगाएकी छु।”
कोठामा एक्लै बस्ने उनी तरकारी तथा सरसामान किन्न होस् कि कार्यालय ह्वीलचियरकै सहायता लिन्छिन्। दैनिक यात्रा गर्नुपर्ने भएकाले सडकपेटी सहज नभएका कारण धेरै पटक दुर्घटनामा परेको उनी बताउँछिन्। “जोरपाटीको बाटो अझै बनेको छैन। त्यसमाथि हामी सडकको एक कुना लिएर जानुपर्छ,” उनी भन्छिन्, “गाडी तथा मोटरसाइकल हुँइकिएर आउँदा कति पटक दुर्घटनामा परें। धन्न आजसम्म बाँचेकी छु।”
अपाङ्गता भएका व्यक्तिका लागि मैत्रीपूर्ण सडक नहुँदा ज्यानकै जोखिम रहेको छ। “बिहान निस्किँदा साँझ ज्यूँदै घर फर्केर आउन पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुन्छ,” उनी भन्छिन्।
आर्थिक समस्याले सताइरहने उनीहरूलाई सरकारले न यातायातको सुविधा प्रदान गरेको छ न त रोजगारीमा पहुँच। अपाङ्गता भएका व्यक्तिहरू सहजै यात्रा गर्न सक्ने व्यवस्था नभएकाले सार्वजनिक यातायातमा चढाउन पनि चालक र सहचालकले नमान्ने गरेको उनीहरूको गुनासो छ।
लामो दूरीको यात्रा गर्नैपर्ने अवस्थामा महँगो भाडा तिरेर ट्याक्सी चढ्नुपर्ने र छोटो दूरी भएमा ह्वीलचियर धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको अपाङ्गता भएका व्यक्तिहरू बताउँछन्।
यस्तोमा सडक नै सुरक्षित नभएपछि झनै पीडा थपिने गरेको बताउँछन्, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका महासचिव केशव थापा। “सडक अपाङ्गतामैत्री मात्र नभई पैदलयात्री तथा साइकलयात्रीमैत्री हुन जरुरी छ। भौतिक पूर्वाधारको विकासमा मात्र नभई मानव सुरक्षाको हकमा पनि सरकारले सोच्न जरुरी छ,” थापा भन्छन्।
सडक सुरक्षित नभएकै कारण दुर्घटना भइरहेको उनी सुनाउँछन्। महानगरीय ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार, यस वर्ष नौ हजार ५४५ सडक दुर्घटना भएका छन् जसमा १६६ जनाले ज्यान गुमाएका छन् भने २९९ जना गम्भीर घाइते र सात हजार ९५ जना सामान्य घाइते भएका छन्। साउनदेखि असोजसम्म ३५ जनाको दुर्घटनामा मृत्यु भएको छ।
सडक संरचना तयार गर्दा यात्रुलाई ध्यान दिने गरिएको छैन। सडक डिभिजन कार्यालय, काठमाडौंले अपाङ्गतामैत्री तथा पैदलयात्रीमैत्री सडकपेटी बनाउने भनेर अहिलेसम्म कुनै योजना तयार गरेको छैन। डिभिजन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सुनित केसीले सडक विभागले बनाएका सडक र सडकपेटी मर्मत गर्ने काम भएकाले पुराना सडकमा पेटी राख्न नसकिएको बताए।
उनले नयाँ आयोजनामा काम गर्दा भने अपाङ्गतामैत्री बनाउन थालिएको बताए। “हामीले अहिले सिंहदबार, भद्रकाली, त्रिपुरेश्वर, बानेश्वर क्षेत्रमा सडकपेटी निर्माण गरेका छौं। पुराना मर्मत भइसकेका सडकमा भने बनाउने कुनै योजना छैन,” केसीले भने।
डिभिजन कार्यालयले नयाँ बनाइएका पेटीमा नेत्रविहीनलाई हिंड्न सहज हुने गरी स्ट्रिप राखिएको छ। तर, सडकपेटी नै बनाउने भने बजेट नछुट्याइएको बताए।
चक्रपथलाई मानवमैत्री बनाउन दबाब
चक्रपथको कलंकी-कोटेश्वर खण्डमा वारपार गर्न समेत समस्या देखिएपछि नागरिक अगुवाले कलंकी-चाबहिल सडकखण्ड मानवमैत्री बनाउन दबाब दिन थालेका छन्। आलिशान गाडीमा यात्रा गर्ने नेता तथा मन्त्री र ठेकेदारले पैदल हिंड्ने आम जनताको दुःख नबुझेको चक्रपथ नागरिक सरोकार समूहमा संलग्न साइकल अभियन्ता दृष्टि श्रेष्ठको भनाइ छ। अन्य सडक जस्तै कलंकी-चाबहिल सडक पनि मरण मार्ग नहोस् भन्ने उद्देश्यले सरकारलाई दबाब दिन खोजिएको उनले बताइन्।
“अहिलेसम्म चक्रपथको डिजाइन सार्वजनिक भएको छैन, तर यसको तयारी भइरहेको छ। यसलाई सुल्झाउन समय बाँकी रहेका कारण सबै नागरिकको पहुँच र मैत्रीपूर्ण सडक बनोस् भन्ने हाम्रो अपेक्षा हो,” उनले भनिन्।
साइकल यात्रा गर्दा माइक्रोबसबाट ठक्कर खाएकी उनले हरेक दिन राजमार्गको बाटो छोडी गल्ली तथा भित्री बाटो पहिल्याउनुपर्ने बाध्यता रहेको बताइन्।
“हाम्रो सक्रियताले भोलिको पुस्तालाई सुरक्षित रूपमा सडकमा हिंड्ने वातावरण सिर्जना गर्नेछ। विकास ठूला सडक र भवनमा मात्र नभई मानिसको खुशी र समृद्धिमा पनि हुन सक्ने महसूस गराउन यो अभियान आवश्यक छ,” उनले भनिन्, “सडकमा छुट्टै लेन हुँदा पैदलयात्रु, साइकलयात्रु तथा अपाङ्गता भएका व्यक्तिले पनि सुरक्षित रूपमा यात्रा गर्न पाउनेछन्।”
सरकारलाई झकझक्याउन अभियन्ताले थप दबाबमूलक कार्यक्रम गर्न लागेका छन्। मानवमैत्री सडक कसरी निर्माण गर्ने भन्ने सिकाइ सरोकारवाला निकायलाई दिन सडकको ‘थ्रिडी मोडल’ को डिजाइनको तयारी भइरहेको श्रेष्ठले बताइन्। यससँगै सरोकार समूहले मानवमैत्री सडकका लागि नागरिकसँग पनि सुझाव लिन लागिएको उनले जानकारी दिइन्।