धर्म: भ्रान्तिमा अडिएको आदिम विश्वास
धार्मिक अन्धविश्वासको उन्मूलन अल्पकालिक राजनीतिक मुद्दा होइन, दीर्घकालिक सांस्कृतिक मुद्दा हो।
धर्मका अनेक परिभाषा छन्। सामान्यतया लौकिक यथार्थको प्रभावद्वारा मानव मस्तिष्कमा निर्मित काल्पनिक भावना, भय र कामनाका कर्महरूलाई धर्म भनिँदै आएको छ। ऋग्वेदले धर्मलाई ‘ऋत’ भन्छ। ऋत भनेको प्राकृतिक स्वभाव हो (ऋग्वेद, १०।६३।७)।
प्रकृति र समाजमा चलिरहेको सनातन प्रक्रिया या नियमका रूपमा रहेको ऋत मानिसले अनिवार्य पालन गर्नुपर्ने विधि-व्यवस्था पनि हो। त्यसैले ऋतलाई मानिसको नैतिक आचरण सम्बन्धी नियम, विधि-व्यवस्था एवं प्राकृतिक गति भनिएको पाइन्छ।
अहिले हामीले सुन्दै आएका बोन, शाक्त, शैव, ब्रह्म, बौद्ध, वैष्णव, इस्लाम, इसाई लगायत जति पनि सम्प्रदाय छन्, ती मानिसका संस्कारबद्ध पन्थ मात्र हुन्, धर्म होइनन्। ऋत, ऋतुधर्म र नैतिक मूल्य युगीन हुन्छन्। त्यसैले धर्म र पापको सीमा समयले निर्धारण गर्दो रहेछ।
ऋग्वैदिक कथा यम-यमीको संवादमा दाजुबहिनी या दिदीभाइको विवाह हुने रीतलाई बदल्न यमले यमीलाई सम्झएको प्रसङ्गले होस् अथवा बुद्धकालअघि कपिलवस्तुमा बस्ती बसाल्दा बुद्धका पुर्खाले दाजुबहिनीबीच बिहे गरेको प्रसङ्गले होस्, ती ऋत-नियम समयसँगै चलेका र बदलिएका देखिन्छन्।
त्यसै गरी आफ्नो विश्वासका आधारमा अनेक पन्थ बनेका धार्मिक सम्प्रदायमा धर्मको अर्थ आ-आफ्ना पन्थको नियम मान्नु बन्न पुगेको छ। समाजको नियम मान्नु, व्यक्तिको हैसियत अनुसारका कामकर्तव्य गर्नु, संस्कार पालन गर्नु, वस्तुगत यथार्थ स्विकार्नु, गुण स्वभावलाई सुधार्नु जस्ता अर्थमा पनि धर्मलाई परिभाषित गरिन्छ।
कुनै खास आस्था, विश्वास र कर्मकाण्डमा आबद्ध नभएर समाज, शिक्षा एवं संस्कृतिलाई मानवीय बनाउने सोचलाई धर्मनिरपेक्षता भनिन्छ । यसले राज्यबाट नागरिकलाई उसको आस्था र विश्वासका आधारमा विभेद नहुने मान्यता राख्छ।
दैव अथवा ईश्वरको डर देखाएर मान्छेलाई नियन्त्रणमा राख्नु धर्मको सनातन परम्परा हो। ऋग्वेदका अनुसार, डर हटाउनकै लागि मान्छेले पूजा-प्रार्थना र धार्मिक अनुष्ठान प्रारम्भ गरेका थिए। आफ्नो असहाय स्थितिमा सान्त्वना प्राप्त गर्ने काल्पनिक आधार बनाएर मान्छेले अनेकौं धार्मिक कथाहरू रच्दै आएको हो।
प्रकृतिको यथार्थ बोध नहुँदा अबोधको आस्था उब्जिनु स्वाभाविक भए पनि मान्छेले मान्छेको कल्पनाशील भावुकतालाई सन्तुलित गर्न परोपकारलाई पुण्य मानिँदै आएको परिप्रेक्ष्यमा विविध धार्मिक विश्वासहरू पैदा भएका हुन्। त्यसैले धर्ममा सकारात्मकता पनि छ।
अन्तर्यमा चाहिं धर्मको उत्पत्ति भ्रम र भयबाट भएको हो। मृत्युपछिको जीवनबारे सोच्दा प्रेतात्माप्रतिको विश्वासले पनि धर्मलाई जन्म दियो। पछि क्रमशः व्यक्ति र समाजको हितकारी कामलाई पुण्यकर्मका रूपमा लिँदै धर्मलाई संस्थागत गरियो। कतिपय सभ्यता या समाजमा राज्यलाई भन्दा धर्मलाई महत्त्व दिइयो। फलस्वरूप कुलवंश र जातिको वृत्तबाट अघि बढेर धर्मले राज्यस्तरीय मर्यादा पायो र अनेकौं धार्मिक राज्यहरू देखा परे। यही क्रममा धर्मसापेक्ष राज्यको सोच हुर्कियो।
पहिले पहिले सामाजिक नियमनका निम्ति धर्मले विधि-व्यवस्थाको स्वरूप ग्रहण गर्यो र पछि त्यसले संस्कृतिको अङ्ग बनेर मानिसलाई नियन्त्रण समेत गर्यो। ‘अहिंसा परमो धर्म’ जस्ता कथनसँगै सामाजिक द्वन्द्वलाई सन्तुलित गर्न केही मात्रामा टेवा पनि दिँदै आयो। यद्यपि, कतिपय ठाउँमा धार्मिक द्वन्द्वका कारण अशान्ति र युद्ध समेत हुन पुगेको तीतो यथार्थ छँदै छ।
जुनसुकै धर्म भए पनि उत्पत्तिकालदेखि नै उनीहरूमा अन्धविश्वासप्रतिको रूढ विश्वास, धारणा र संस्कार रहेको हुन्छ। कुल, गोत्र र जातिका परम्परागत धारणालाई पत्याउनु या विश्वास गर्नु धार्मिक धारणाको उत्पत्तिका निम्ति महत्त्वपूर्ण कारण बनेको हुन्छ।
मानसिक कौतूहललाई जीवन र जगत्को सत्यमा परिभाषित गर्न नसक्दा प्रकृति, समाज र मानवीय जीवन अथवा मृत्युपछिको वास्तविकता बोध गर्न निकै कठिन हुँदो रहेछ। त्यसै अवस्थाको फाइदा लिएर धर्मले भ्रान्ति चेतनाको प्रवर्द्धन गर्छ।
धार्मिक कथाहरूमा डुबेर आत्मा-परमात्मा वा ईश्वरपुत्रको कल्पनामा बाँधिएर सोच्नु पन्थगत या साम्प्रदायिक सोच नै हो। मानसिक कौतूहललाई जीवन र जगत्को सत्यमा परिभाषित गर्न नसक्दा प्रकृति, समाज र मानवीय जीवन अथवा मृत्युपछिको वास्तविकता बोध गर्न निकै कठिन हुँदो रहेछ। त्यसै अवस्थाको फाइदा लिएर धर्मले भ्रान्ति चेतनाको प्रवर्द्धन गर्छ।
पौराणिक युगमा सृष्टिको वास्तविकता खोतल्ने क्रममा जड-जीव, जीवन र मरण जस्ता द्वैत पक्षमा गम्भीर चिन्तन भए। त्यही समयमा मरणत्व र अमरणत्व जस्ता पक्षमा पनि चिन्तन हुन थाल्यो। विचार, भावना र कर्मकाण्डको संयुक्त रूप लिएर धर्महरूले अलौकिक आस्थामा लौकिक अनुष्ठान सञ्चालन गर्दै र गराउँदै आए। जुनसुकै धर्मका सन्त-महन्त, मुल्ला-पादरी, भिक्षु-भन्ते, पुजारी-पुरोहित या पोप-बिशप हुन्, तिनीहरू आ-आफ्नो सम्प्रदायका निम्ति एक भएर जनतालाई अन्धविश्वासको संस्कारमा जकड्ने काममा उस्तै उस्तै रहिआएका छन्।
उनीहरूले ईश्वरका नाममा शपथ खाएर पनि व्यावहारिक जीवनमा सत्यको सट्टापट्टा भ्रमसँग गर्दै मानिसलाई अलमल्याउँछन्। वास्तवमा जति वेला मानिसले आफ्नो सामर्थ्य गुमाएर निराश बन्छ त्यतिखेर धर्मको सहारा लिन्छ र लोकजीवनभन्दा पर कतै कल्पना गरिएको अलौकिक शक्तिप्रति आस्था राख्छ।
धार्मिक आवरणको हाम्रो सांस्कृतिक इतिहास भने परोपकारमुखी छ। मानव धर्म स्वरूप अँगालिने परोपकारी कर्म अथवा समाजसेवाका गतिविधिले धर्मको व्यावहारिक रूप बनेर हाम्रो संस्कृतिलाई समृद्ध पारेका छन्। त्यसो त जुनसुकै धर्म होस्- प्रकृतिपूजक बोन, मातृत्वपूजक शाक्त, परोपकारी शैव, भावनापरक ब्रह्म (वेदान्त), कर्मकाण्डपरक हिन्दू, अतार्किक इस्लाम, तार्किक इसाई, अहिंस्रक बौद्ध, कन्फ्युसियस आदि, सबैको सारतत्त्व एउटै भनिए पनि रूपगत भिन्नतामा आ-आफ्नो अस्तित्व निर्माण गरेका छन्। यी सबैले भन्ने कुरा एउटै छ- संसार चलाउने कुनै ईश्वर छ। सामान्यतया धर्मको वास्तविक तत्त्व भने सधैं रहस्यमै रहिआएको छ (सुवेदी, २०७२) धर्मको ह्याङओभर, काठ ः मानववादी समाज।
धार्मिक सम्प्रदायवादीहरूले आफ्नो सम्प्रदाय र ईश्वरलाई ठूलो, सर्वशक्तिमान् र अवतारी बताउँदै आएका छन्। आफ्नै धर्म ठूलो भन्ने धारणामै ‘स्वधर्मे निधनं श्रेयः’ भन्ने धारणा हुर्किएको हो। धर्मदर्शनले मुख्य गरी ईश्वरवादको अडेसा लगाउँछ, तर पनि मान्छेलाई परोपकारमा लाग्न भने हौस्याउँछ। पश्चिमी समाजमा चर्चले गरे जस्तो उत्पीडन हाम्रोमा गुठी र मठमन्दिरले गरेको पाइँदैन।
पुराणैपिच्छे जगत्को कारण अलग अलग बताइनु, सृष्टिका आहानहरूमा बेमेल रहनु र ब्रह्मा-विष्णु-महेश्वरका कथाहरूमा भिन्नता रहनुले गर्दा हिन्दू धर्मलाई अनेकतापूर्ण एकताको विश्वास भनिने गरेको पनि पाइन्छ।
जहाँसम्म सांस्कृतिक पार्थक्यको व्यवहार छ, लैङ्गिक विभेद र जातीय छुवाछूतको भाव छ, त्यो धार्मिक विषय होइन, सामाजिक समस्या हो। विचारमा उदारताको कुरा गरी ‘वसुधैव कुटुम्बकम्’ भनिए पनि व्यवहारमा कट्टरता हावी भएकाले कतिपय क्षेत्रमा वैरभावपूर्ण कार्यकलाप भएको देखिन्छ। पुराणैपिच्छे जगत्को कारण अलग अलग बताइनु, सृष्टिका आहानहरूमा बेमेल रहनु र ब्रह्मा-विष्णु-महेश्वरका कथाहरूमा भिन्नता रहनुले गर्दा हिन्दू धर्मलाई अनेकतापूर्ण एकताको विश्वास भनिने गरेको पनि पाइन्छ।
तर, धर्मका रूप अनेका छन्। यी रूपहरू जाति, राष्ट्र, सम्प्रदायका अतिरिक्त कर्मकाण्डगत भिन्नताले पनि पैदा गरेको देखिन्छ। जीवन र जगत्लाई हेर्ने, बुझने र विवेचना गर्ने दृष्टिकोण तथा पद्धतिको अर्थमा यो विचार र प्रणाली दुवैको एकत्वमा उभिन्छ। धर्मको सारमा अलौकिक आस्था रहे पनि रूपमा यो लौकिक कर्म बनेर नै मान्छेको संस्कारमा रहेको छ।
सापेक्षता र निरपेक्षताको प्रश्न
धार्मिक विचारधारा सामाजिक चेतनाकै एउटा विशेष रूप हो। चेतना शुरूदेखि नै समाजको एउटा उपज रहिआएको छ र जबसम्म मानिसको अस्तित्व रहन्छ तबसम्म चेतना त्यस्तै बनेर रहनेछ (मार्क्स, १९७२ ई.) धर्म, लखनउ: इन्डिया पब्लिसर्स।
यद्यपि, धर्मको साम्प्रदायिक रुझन पनि हुन्छ र त्यस्तो साम्प्रदायिक भाव-कर्मकाण्डीय संस्कारका अतिरिक्त जाति र क्षेत्रविशेषको पनि हुन सक्छ। त्यति भएर पनि धर्मदर्शन मानवदर्शनका विभिन्न शाखाहरूमध्ये एउटा हो र यो विश्वव्यापी बनेको छ। यसलाई वास्तविक जगत्को छाया मात्र मान्ने शङ्कराचार्यका दृष्टिमा मात्र होइन, काल मार्क्सका दृष्टिमा पनि धर्म भ्रान्त चेतना नै हो।
मायावादी विवर्तवाद र मार्क्सको ‘उल्टो विश्व चेतना’ उस्तै उस्तै अर्थमा प्रयोग भएको पाइन्छ। शङ्करले अजातवादको पक्ष लिए। त्यस्तै मार्क्सले विभ्रममा बाँचेको भए पनि धर्मलाई तबसम्म निर्मूल गर्न सकिँदैन जबसम्म त्यसलाई टिकाउने सामाजिक राजनीतिक परिस्थितिलाई अन्त्य गर्न सकिँदैन भनेर प्रस्ट भनेका छन् (मार्क्स-एंगेल्स, ईसं १९७२) अन रिलिजन, इन्डिया पब्लिसर्सः लखनउ।
वास्तवमा धर्म मानिसको भ्रान्तिपूर्ण धारणामा अडिएको आदिम विश्वास हो र यो गोत्र, वंश र जातिको वृत्तमा घुम्दै हुर्किएको थियो।
धार्मिक अन्धविश्वासको उन्मूलन अल्पकालिक राजनीतिक मुद्दा होइन, दीर्घकालिक सांस्कृतिक मुद्दा हो। वास्तवमा धर्म मानिसको भ्रान्तिपूर्ण धारणामा अडिएको आदिम विश्वास हो र यो गोत्र, वंश र जातिको वृत्तमा घुम्दै हुर्किएको थियो।
शुरू शुरूमा आफ्नै मृत मातापितालाई सम्झँदै उनीहरूको अदृश्य जीवन कतै रहेको कल्पनाका आधारमा हंस पुज्ने सोच बनेर धर्म-संस्कार हुर्कियो। त्यसो भएर नै कुलदेव पुज्ने, चुलोका चम्कालाई पितृ आसन मान्ने, धरको धुरी, खाँबो या नजिकैको ठूलो रूखलाई थपना बनाउने, जातीय देवताका रूपमा कुनै विम्ब निर्माण गर्ने जस्ता कार्यहरू गर्दै मानिसले धार्मिक संस्कार र देवीदेवताहरू बनाए।
जडपूजाको त्यस संस्कारमा विश्वका प्रायः सबै धर्म या सांस्कृतिक सम्प्रदाय आबद्ध भएको देखिन्छ। दक्षिणएशियाली चिन्तन वेदाश्रित भनिन्छ, तर वेद स्वयं नै ऋग्वेद पूर्वको लोक संस्कारद्वारा प्रभावित छ। बोन, शाक्त र शैव चिन्तन ऋग्वेदअघिका नेपाली चिन्तनदृष्टि हुन्, दर्शनका प्रारम्भिक रूपहरू हुन्। वेदान्तको मूल रूप ब्रह्मदर्शन हो।
धर्मको परिभाषा पहिले उल्लेख भइसकेको छ र त्यसलाई अन्य दुई शब्द- धर्मसापेक्षता र धर्मनिरपेक्षताको सन्दर्भमा चर्चा गरिनु आवश्यक छ। कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र कुनै पनि धर्मको आड नलिने विचार र व्यवहारलाई जनाउने शब्द धर्मनिरपेक्षता हो (पोखरेल, २०४०) नेपाली बृहत् शब्दकोश, नेप्रप्र।
यस परिभाषामा सर्वधर्म समभावको छनक छ। साधारणतया धार्मिक कार्यहरू र विश्वासलाई समग्र सामाजिक सम्बन्धबाट पृथक् राखेर विज्ञान, विवेकपरक चिन्तन र व्यवहारलाई महत्त्व दिने सोच धर्मनिरपेक्षता हो। यसलाई मानिसको निजी विश्वासका रूपमा धर्मलाई हेर्ने र राज्यले त्यसमा हस्तक्षेप नगर्ने सोच पनि भनिन्छ जसमा सङ्गठित धर्म प्रचारलाई छूट हुँदैन। सर्वधर्म समभावभन्दा यो पृथ्क मान्यता हो।
यसले परलोक र ईश्वरका नाममा सञ्चालन गरिनै सबै प्रकारका पन्थ या सम्प्रदायबाट आफूलाई अलग राख्छ। उन्नाइसौं शताब्दीतिर धर्मलाई राजनीतिले हस्तक्षेप नगर्ने सहमति स्वरूप पाश्चात्य समाजमा धर्मनिरपेक्षताको धारणा हुर्केको थियो। पूर्वीय समाजमा भने धर्म-समन्वयको धारणाले वर्चस्व कायम गरेको थियो। साम्प्रदायिक समन्वयका रूपमा धार्मिक पन्थ (रिलिजन) र प्राकृत विश्वासको सहअस्तित्व यसको मियो थियो।
यस अर्थमा नेपाली समाजमा धार्मिक समन्वयवाद मानिसलाई मानवीय कर्तव्यमा लगाउने कल्याणकारी विचारधाराका रूपमा समेत रहेको छ। त्यसैले भन्ने गरिन्छ कि बौद्धिक अनुभूति, तर्क र विवेकको एकत्वमा परिचालित हुने परोपकारी सम्प्रदायहरूलाई धार्मिक संस्था अनि तिनीहरूद्वारा गरिने मानव कल्याणका कर्मलाई धार्मिक कर्मकाण्ड मान्दा नेपाली समाजलाई हानि गर्दैन, बरु फाइदा नै हुन्छ।
बौद्धिक अनुभूति, तर्क र विवेकको एकत्वमा परिचालित हुने परोपकारी सम्प्रदायहरूलाई धार्मिक संस्था अनि तिनीहरूद्वारा गरिने मानव कल्याणका कर्मलाई धार्मिक कर्मकाण्ड मान्दा नेपाली समाजलाई हानि गर्दैन, बरु फाइदा नै हुन्छ।
सामान्य अर्थमा ‘रिलिजन’ भनेको पन्थ या सम्प्रदाय नै हो, तर व्यावहारिक प्रयोगमा यसको अर्थ धर्ममा अनुवाद गरियो। ‘रिलिजन’ ले संस्कार र रीतिरिवाजलाई जनाउँछ र त्यो हाम्रो संस्कृतिको एउटा तत्त्व बनेको छ। परन्तु ‘रिलिजन’ को अनुवाद गर्दा पन्थ या सम्प्रदाय नभन्दा नेपाल तथा भारतमा समेत अर्थको अनर्थ हुन पुगेको देखिन्छ।
धर्मनिरपेक्षताको तात्पर्य धर्मसापेक्षताको विपरीत विचार भन्ने हुन्छ। यो खास गरी धर्मसापेक्ष राज्यको उल्टो राज्यलाई धर्मबाट अलग्याएर हेर्नुपर्ने चिन्तनका निम्ति प्रयोग हुँदै आएको शब्द हो। कुनै खास आस्था, विश्वास र कर्मकाण्डमा आबद्ध नभएर समाज, शिक्षा एवं संस्कृतिलाई मानवीय बनाउने सोचलाई धर्मनिरपेक्षता भनिन्छ। यसले राज्यबाट नागरिकलाई उसको आस्था र विश्वासका आधारमा विभेद नहुने मान्यता राख्छ।
नेपालमा पश्चिमी प्रभावस्वरूप यसको प्रयोग प्रारम्भ भएको मानिन्छ। खास गरी युरोपेली चिन्तनका रूपमा धर्मनिरपेक्षता क्रियाशील छ। यद्यपि, यसको प्रादुर्भाव पेरिस कम्युनको विद्रोहबाट भएको थियो। नेपालमा भने नेपाली जनमतको वास्तै नगरी यसको प्रयोगलाई संवैधानिक बनाएको पाइन्छ।
संसारका सबै धर्मले कुनै न कुनै ईश्वर या परमात्माको अस्तित्व स्विकार्छन्। पृथ्वीमा हुर्किएका संस्कार र रीतिरिवाजको विश्वासमा धार्मिक आस्थाहरू बनेका हुन्। ती सबै आस्था भावनापरक छन्। तिनीहरूलाई धर्म भन्ने या रिलिजन ?
उपनिषद्ले मानिसहरूबीचको मेलमिलापलाई धर्म मान्दछ (बृहदारण्यकोपनिषद्- १।४।१४)। वात्स्यायन मनको धर्म र तनको धर्म भनेर यसलाई दुई कोटिमा बाँड्छन्। यसको अर्थ शरीरको धर्म भौतिक अनि मस्तिष्कको धर्म बौद्धिक भन्ने हो। सबै धार्मिक संस्कारहरू मानिसको मस्तिष्कमा परेको प्राकृतिक तथा सामाजिक शक्तिको आधारमा निर्मित काल्पनिक प्रतिविम्ब हुन्। ‘धर्मको सार शासक-वर्गीय औजार’ भन्ने वास्तविकतालाई कौटिल्य भन्छन्, ‘राज्यसत्ता चलाउनेहरूले जनतामा भिन्न भिन्न रीतिरिवाज (धर्म) फैलाउने गर्नुपर्छ, तिनलाई बलियो पार्नुपर्छ, तर आफूले भने त्यसमा विश्वास गर्नु हुँदैन।’
यसरी धर्म एउटा छद्म रीत बनेर आउने क्रममा नै राज्यद्वारा जनतालाई मनोवैज्ञानिक तरीकाले बाँध्न प्रयोग भएको सांस्कृतिक एवं मानसिक औजार बन्न पुगेको देखिन्छ। यो एउटा सान्त्वना प्रदायक साधन बनेको छ। नैतिकताको मुद्दा सामाजिक र लौकिक विषय हो, तर धर्मले त्यसलाई पाप-पुण्यसँग जोडेर अलौकिक ईश्वरीय आस्थासँग आबद्ध गर्छ। हिन्दूहरूले गाईलाई मार्न-काट्न हुँदैन भने झै यहुदीहरूले उँट काट्न-मार्न प्रतिबन्ध लगाएको पाइन्छ। यस्तो रीतिरिवाज आफ्नो ठाउँको ‘धर्म’ बन्न पुग्छ।
वस्तुगत सत्यको कार्य-कारणवाद अर्थात् वैज्ञानिक भौतिकवादी दृष्टिकोण लिँदा अप्ठेरो मान्नुपर्ने हुँदैन। विज्ञान प्रविधिको विकासले मानिसहरूका जीवनदृष्टि परिष्कृत हुँदै आए। आवागमन र सञ्चारले ज्ञानको क्षेत्र फरक र गहिरो बन्दै गएको छ। त्यसैले धार्मिक संस्कारहरू पनि बदलिँदै छन् र दर्शनको समग्रतामा ‘धर्म’ एउटा सानो आस्थापरक हाँगो बनेर स्थिर हुँदै छ।
(प्रभात नेपाल प्रज्ञा प्रतिष्ठानका दर्शनशास्त्र विभागका सदस्य हुन्।)