कोरोना संक्रमण व्यापक, तेस्रो लहरको संकेत
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दिनदिनै बढ्दै गएको छ। अहिलेसम्म २७ जनामा संक्रमण पुष्टि भएको छ भने नयाँ संक्रमितको संख्या पनि २-३ दिनमा दोब्बर हुन थालेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीन सिक्वेन्सिङ परीक्षणका आधारमा मंगलबारसम्म २७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, दैनिक वृद्धि भइरहेको कोरोना संक्रमितको तथ्याङ्क केलाउँदा यो भेरियन्ट देशभर फैलिइसकेको स्वास्थ्य मन्त्रालयको अनुमान छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले समुदायस्तरमै ओमिक्रोन फैलिइसकेका कारण थप जीन सिक्वेन्सिङको आवश्यकता नरहेको बताए। “ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा निकै फरक छ। यो भेरियन्टले एक जना संक्रमितबाट १२ जनासम्मलाई संक्रमित बनाउने क्षमता राख्छ। त्यसैले पनि नेपालमा हाल संक्रमणको दर ह्वात्तै बढ्न थालेको हो,” डा. पौडेलले भने।
कोरोना संक्रमणको स्थिति बुझ्न विभिन्न जिल्ला तथा सीमा नाकामा पुगेका डा. पौडेलले हाल कोरोना संक्रमण हरेक २-३ दिनमा दोब्बरका दरले बढ्न थालेको बताए। “अहिलेको जस्तै संक्रमण दर बढ्दै जाने हो भने केही दिनमै संक्रमितको संख्या ‘पिक’मा पुग्न सक्छ,” उनले भने।
विभिन्न क्षेत्रमा राखिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा विगत एक सातामा संक्रमितको संख्या पाँच जनाबाट शुरू भएर दैनिक २५३ जनासम्म पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हेल्थ डेस्कमा परीक्षण गर्दा १९ पुसमा ५ जनामा संक्रमण देखिएको थियो भने २० पुसमा ३८ जना पुगेका थिए। त्यस्तै, २१ पुसमा ४७ जनामा, २२ पुसमा ८८ जनामा र २३ पुसमा २५३ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी, २४ पुसमा २०७ र २५ पुसमा २३७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो एक सातामा संक्रमणको दर पनि बढ्दै गएको पाइएको छ। देशभरको संक्रमणको दर नियाल्दा १९ पुसमा २.६ प्रतिशत थियो भने अहिले १२.७ प्रतिशत पुगेको छ।
मंगलबार देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जबकि, सात दिन अघि २० पुसमा ३९३ र १९ पुसमा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो।
यस वर्षको शुरुआतसँगै कोरोना संक्रमणको दोस्रो लहर शुरू भएको थियो। डेल्टा भेरियन्टको दोस्रो लहरले स्वास्थ्य अवस्थालाई नै तहसनहन बनाएको थियो।
अहिले ओमिक्रोनले तेस्रो लहर शुरू हुन लागेको विज्ञहरूको भनाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलते भन्छन्, “तेस्रो लहर त शुरू नै भइसकेको छ। तर, ओमिक्रोन भेरियन्टले मानिसलाई गम्भीर अवस्थामा पार्ने तथा अस्पतालको शय्या आवश्यक पर्ने अवस्थासम्म कमैलाई प्रभाव पर्छ।”
विश्व स्वास्थ्य संगठनले यो भेरियन्टले डेल्टा जतिको गम्भीर असर नपार्ने बताएको छ। त्यस्तै, डेल्टा भेरियन्टले लाखौं नागरिकको ज्यान लिएको अमेरिका तथा बेलायत जस्ता देशमा ओमिक्रोन भेरियन्टले धेरैमा सामान्य संक्रमित बनाएको तथा अस्पतालमा भर्ना हुनुपर्ने अवस्था सिर्जना गरेको छैन।
यसअर्थ पनि नेपालमा फैलिरहेको यो भेरियन्टले देशको स्वास्थ्य सेवामा गम्भीर असर गर्न नसक्ने उनको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन पनि अझै संक्रमण बढ्न सक्ने बताउँछन्। डा. पुन भन्छन्, “छिमेकी देश भारतमा बढ्दै गइरहेको कोरोना संक्रमणको अवस्था र गाम्भीर्यतालाई हेर्दा नेपालमा पनि अझै संक्रमण बढ्ने सम्भावना छ।”
कोरोना संक्रमणको गति तथा दर हेर्दा भारत र नेपालमा मिल्दो जुल्दो छ। “यहि ट्रेन्डलाई विश्लेषण गर्दा दोस्रो लहरको जस्तो अस्पतालमा शय्या, अक्सिजन तथा चिकित्सकको अभाव हुने सम्भावना देखिँदैन,” पुन भन्छन्।
तर, संक्रमण बढ्दै जाँदा कोरोना विरुद्धको खोप एक मात्रा पनि नलगाएका व्यक्तिसम्म पुगेको खण्डमा गम्भीर हुँदैन भन्न नसकिने डा. पुनको भनाइ छ। “अझै पनि नेपालमा आधा जनसंख्याले खोप लगाउन पाएको छैन। यस्तो अवस्थामा ओमिक्रोनले केही हुँदैन भन्न सकिन्न। ओमिक्रोनको प्रभाव कम भए पनि कोरोना नलागेका व्यक्ति वा एन्टिबडी नबनेका व्यक्तिमा गम्भीर समस्या ल्याउन सक्छ,” उनी भन्छन्।
काठमाडौं ‘रेड जोन’मा
कोरोना संक्रमणको ‘हटस्पट’ अहिले काठमाडौं उपत्यका नै देखिएको छ। मन्त्रालयले उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई नै ‘रेडजोन’ उच्च जोखिममा राखिसकेको छ।
स्वास्थ्य मन्त्रालयले ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राख्ने गरेको छ। अहिले काठमाडौंमा २६५५, भक्तपुरमा ६३३ र ललितपुरमा ९०० सक्रिय संक्रमित छन्। जनस्वास्थ्य विज्ञहरूका अनुसार उच्च जोखिममा रहेका जिल्लामा जनस्वास्थ्यका मापदण्ड अनिवार्य गर्न जरुरी छ।
अहिले २०० भन्दा माथि संक्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन्। देशभर दुई वटा जिल्ला मुस्ताङ र मुगुमा मात्रै संक्रमित छैनन्।
कस्तो छ सरकारको तयारी?
अहिलेसम्म मन्त्रालयले बन्दाबन्दी तथा निशेधाज्ञाको तयारी नगरेको डा. पौडेलले बताए। देशव्यापी रुपमा बन्दाबन्दी गर्ने कुनै तयारी गरेको छैन। संक्रमणको मापदण्ड अनुरुप उच्च संक्रमणको जोखिम भएका जिल्लामा आफैले बन्दाबन्दीको तयारी गर्न सक्नेछन्।
स्वास्थ्य मन्त्रालयले सबै जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पताललाई सतर्क तथा तयारी अवस्था रहन निर्देशन दिइसकेको। त्यस्तै, गृह मन्त्रालयले तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइसकेको छ।
हामीले आफूसँग भएको प्रविधि तथा टेस्ट किट प्रयोग गरेर सक्दो परीक्षण गरि नै रहेका छौं। योसँगै सर्वसाधारणले पनि स्वास्थ्यका मापदण्ड अपनाई सुरक्षित भएर बस्नु आवश्यक छ,’ डा. पौडेलले भने।