छेडियो ५.१ किलोमिटर लामो सुपरदोर्दीको सुरुङ
लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छेडिएको छ।
दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले ५.१ किलोमिटरको मुख्य सुरुङ छेडिएको हो। पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गर्दै आएको यस आयोजनाको मुख्य सुरुङ भूकम्प, नाकाबन्दी, लकडाउन लगायतले गर्दा ढिलाइ हुँदै आएको थियो।
अब ढलान कार्य भइरहेको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए। “हामीले सुरुङ छेड्ने काम पूरा गरेका छौं, यो ठूलो उपलब्धि हो, अब ढलान कार्य अघि बढिसकेकाले आगामी चार महीनाभित्र ढलानसमेत सम्पन्न गर्ने लक्ष्य छ,” रायमाझीले भने।
यस आयोजनाले आगामी सात-आठ महीनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाका प्रबन्ध निर्देशक रायमाझीको भनाइ छ। उनका अनुसार यस आयोजनाको निर्माण हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको विद्युत्गृहको सिभिल संरचनाको निर्माण भई उपकरण जडान भइरहेको आयोजनाले जनाएको छ।
त्यस्तै गत असारमा दोर्दीखोलामा आएको बाढीपहिराले क्षति पुर्याएको आयोजनाको बाँधस्थल क्षेत्रको पुनःनिर्माण भइरहेको छ। एक हजार १०० मिटर पेनस्टक पाइप जडान भइरहेको छ। आयोजनाका प्रबन्ध निर्देशक रायमाझीले आगामी असारभित्र बिजुली उत्पादन गर्ने कार्यतालिका रहेको बताए।
रु. ८ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ। इलेक्ट्रोमेकानिकल, टनेल र पावरहाउसभित्र भवन बनाउने काम भइरहेको छ। आयोजनामा सबै गरेर ५०० कर्मचारी छन्।
उनका अनुसार आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन्। ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ।
पानीको बहावमा आधारित यो आयोजनाको कुल ग्रसहेड ६४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। (रासस)