कहाँ भेटिएको थियो पृथ्वीनारायण शाहको उपदेश?
नुवाकोट दरबारमा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा गरेको भारदारी र त्यहाँ दिएको भाषणलाई नेपाली इतिहासकारमध्ये कसैले ‘पृथ्वीनारायण शाहको दिब्योपदेश’ तथा कसैले ‘पृथ्वीनारायण शाहको उपदेश’ भनी उल्लेख गर्ने गरेका छन्।
जीवनको उत्तर,ार्द्धमा पृथ्वीनारायण शाह निक्कै तनावग्रस्त थिए। पूर्वतिरको अभियान सफल भएपछि ती क्षेत्र जोगिएला नजोगिएला भन्ने चिन्ता उनमा थियो। लमजुङ र तनहुँतिर हात बढाए पनि उनले आशातित सफलता हासिल गर्न सकिरहेका थिएनन्।
उनले भाइहरूको पनि साथ पाएका थिएनन् भने आफ्ना छोरा युवराज प्रतापसिंह शाहको व्यवहार पनि सोचे जस्तो थिएन। त्यसैले उनमा विरक्तिपन छाउँदै गइरहेको थियो। उनलाई रोगले पनि च्याप्दै लगिरहेको थियो।
जब भाइहरूले साथ छोडे
पृथ्वीनारायण शाहले जति राज्य जित्दै गयो, उनका भाइहरूले पनि कुनै राज्यमा आफ्नो विशेष अधिकारको अपेक्षा गर्दै गइरहेका थिए। तर,, उनले भाइहरूलाई राज्य दिने कल्पना पनि गर्न सकेनन्। राज्य नपाउने भएपछि भाइहरू उनको साथ छाडेर यत्रतत्र लागेका थिए।
पृथ्वीनारायण शाहका चारै भाइले एक दिन उनीसंग ‘महाराज, हजुरका पुण्यप्रतापले र हामीहरूका बल पराक्रमले नेपाल राज्य सर भयो, अब यो सब हजुरको राज्य भयो। अब हामी चार भाइलाई कुन कुन शहर गाउँ बक्सन्छ बक्सियोस’ भनी बिन्ति गरे। यसबारे कुनै सोच विचार नगरी उनी चुपचाप बसे। भाइहरूको मागको सुनुवाइ गरेनन्। यसो हुँदा उनका भाइहरू चित्त दुखाउँदै यत्रतत्र लागेका थिए (‘प्राचीन नेपाल’, सङ्ख्या २३-२०३० वैशाख, पृ. ४)।
ललितपुर जित्नुअघि नै पाटनका प्रधानहरूले दलमर्दन शाहलाई पाटनको राजा थापेकाले ललितपुर गोरखाली अधिनस्थ भएपछि त्यसमा उनको दाबी थियो। उनका माहिला भाइ महोद्दामकीर्ति शाह मकवानपुरको तर,ाई क्षेत्रको प्रशासक भएर रहेका हुनाले उनको त्यतातिरको राजगद्दी ताक्ने इच्छा थियो। तर, पृथ्वीनारायण शाहले त्यतातिर ध्यान दिएनन्। भक्तपुरको युद्धमा शूरप्रताप शाहबाहेक अरू कुनै भाइले भाग लिएनन् (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’-२०५२, पृ.८-९)।
पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा क्रममा गरिएको आक्रमणमध्ये भक्तपुर आक्रमण सबैभन्दा घातक मानिन्छ। दुई हजारभन्दा बढि भक्तपुरेले ज्यान गुमाए। बस्तीमा आगलागी भएपछि राजदरबारको मूलचोकमा शरण पर्न आएका कैयौँ निहत्था नरनारी पनि आक्रमणको शिकार भएका थिए।
२८ कात्तिक १८२६ मा गोरखालीले भक्तपुर राज्यमा हमला गरे। पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा क्रममा गरिएको आक्रमणमध्ये यो आक्रमण सबैभन्दा घातक मानिन्छ। दुई हजारभन्दा बढि भक्तपुरेले यो युद्धमा ज्यान गुमाए।
आफ्नो बस्तीमा आगलागी भएपछि राजदरबारको मूलचोकमा शरण पर्न आएका कैयौँ निहत्था नरनारी पनि आक्रमणको शिकार भएका थिए। तर, भक्तपुर विजय भएपछि यो विजय आफ्नो पराक्रमबाट भएको हो भनेर त्यसको पुरस्कारस्वरुप शूरप्रताप शाह त्यहाँको हाकिम भएर त्यस इलाकाको प्रशासन चलाउन चाहन्थे। पृथ्वीनारायण शाह भाइहरूलाई सहायकका रुपमा राख्न चाहे पनि कुनै प्रदेशको हाकिम बनाएर विजित राज्यलाई अँशवण्डा गर्न चाहदैनथे।
पृथ्वीनारायण शाहले भक्तपुर विजयको श्रेय १ जनवरी १७७० (२१ पुस १८२६)मा भक्तपुर आक्रमणका अर्का सेनानायक वंशराज पाँडेलाई दिए। यसबाट शूरप्रताप शाह असन्तुष्ट भए। उनी घुर्की लगाएर गोरखा जान्छु भनी हिडेका तर, गोरखामा नअडिएर मर्स्याङ्दी पारी भई तनहुँतिर पसे। (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’-२०६१, पृ. ३५९)
पृथ्वीनारायण शाहका अर्का भाइ जेठा चौतारा महोद्दामकीर्ति शाह उनीसँग असहमत भई गोरखा राज्यविरोधी कास्की राज्यका राजा सिद्धिनरसिंह शाहको आश्रयमा पुगेका थिए (बाबुराम आचार्य, ‘अब कहिल्यै यस्तो नहोस’ - २०६८, पृ. १)। पृथ्वीनारायण शाहले आफ्नो साथ छाडेर गएको भाइमाथि निगरानी भने राख्न छाडेनन्। उनले पश्चिम कास्कीतिर गएका आफ्ना दूत कालु पाँडे (बाहुन), गङ्गाधर पन्थमार्फत् शूरप्रताप शाहको गतिविधि निगरानीमा राखिरहेका थिए।
१८३० फागुनमा कास्कीका राजालाई मार्न आएको भन्ने अभियोग लगाई ७ जना गोरखालीलाई पक्रेर कास्कीले थुनामा राख्यो भने ६ जना गोरखालीलाई पाल्पाले मारी नै दियो। यस घटनामा परी शूरप्रताप शाह पनि विपक्षीले प्रहार गरेको वाणले घाइते भई प्राणान्त भए (नेपाल, उही, पृ. ९)।
एकातिर भाइहरूले साथ छाडिरहेका थिए। अर्कातिर पृथ्वीनारायण शाहले आफ्ना जेठा छोरा प्रतापसिंह शाह यशस्वी, पराक्रमी र युद्धकुशल होऊन् भन्ने चाहेका थिए। तर, समय बित्दै जाँदा परिणाम भने उनको आकाँक्षाको ठीक विपरित हुन पुग्यो (आचार्य, उही, २०६४, पृ.१)। यसले पृथ्वीनारायण शाहको मनमा नराम्ररी ठेस लाग्न पुगेको थियो।
युवराज विलाश मन्दिरमा मस्त
दरबारभित्र तत्कालीन युवराज र युवराज्ञीका चर्तिकलाले पृथ्वीनारायण शाह वाक्क दिक्क थिए। तत्कालीन युवराज प्रतापसिंह शाहको ध्यान आफ्नो बाबुले शुरू गरेको राज्यविस्तार अभियानको उद्योगलाई निरन्तरता दिनेतिर थिएन। उनी वसन्तपुर राजदरबार परिसरभित्रको विलाश मन्दिरमा मैजु रानी लगायतका सुन्दरी नेवार कन्याले घेरिएर मोजमस्तिमा मग्न थिए। उनी राजकाजमा भन्दा तन्त्र साधनाबाट सिद्धि प्राप्त गर्नेतर्फ अग्रसर थिए।
त्यसैले उनी मांस, मदिरा र मैथुनमा विश्वास गर्थे। युवराज्ञी राजेन्द्रलक्ष्मी पनि विलासी थिइन्। उनीहरूबाट पृथ्वीनारायण शाह खुशी थिएनन्, उनी विरक्त थिए (नेपाल, उही, पृ. १०)। घरपरिवारभित्रको यस्तो चर्तिकलाले वाक्क भएका उनी जीवनको अन्तिम समयमा काठमाडौंमा नबसी नुवाकोट दरबारतिर लागेका थिए।
फेरि पृथ्वीनारायण शाह ५२ वर्षकै उमेरमा रोगग्रस्त पनि भए। उनलाई रोगले च्याप्दै लग्यो। उनको शरीरभरी खटिरा आएको थियो। आफ्नो अन्तिम दिन आउँदै गरेको महसुस भइरहेकोले स्वभाविक रुपमा उनी चिन्तित थिए। त्यसैले उनले आफ्ना ददा (हजुरिया) सुरथसिंह रानामगर थरघर र भाइभारदारलाई बोलाएर आफ्नो अन्तिम इच्छा प्रकट गरेका थिए (ज्ञानमणि नेपाल, ‘नेपाल निरुपण’-२०५५, पृ. ३६७)।
पृथ्वीनारायण शाहले १८३१ पुसको अन्तिम साता नुवाकोटको आफ्नो राजदरबारमा साथमा रहेका दुई भाइ र भारदारहरूलाई बोलाएर एक बडो भारदारी दिए। एक लामो भाषण दुई तीन दिन लगाएर दिए। त्यसपछि उनमा थकावट महसुस भयो।
उनलाई ज्वरोले आक्रमण गर्यो। ३ जनवरी १७७५ (२३ पुस १८३१) उनलाई घाट चलाइदा तादी र त्रिशुलीको दोभान देवीघाट पुर्याइयो। त्यहाँ उनी ९ दिनसम्म रहे। ११ जनवरी (१ माघ) बिहान ७ बजे उनको देहान्त भयो (आचार्य, उही, २०६१, पृ.४३५)।
नुवाकोट दरबारमा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा गरेको भारदारी र त्यहाँ दिएको भाषणलाई नेपाली इतिहासकारमध्ये कसैले ‘पृथ्वीनारायण शाहको दिब्योपदेश’ तथा कसैले ‘पृथ्वीनारायण शाहको उपदेश’ भनी उल्लेख गर्ने गरेका छन्। राष्ट्रिय अभिलेखालयले यसको प्रति काँचो नेपाली कागजमा सारेर त्यसको आवरणमा ‘श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको सुवर्णमय दिव्य उपदेश’ लेखिएको अवस्थामा फेला पारेको थियो।
कहाँ फेला पर्यो पृथ्वीनारायण शाहको उपदेश?
पृथ्वीनारायण शाहको उपदेश भनेर जुन हस्तलिखित ग्रन्थ फेला पर्यो, त्यो उनले लेखाएको भने होइन। उनी आफू जीवनको अन्तिम अवस्थामा आइपुग्दा बोलेका वाणीहरूलाई त्यतिखेरका भारदारहरूले टिपेर राखेको टिपोट हो। यो टिपोट विभिन्न ब्यक्तिले सारेर राखे। त्यसलाई पछि विभिन्न इतिहासकार तथा सरकारी संस्थाले प्रकाशनमा ल्याए। यसमा पृथ्वीनारायण शाहका तत्कालीन नीतिहरू र उनको अनुभवहरू उल्लेख छन्।
यो उपदेशको सुरुवातमा यस्तो लेखिएको छ:
स्वस्ति श्रीगणेशाय नमः।। श्रीकालिका सहा। श्री ३ सिव गोरषनाथ सहाः।। श्री ५ प्रिथिनारायण शाहाः।।।।
श्रीश्रीश्री ५ बुढा महाराजाले तिन सहर नेपाल र हिंडुपतिको राज लियापछि पछिल्ला पटक् नुहाकोटमा पाउलाग्नुभयामा गुरु प्रोहित थरघर भैयाद भारदार र आफ्ना ददा सुरथसिं राना सबैका बुढापाकाछेउ हुकुम भयाका कुरा.
(बाबुराम आचार्य र योगी नरहरिनाथ (सम्पा.) बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश-२०६१, पृ. २९)
पृथ्वीनारायण शाहले त्यतिखेर भनेको कुरा जसजसले टिपे वा सारे, त्यसमध्येको एउटा प्रति असन केलटोलस्थित तिलंगा घर भएका बखतमानसिंह बस्नेत (पृथ्वीनारायण शाहका भारदार अभिमानसिंह बस्नेतका सन्तान) को हातमा पनि पर्यो। उनले यो प्रति उनका नेवार कारिन्दाबाट प्राप्त गरेका हुन्। बाबुराम आचार्यको हातमा पनि त्यसको प्रति पर्यो। बाबुरामले त्यो हस्तलिखित प्रति सूर्यविक्रम ज्ञवालीलाई दिए। वि.सं. १९९२ मा ज्ञवालीले प्रकाशित गरेको ‘पृथ्वीनारायण शाह’मा ज्ञवालीले केही अंश प्रयोग गरेका छन् (दिनेशराज पन्त, ‘नागरिकन्यूज डट कम’-४ माघ २०७६)।
तिलंगा घरलाई पल्टन घरका नामले पनि चिनिन्छ। यो घर काजी अभिमानसिंह बस्नेतले बनाएका हुन्। प्रा. नयराज पन्तले लेख्दा ‘मूल प्रतिका धनी बखतमानसिंह बस्नेतजीले त्यो मलाई सार्न दिदा पृथ्वीनारायण शाहको भाषण भनी सार्न दिनुभएको थियो’ भन्ने उल्लेख गरेका छन्। २००७ सालको परिवर्तनपछि शुरूमा योगी नरहरिनाथ र त्यसपछि बाबुराम आचार्यले ‘दिब्योपदेश र उपदेश’ भनेर छाप्न थाले। (पन्त, उही)
अभिमानसिंह बस्नेतकै घरमा सारिएको पृथ्वीनारायण शाहको यो उपदेशको अर्को प्रति उनकै घरमा लेखापढीको काम गर्ने कर्मचारीका वंशधर मुखिया भक्तबहादुरसँग पनि सुरक्षित थियो। त्यही प्रतिलाई अभिमानसिंहका वंशधर बखतमानसिंह बस्नेतको सौजन्यबाट बाबुराम आचार्य र योगी नरहरिनाथलाई प्राप्त भएको हो। (आचार्य र योगी, उही, २०६१, पृ. क)
हाल पृथ्वीनारायण शाहको उपदेशको एक प्रति राष्ट्रिय अभिलेखालय ४/२९१५ लगतमा राखिएको छ। यो टिपोट पुस्तक पुरातत्व विभागलाई काठमाडौंको नयाँ बजारनिवासी बखतमानसिंह बस्नेत (दिवंगत) बाट २०२५ सालमा प्राप्त भएको हो। उनको वंश शिवरामसिंह बस्नेत (अभिमानसिंह बस्नेतका बाबु)सँग जोडिएको छ {बलरामदाश डंगोल र अरू(सम्पा), ‘अभिलेख’ वर्ष ३ अंक ३-२०४२, पृ. १०१}।
‘अभिलेख’को सम्पादकले यो टिपोटमा पृथ्वीनारायण शाहलाई 'बुढा महाराज' भनी सम्बोधन गरिएकोले यो टिपोट अवश्य पनि रणबहादुर शाहको शासनकालमा लेखिएको हुनुपर्छ भन्ने उल्लेख गरेका छन्। (‘अभिलेख’, उही)
इतिहासकार महेशराज पन्त भने यो टिपोट पृथ्वीनारायण शाहका छोरा प्रतापसिंह शाह राजा भइसकेपछि लेखिएको हुन सक्ने अनुमान गर्छन्। उनले ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ (२०२५, पृ. १२१५-१२१६)मा नयराज पन्तले उल्लेख गरेको बुढामहाराजा सम्बन्धी धारणालाई अघि सार्दै यस्तो अनुमान गरेका हुन्। ३४ वर्षका उमेरमा राज्यच्यूत भएका राजा राजेन्द्रलाई वि.सं. १९०४ मा ‘बुढा महाराज’ लेखिएकोले लगत्तै भूतपूर्व राजालाई बुढा महाराजा भन्ने चलन देखिदा पृथ्वीनारायण शाहको मृत्यूपछि लिपिवद्ध भएको यस उपदेशको पुस्तकमा भूतपूर्व राजालाई बुझाउन बुढा महाराजा शब्दको प्रयोग भएको भन्ने नयराज पन्तको धारणा रहेको देखिन्छ।
यस धारणालाई अघि सार्दै महेशराज पन्त राजधानी दैनिक (१ माघ २०७०, पृ. ७)मा प्रकाशित ‘के पृथ्वीनारायण शाहको उपदेश नक्कली हो?’ शीर्षकको आफ्नो लेखमा लेख्छन्, ‘...यसकारण छोरा प्रतापसिंहकै पालामा पृथ्वीनारायण शाह बुढा महाराज भइसकेकोले त्यहीँ समयमा यो उपदेश लिपिवद्ध भयो भनी मान्नमा के आपत्ति?’