पृथ्वीनारायण शाहको दानवीकरण गर्नेहरूको नाममा
पृथ्वीनारायण शाहको एकतर्फी विरोधले हामीलाई कहिँ पुर्याउँदैन। बदल्न नसक्ने इतिहासका घटनाक्रमबारे झगडा गरेर बस्नुभन्दा इतिहासमा भएका गल्ति कमजोरी सुधार्न सोच, बोली र व्यवहार परिवर्तन गरेर अगाडि बढ्नु जस्तो रचनात्मक र सकारात्मक विकल्प केही हुन सक्तैन।
पृथ्वीनारायण शाहको सम्बन्धमा दुई खाले धारणा देखिएका छन्। एकथरि उनलाई पवित्र उद्देश्यले नेपाल एकीकरणको जग बसालेका दूरदर्शी राष्ट्रनिर्माता मान्छन्। उनीहरूका ठम्याईमा शाहको नेतृत्वमा बलियो राज्य बनाउन एकीकरण गर्ने महान् कार्य भएको थियो। यस्तो धारणा राख्नेहरूको बुझाइमा राष्ट्रनिर्माता, बडामहाराजाधिराज, दूरदर्शी भनेर गरिने प्रशंसा अद्यापि उत्तिकै उचित र सान्दर्भिक छ। यस्तो धारणा राख्नेहरू सबै राजतन्त्र पक्षधर पनि होइनन्।
नेपालको अस्तित्वप्रति गर्व गर्ने जिम्मेवार नागरिकले पृथ्वीनारायण शाह र उनको एकता अभियानलाई नकारात्मक रुपमा लिनु हुँदैन भन्ने यो पक्षको धारणा देखिन्छ। उनीहरू ‘अधकल्चा, अर्धदीक्षित र कच्पल्टिएका उग्रवामपन्थी र उग्रपहिचानवादीले’ प्रायोजित रुपमा राष्ट्रिय हीत विरोधी र विखण्डन चाहने तत्त्वहरूको उक्साहटमा पृथ्वीनारायण शाहको विरोध भएको मान्छन्।
अर्काथरि चाहिं पृथ्वीनारायणलाई विस्तारवादी र क्रुर शासकका रुपमा अर्थ्याउँछन्। उनीहरू नेपाल भौगोलिक नै मात्रै भए पनि एकता गर्ने पृथ्वीनारायणको अभियानलाई महान् एकीकरण भन्नै नसकिने तर्क गर्छन्। अहिले नेपाल भएको भूगोलमा तत्कालीन् समयमा बाइसे, चौबिसे र भुरे-टाकुरे राज्यहरू निरन्तर एक अर्कासँग युद्ध गरिरहन्थे। पृथ्वीनारायण शाह पनि त्यस्तै एउटा राजा भएको र ठूलो राज्यको राजा हुने अभिलाषाका साथ उनले थालेको गोरखा राज्यको विस्तारका क्रममा संयोगवश अहिलेको नेपाल बन्न पुगेको उनीहरूको दाबी छ।
बरु राज्य विस्तारका क्रममा काठमाडौं उपत्यकाका राजा र समग्रमा यहाँको समुदाय, पूर्वी नेपालका लिम्बूहरू, मधेश, अहिलेको पश्चिम नेपाल, केही समय नेपालको अधिनमा रहेका हाल भारतको उत्तराखण्डमा पर्ने कुमाउ गढवाल र तिब्बतका विभिन्न क्षेत्र लगायतमा गोर्खाली सेना र पृथ्वीनारायण शाहका दरसन्तानले विभेदपूर्ण शासन गरेको भन्दै विस्तारवादी शासकका रुपमा उनको दानवीकरण गर्न समेत पछि पर्दैनन्।
विरोधका कारण
पृथ्वीनारायण शाहको नेपाल एकीकरण जातीय विभेदको कारक तत्त्व रहेको केही वामपन्थी र पहिचान पक्षधरहरूको तर्क छ। उनकै पालादेखि राज्यको नीति निर्माण र निर्णायक तहमा कथित उच्च जातलाई दिइएको प्राथमिकताका कारण वर्तमान नेपालको सीमान्तीकरणको अवस्था उत्पन्न भएकाले पनि उनको विरोध भइरहेका छन्। २०६२-६३ को जनआन्दोलन र गणतन्त्र स्थापनाका क्रममा उनी पनि आलोचकहरूको निशानामा परे।
कतिपय अवस्थामा नेपालको राष्ट्रियताको जग कमजोर बनाउन चाहने तत्त्वहरूले यसको एकताका महत्त्वपूर्ण, पवित्र र सम्झौता नै गर्न नसकिने बिम्बहरूमा जानाजान, नियतवश र सुनियोजित तरिकाले पनि प्रहार गरे। उनको जानेर नजानेर विरोध र दानवीकरणका प्रयास भइरहेका छन्।
अहिले नेपालका अल्पसंख्यक र सीमान्तकरणमा परेका आदिवासी जनजाती, दलित, मधेशी, थारु, मधेशी, महिला लगायतमा नेपालको मुख्य समस्याको जरो एकल जातीय पुरुषवादी दबदबा र अहंकार हो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ। यसमा सत्यताको बलियो अंश भए पनि नेपालको सबै समस्याको जरो बाहुनवाद मात्र भने होइन। अशिक्षा, बेरोजगारी, गरिबीबाट स्वयं उच्च जातका भनिएकाहरू पनि उल्लेख्य संख्यामा प्रताडित छन्।
सीमान्तिकरणमा परेका जातीय र भाषिक समुदायको पक्षमा र राज्यका सबै अंगमा उनीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन भन्दै नेपाल राज्यको स्थापना, नेपाली भाषाको फैलावट र कथित बाहुनवादी दबदबा कायम गर्ने कुनै पनि संस्था, संरचना र बिम्बहरूको विरोध गर्ने स्थिति विकसित गर्न खोजिएको छ। पृथ्वीनारायण शाहमात्र नभई आदिकवि भानुभक्त आचार्य लगायत नेपालका अन्य राष्ट्रिय विभुतिमाथिको विरोधलाई पनि यस्तै प्रवृत्तिको आलोकमा बुझ्नुपर्छ। यसक्रममा यी क्षेत्रमा ज्ञान निर्माण र राजनीतिक सामाजिक अभियानमा गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका, सहयोग र उनीहरूको आर्थिक स्रोतलाई लिएर अभद्र किसिमका आरोप प्रत्यारोपहरू पनि हुने गरेका छन्।
आलोचनाका कमजोर आधार
पृथ्वीनारायण शाहको विरोध गर्नेहरूले उनको नेतृत्वमा नेपाल निर्माणको जग नहालिएको भए अहिलेको नेपालको अवस्था के हुन्थ्यो भन्ने प्रश्नको स्पष्ट जवाफ दिन सक्दैनन्। यो विषयमा आउने प्राय जवाफ अस्पष्ट, पूर्वाग्रही, काल्पनिक र टालटुले छन्।
इतिहासको कुनै कालखण्डमा विद्यमान सोच र त्यसवेलाका क्रियाकलाप र घटनालाई वर्तमानका मानकको आलोकमा मुल्यांकन गर्नु पनि एक किसिमको आग्रह वा पूर्वाग्रह नै हो।
इतिहासको मूल्याकंनमा वर्तमानका मानक
पृथ्वीनारायण शाहको विरोध गर्नेहरूले उनकै पालादेखि पहाडी बाहुन, क्षत्री, ठकुरीलाई नीति निर्माण र निर्णायक तहमा राखेर सीमान्तीकरण संस्थागत गरिएको तर्क गर्छन्। उनका उत्तराधिकारी र राणाशासन कालमा समेत जातीय आधारमा हुने विभेदलाई राज्य सञ्चालनको अभिन्न अंग बनाएर सीमान्तीकरणलाई थप संस्थागत र अमानवीय बनाइएको पनि उनीहरूको तर्क हुने गर्छ। यस्ता तर्क र सीमान्तीकरणले पारेको नकारात्मक प्रभावलाई अस्वीकार गर्न सकिँदैन र गर्नु पनि हुँदैन।
पृथ्वीनारायण शाह र उनको नेपाल निर्माण गलत थियो भन्ने तर्कले भने हामीलाई कहिँ पुर्याउँदैन। हामीले बदल्न नसक्ने इतिहासका घटनाक्रमबारे झगडा गरेर बस्नुभन्दा इतिहासमा भएका गल्ति कमजोरी सुधार्न सोच, बोली र व्यवहार परिवर्तन गरेर अगाडि बढ्नु जस्तो रचनात्मक र सकारात्मक विकल्प केही हुन सक्तैन। पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीले त्यसवेलाको सामाजिक चेत अनुसार गरेको क्रियाकलापलाई वर्तमानका मानकमा उभिएर मूल्याकंन गरिनु पनि जायज हुँदैन। यसको अर्थ त्यसवेला गरिएका सबै क्रियाकलापलाई आँखा चिम्मेलेर सही थिए भन्नु पर्छ भन्ने होइन।
इतिहासको कुनै कालखण्डमा विद्यमान सोच र त्यसवेलाका क्रियाकलाप र घटनालाई वर्तमानका मानकको आलोकमा मूल्यांकन गर्नु पनि एक किसिमको आग्रह वा पूर्वाग्रह नै हो। त्यसकारण ती कालखण्डका सोच, क्रियाकलाप र घटनालाई तत्कालखण्डकै मानकमा मूल्यांकन गरिनुपर्छ। यसको अर्थ त्यसवेला भएका गलत क्रियाकलाप ठीक थिए भनेर ढाकछोप गर्नुपर्छ भन्ने चाहिं कदापी होइन। हाम्रो सन्दर्भमा भने मूलधारका भनिएका सञ्चारमाध्यम मात्र नभएर प्राज्ञिक भनिएका शोध अनुसन्धान समेत यस्तो पूर्वाग्रह भेटिन्छन्। पृथ्वीनारायण शाह वा भानुभक्त आचार्य आदीप्रतिको टिप्पणी त्यसका उदाहरण हुन्।
लेखक सिके लालले कुनै पनि समयमा विद्यमान सोचबारे लेख्दा ‘कालचेतना’ भन्ने शब्द प्रयोग गर्छन्। त्यो शब्द सापटी लिएर भन्नुपर्दा पृथ्वीनारायण शाह उनी जन्मेको समयको कालचेतनाबाट पृथक रहन सक्ने कुरा भएन। उनले राजकाज चलाएका वेला हाम्रा छिमेकी देश, एशिया वा पश्चिमा मुलुक विभेद रहित थियो त? छिमेकी मुलुक भारतमा नेपालमा जुन-जुन आधारमा विभेद हुन्थे, ती विद्यमान नै थिए। चीनमा सामन्ती शासक वर्गले आफूलाई देवपुत्र नै ठान्ने गर्थे। त्यसवेला शरीरको रंग र लिंगका आधारमा हुने विभेद यहाँको जातीय विभेद जस्तै कहाली लाग्दो थियो।
माओवादी सशस्त्र द्वन्द्वका क्रममा हजारौंले ज्यान गुमाए। माओवादीको आलोचना हुनुको एउटा कारण यो पनि हो। तर वामपन्थी र पहिचान पक्षधरहरूले सशस्त्र संघर्षका वेला माओवादीले प्रयोग गरेको हिंसालाई जायज र अपरिहार्य भनेको पनि पाईन्छ।
शिक्षा, ज्ञान, विज्ञानमा आएका सकारात्मक र रचनात्मक परिवर्तन र विश्व र हाम्रै मुलुकमा पनि भएका विभिन्न राजनीतिक, सामाजिक आन्दोलन र क्रान्तिका लक्ष्यलाई आत्मसाथ गर्दै विभिन्न आधारमा सृजित कृत्रिम विभेद निमिट्यान्न पार्न लाग्नैपर्छ। तर अहिलेका मानकका आधारमा पृथ्वीनारायण शाहको समय र उनीमाथि मूल्याकंन गर्नु न्यायोचित होइन।
राजनीतिक हिंसाको व्याख्यामा द्वैध चरित्र
नेपाल एकीकरण अभियानमा हिंसाको प्रयोगलाई लिएर पृथ्वीनारायण शाहको विरोध गरिएको पनि पाइन्छ। हिंसालाई अस्वीकार गर्नु आफैमा नराम्रो पनि होइन। माओवादी सशस्त्र द्वन्द्वका क्रममा हजारौंले ज्यान गुमाए। माओवादीको आलोचना हुनुको एउटा कारण यो पनि हो। तर, वामपन्थी र पहिचान पक्षधरहरूले सशस्त्र संघर्षका वेला माओवादीले प्रयोग गरेको हिंसालाई जायज र अपरिहार्य भनेको पनि पाईन्छ।
झापा आन्दोलन र नेपाली कांग्रेसको सशस्त्र आन्दोलनमा प्रयोग भएका राजनीतिक हिंसालाई समेत अहिलेका हाम्रा मूलधारका राजनीतिक शक्तिले नकारात्मक रुपमा लिंदैनन्। तर, पृथ्वीनारायण शाहले नेपालको एकताको क्रममा प्रयोग गरेका हिंसालाई अमानवीय र क्रुर भनेर प्रचार गरिएको छ। पृथ्वीनारायण शाहको गोरखाली फौजले नेपाल निर्माणका क्रममा प्रयोग गरेको हिंसालाई लिएर उनलाई नकारात्मक रुपमा प्रस्तुत गरिन्छ। यो हिंसाबारेको द्वैध परिभाषा हो।
राजनीतिशास्त्र अध्ययनमा राजनीतिक वा विचारधारामा आधारित हिंसालाई आधुनिक राज्यको अभिन्न अंगका रुपमा स्वीकारिएको छ। आधुनिक राज्यको परिभाषाका क्रममा विश्वभरि स्वीकार गरेर अध्ययन अध्यापन गराइने म्याक्स वेबरको परिभाषाले हिंसामाथि पूरै अधिन हुनु नै आधुनिक राज्यको सबैभन्दा महत्त्वपूर्ण गुण मध्ये एक मानेको छ।
राज्यले सेना, प्रहरी, गुप्तचर राखेर वैधानिक हिंसामाथि एकल आधिपत्य कायम गर्छ। त्यसबाहेक शिक्षा र सञ्चारका माध्यमबाट जनतामा राज्यको हिंसा गर्न सक्ने क्षमताको जानकारी गराइन्छ। गैरराज्य पक्षबाट हुन सक्ने हिंसात्मक क्रियाकलापलाई रोक्न राज्यसँग प्रत्यक्ष र संरचनाचनात्मक हिंसा गर्न सक्ने शक्ति चाहिन्छ भन्ने मान्यतामा नै आधुनिक राज्य बनेका छन्।
हिंसारहीत राज्यको कल्पना सैद्धान्तिक मात्र नभई व्यवहारिक रुपमा पनि संभव छैन। मुलुकभित्रकै आन्तरिक राजनीतिक संघर्षमा त हिंसा प्रयोग भएका छन् भने राज्य निर्माण र राज्यको निरन्तरतामा हिंसा प्रयोग वा हिंसा प्रयोगको डर उत्पन्न गराइन्छ नै।
झापा आन्दोलन र नेपाली कांग्रेसको सशस्त्र आन्दोलनमा प्रयोग भएका राजनीतिक हिंसालाई समेत अहिलेका हाम्रा मुलधारका राजनीतिक शक्तिले नकारात्मक रुपमा लिंदैनन्। तर पृथ्वीनारायण शाहले नेपालको एकताको क्रममा प्रयोग गरेका हिंसालाई अमानवीय र क्रुर भनेर प्रचार गरिएको छ।
राज्यहरूलाई आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हीत संरक्षण गर्न युद्धको प्रयोग गर्ने अधिकारलाई विश्वमा अझै पनि स्वीकारिएको छ। युद्धमा विगतमा भएका अमानवीय र क्रुर क्रियाकलापका कारण अहिले भने युद्धका वेला सर्वसाधरण, आत्मसमर्पण गरेका र युद्धबन्दी बनाइएका विपक्षी सैनिकलाई गर्नुपर्ने मानवीय व्यवहारबारे अन्तर्राष्ट्रिय कानूनहरू बनेका छन्।
यसको अर्थ राज्य जवाफदेही, लोकतान्त्रिक, सामाजिक न्याय सहितको र समावेशी हुनुपर्दैन र हिंसाको साहरामा अधिनायकवादी शासन चलाउनुपर्छ भन्ने होइन। राज्यले हिंसाको प्रयोग विधिको शासन, जीवन्त शान्ति कायम गर्न, सार्वभौमसत्ता रक्षा गर्न र राष्ट्रिय हीतमाथिको गम्भीर खतरा टार्न मात्र प्रयोग गर्नुपर्छ भन्ने हो। त्यसैले इतिहासदेखि अहिलेसम्मका सबै राज्यहरूको निर्माण र निरन्तरतामा हिंसा महत्त्वपूर्ण अंश हो। पृथ्वीनारायण शाहको गोरखाली फौजले गरेको युद्धलाई पनि यस्तै सन्दर्भमा बुझ्नु पर्ने होइन र?
राज्यलाई भूगोलको महत्त्व
पृथ्वीनारायण शाहमाथि भौगोलिक एकीकरण गरेको तर सामाजिक र सांस्कृतिक एकीकरण गर्न नसकेको तर्क सार्ने गरिन्छ। राज्य हुनुका लागि नभई नहुने महत्त्वपूर्ण अंशमध्ये एक भूगोल हो। भूगोललाई आधुनिक राज्यको सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एक मानिएको छ। आधुनिक राज्य निर्माणको प्रस्थान बिन्दु मानिने २४ अक्टोबर १६४८ मा भएको वेस्टफेलिया शान्ति सन्धिले कुनै पनि भूगोलभित्रको राज्यमा त्यसवेलाका राजाले आफ्नो धर्म भाषा, संस्कृति लागू गर्ने प्रावधान थियो।
संसारभरीका विभिन्न देशको साझा गुणमध्ये एक महत्त्वपूर्ण विशेषता निश्चित भूगोल वा निश्चित भूगोलमाथिको दाबी हो। मुलुकको भौगोलिक सीमा र भौगोलिक एकीकरणलाई नजरअन्दाज गर्न मिल्दैन भन्ने यसले पनि देखाउँछ।
नेपालकै सन्दर्भमा भन्ने हो भने पनि भूगोलभित्र हामी कस्तो राजनीतिक, अर्थराजनीतिक र सामाजिक प्रणाली अपनाउन चाहन्छौं अहिले त्यो हाम्रो हातमा छ। विभिन्न राजनीतिक आन्दोलनका कारण प्राप्त लोकतान्त्रिक गणतन्त्रमा त्यो छनोट गर्ने अधिकार पनि हामीलाई छ। यो अधिकार प्रयोग गर्न सक्ने र पाउने ठाउँमा हामी आइपुगेका छौं। पृथ्वीनारायण शाहकै एकीकरण अभियानबाट बनेको देशमा बसेर उनकै सत्तो सराप गरेर मात्रै अहिलेका समस्या समाधान हुँदैनन्।
राष्ट्रको अस्तित्व र गौरव कायम राख्न, त्यहाँका नागरिकहरूमा आफ्नो राष्ट्रप्रति गौरवको भाव जगाउन इतिहासका खास खास घटनाको छनोट गरेर उपयोग गरिन्छ।
इतिहासको सदुपयोग
अमेरिकालाई बेलायती आधिपत्यबाट मुक्त गरेर स्वतन्त्र मुलुक बनाउन मुख्य भूमिका खेलेका जर्ज वाशिङटन, थोमस जेफरसन आदिलाई फाउन्डिङ फादर्स (अमेरिका स्थापना गर्ने पिताहरू भन्ने अर्थमा) सम्बोधन गरिन्छ। अहिले अमेरिकामै पनि उनीहरूले त्यो वेला मानव समानताको कुरा गर्दा महिला र काला जातिको समानताको कुरा नगरेको उल्टै धेरै काला जातिका मानिसलाई दासका रुपमा राखेको भनेर आलोचना गर्न थालिएको छ।
धेरै जसो आधुनिक राज्यले आफ्नो राष्ट्रको गौरव कायम राख्न इतिहासका तथ्यहरूको छानेर मात्रै प्रयोग गर्छन्। यसको मतलब इतिहासका गल्तिबाट सिक्न हुँदैन र पर्दैन भन्ने होइन। इतिहासमा भएका विभेद र ज्यादती कायम राख्नुपर्छ भन्ने पनि होइन। तर, आफ्नो राष्ट्रको अस्तित्व र गौरव कायम राख्न, त्यहाँका नागरिकहरूमा आफ्नो राष्ट्रप्रति गौरवको भाव जगाउन इतिहासका खास खास घटनाको छनोट गरेर उपयोग गरिन्छ।
हाम्रा दुई ठूला छिमेकी मुलुक भारत र चीनमा समेत आफ्नो इतिहासलाई गौरवपूर्वक नलिने, संप्रेषण नगर्ने र आफ्नो राष्ट्रको इतिहास र अस्तित्वबारे मौलिक किसिमको दर्शन नहुने राष्ट्र दीर्घकालीन् रुपमा शक्तिशाली हुन सक्तैन भन्ने सोच विकसित भइरहेको छ। उनीहरूका इतिहासका खास खास क्षण, महत्त्वपूर्ण परिघटना र व्यक्तिलाई गौरवका रुपमा लिनु र सम्प्रेषण गर्नुपर्छ, तर इतिहासका गल्ति कमजोरीबाट सिकेर अगाडि बढ्नुपर्छ भन्ने सोच विकास भएका छन्। तदनुरुप गहन अध्ययन अनुसन्धान मात्र भइरहेका छैनन्, सर्वसाधारण र मुलुकबाहिरका मानिसले समेत बुझ्ने गरेर सार्वजनिक सञ्चारमाध्यमबाट समेत प्रबाह गरिएका छन्।
नेपाली राज्यको इतिहासका प्रत्येक पात्रलाई दानवीकरण गरेर र दुत्कारेर मात्रै हाम्रो भविष्य राम्रो हुँदैन। इतिहासका गल्ति कमजोरीबाट सिकेर भविष्यमा ती गल्ती नदोहोर्याउने प्रण गर्ने हो। इतिहास, हाम्रो समाज र संस्कृतिमा भएका सबल पक्षलाई भने अंगाल्दै हाम्रो मौलिकताको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ। हाम्रो धर्म, संस्कृति र राजनीतिक वादमा जस्तै हाम्रो इतिहासका पनि राम्रा र नराम्रा पक्ष छन्। नकारात्मक पक्षलाई बिना हिच्किचाहट तत्कालै त्यागेर र इतिहासका गौरवका क्षणलाई हाम्रो संस्थागत स्मरणमा राखेर राम्रो भविष्यको लागि अगाडि बढ्नुको विकल्प छैन।
पृथ्वीनारायण शाहको योगदानको कदर गर्नु भनेको राजतन्त्रको पक्षपाती हुनु वा नेपाल पुरानै ढर्राले चल्नुपर्छ भन्नु होइन।
सन् १९९० मा दक्षिण अफ्रिकामा अल्पसंख्यक श्वेत शासकको अन्त्यपछि महान् नेता नेल्सन मण्डेलाले मेलमिलापको जुन नीति अंगिकार गरे त्यही तरिका नेपालमा अपनाउन सकिन्छ। मानवताविरुद्ध जघन्य अपराध गरेका बाहेक गोराहरूले आफूले गरेको गल्तिको प्रायश्चित गरे भने काला जातिले माफ गरिदिए। दक्षिण अफ्रिकाले अहिले अन्तर्राष्ट्रिय स्तरमा जुन प्रतिष्ठा हासिल गरेको छ, द्वन्द्व निरुपणको त्यही रचनात्मक शैलीका कारण संभव भएको हो। नेपाललाई पनि त्यस्तै मोडलको खाँचो छ।
राष्ट्रनिर्माण एउटा कला पनि हो। सबै राष्ट्रहरूले आफ्नो राष्ट्रलाई महान्, विशेष र अद्वितीय देखाउन विभिन्न भाष्यको सहयोग लिएका हुन्छन्। राज्य र नागरिक एक अर्काका परिपूरक हुन्। तर, तिनीहरूलाई पनि एकअर्कामा बाँधिरहन विभिन्न बिम्बहरूको आवश्यकता परिरहन्छ। नागरिकलाई राज्यप्रति समर्पित राखिरहन यस्ता विम्बहरूको आवश्यकता पर्छ पनि। हामीले राष्ट्रिय विभुति मानी आएका गौतम बुद्ध, राजा जनक, पृथ्वीनारायण शाह, शंखधर साख्वा, फाल्गुनन्द, पासाङ ल्हामु शेर्पा आदी यस्तै विम्बहरू हुन्।
पृथ्वीनारायण शाहले पूरै जीवन अर्पेर नेपालको एकताको जग बसाले। आलोचकहरूले भने झैं यदि उनले ठूलो राज्यको राजा हुने मनसायले र राज्य विस्तारकै क्रममा नेपाल निर्माण भएको भए पनि त्यसलाई एकीकरण हो भन्न अप्ठेरो मान्नु पर्दैन। पृथ्वीनारायणको पौरखले सिर्जेको भूगोलको जगमा उभिएर समावेशी नेपाल बनाउन पनि हामीलाई कसैले रोक्न सक्दैन।
नेपालमा लिंग, धर्म, जात, भाषा, संस्कृति, क्षेत्र आदिका आधारमा हुने विभेद हटाउनुपर्ने अहिलको समयको सान्दर्भिक, रचनात्मक र सकारात्मक चेतना हो। यस्तै चेतनाको जगमा उभिएर मुलुक र समाजमात्रै होइन कि पृथ्वीनारायण शाह, नेपाल एकताको अभियान लगायत हाम्रो इतिहासलाई हेर्ने सबैलाई स्वीकार्य हुने साझा दृष्टिकोण पनि बन्नु आवश्यक छ।
त्यसका लागि इतिहासतिर फर्केर नेपाल निर्माणको जग बसालिदिने पृथ्वीनारायण शाहलाई सत्तोसराप गर्नु जरुरी र आवश्यक छैन। उनीप्रति कृतज्ञ नै भएर अगाडि बढ्न सकिन्छ। पृथ्वीनारायण शाहको योगदानको कदर गर्नु भनेको राजतन्त्रको पक्षपाति हुनु वा नेपाल पूरानै ढर्राले चल्नुपर्छ भन्नु होइन।