ओझेलमा पृथ्वीनारायण शाहकी छोरी विलासकुमारी
राज्य विस्तारको प्रसङ्गमा पृथ्वीनारायणका छोरा बहादुर शाह, बुहारी राजेन्द्रलक्ष्मी र भारदारहरूको नाम आउँछ, तर छोरी विलासकुमारीको नाम त्यति आउँदैन, जबकि उनको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ।
२७ पुस अर्थात् राजा पृथ्वीनारायण शाहको जन्मदिन। यो दिवसको अघि-पछि एक-दुई साता पृथ्वीनारायण शाहको खूब चर्चा हुन्छ। पक्ष-विपक्षमा टीकाटिप्पणी हुन्छ, प्रशंसा र आलोचना हुन्छ।
इतिहासलाई इतिहासकै रूपमा बुझ्न नसक्दा र यसलाई स्वार्थ अनुसार ढाल्न खोज्दा इतिहासले आफ्नो स्वत्व गुमाउँदै कथा-कहानीमा परिणत हुन्छ। केही समयदेखि पृथ्वीनारायण शाहबारे पनि त्यस्तै हुँदै आएको छ। उनमा दैवीशक्ति नै भएको र सम्पूर्ण काम उनैले फत्ते गरेको भनेर चित्रण गरिन्छ। यस्तो प्रवृत्तिले वास्तवमा उनको सम्यक् अध्ययन हुन पाउँदैन।
पृथ्वीनारायण शाहको देवत्वकरण गर्ने अभियानसँगै अन्य पात्र भने ओझेल परेका छन्। राज्य विस्तारको प्रसङ्गमा पृथ्वीनारायणका छोरा बहादुर शाह र बुहारी राजेन्द्रलक्ष्मी (राजा प्रतापसिंह शाहकी रानी) तथा भारदारहरूको नाम आउँछ, तर छोरी विलासकुमारीको नाम त्यति आउँदैन। राज्य विस्तारमा विलासकुमारीको नाम पनि त्यत्तिकै महत्त्वपूर्ण छ।
कतिपय सन्दर्भमा त पृथ्वीनारायण शाहको व्यक्तित्व उजागर गर्न छोरीको प्रसङ्ग अनिवार्य नै हुन पुग्छ। अन्य महत्त्वपूर्ण पात्र र प्रसङ्गसँगै आज विलासकुमारीको पनि चर्चा गरौं।
सानो र आर्थिक रूपले विपन्न राज्यका रूपमा थियो, गोरखा। छिमेकी राज्यसँग मेलमिलाप थिएन। लमजुङ लगायत शक्तिशाली राज्यको अँठ्याइँमा परेकाले आफ्नो स्वत्व बचाउन नेपालमण्डलका तीन राज्य कान्तिपुर, ललितपुर र भक्तपुरसँग सम्बन्ध बढाउनुपरेको थियो।
विस्तृत योजना सहित उनी पश्चिमतिर राज्य विस्तारको अभियानमा लागेको प्रष्ट हुन्छ। यलाई पुष्टि गर्ने एउटा कडी छोरी विलासकुमारी शाहको विवाह १८२३ मा सल्यान राज्यका राजकुमार रणभीम शाहसँग गराइनु पनि हो।
नरभूपाल शाहदेखि नै गोरखाको आँखा कान्तिपुर अधीनस्थ सामरिक महत्त्वको नुवाकोटमाथि थियो। नरभूपालले पनि नुवाकोटमाथि आक्रमण गरेका थिए, तर खाली हात फर्कनुपरेको थियो।
भक्तपुर दरबारमा केही समय बस्न पाएका पृथ्वीनारायण शाहले नेपालमण्डलको तत्कालीन वस्तुस्थिति बुझेका थिए। उनी यहाँको समृद्धिसँग लोभिएका थिए। उनकै दिव्योपदेशमा चन्द्रागिरि पर्वतबाट उपत्यका नियाल्दाको प्रसङ्गले त्यो पुष्टि गर्छ।
त्यति वेला छिमेकी राज्य लमजुङसँग पुस्तैनी दुश्मनी त थियो नै, लमजुङकै कारण अन्य छिमेकीसँग पनि सम्बन्ध बढाउन सकिएको थिएन। यस अवस्थामा ती राज्यसँग बापवैरी साध्ने मनसुवा हुनु स्वाभाविक हो। त्यसअघि पश्चिमतिर बढ्ने कुनै योजना नभएको जस्तो लागे पनि अन्य घटना र प्रवृत्तिको अध्ययन गर्दा विस्तृत योजना सहित उनी राज्य विस्तारको अभियानमा लागेको प्रष्ट हुन्छ। यलाई पुष्टि गर्ने एउटा कडी छोरी विलासकुमारी शाहको विवाह १८२३ मा सल्यान राज्यका राजकुमार रणभीम शाहसँग गराइनु पनि हो।
विलासकुमारीको विवाह सल्यानका राजकुमार रणभीमसँग गराउनुमा सिद्ध भगवन्तनाथको हात छ। उनको सल्यानका राजासँग राम्रो मित्रता थियो। उनी विभिन्न गाउँठाउँसँगै दरबारमा पुग्थे। त्यहाँका अन्तर्य पनि सोधखोज गर्दै हिंड्थे। १८२० सालतिर उनी नेपालको पश्चिम पहाडी क्षेत्रमा एक सिद्धका रूपमा चर्चित थिए।
गाउँठाउँ र दरबार चहार्ने क्रममा उनको भेट पृथ्वीनारायण शाहसँग भयो। दुई पटक कीर्तिपुरमाथि आक्रमण गर्दा पनि खाली हात फर्कनुपरेको पिरलोमा थिए, पृथ्वीनारायण शाह। त्यसपछि भगवन्तनाथकै योजनामा १८२२ सालमा पृथ्वीनारायण शाहले तेस्रो आक्रमण गरेको र सफलता प्राप्त गरेको बुझिन्छ।
त्यति वेलाका केही पत्रमा त्यसको छनक पाइन्छ। १८४० सालको एक पत्रमा लामो समय प्रयास गर्दा पनि सफल हुन नसकेको उद्योग सिद्ध भगवन्तनाथले विजयको आशीर्वाद पठाएपछि मात्र कीर्तिपुर सर भएको र त्यस बापत सिद्धलाई नेपाल भरमुलुकको मण्डलल्याइँ प्रदान गरेको विवरण छ।
भगवन्तनाथकै सल्लाहमा पृथ्वीनारायण शाहले छोरी विलासकुमारीको विवाह सल्यानका राजा कृष्ण शाहका ज्येष्ठ पुत्र रणभीम शाहसँग गराएका थिए। त्यही वैवाहिक सम्बन्ध पश्चिममा एकीकरण अभियान सञ्चालन गर्न सहयोगी बन्यो, अर्थात् वर्तमान नेपालको भौगोलिक खाका निर्माण गर्नमा सहायक भयो।
त्यस्तै, पृथ्वीनारायण शाहले सिद्ध भगवन्तनाथको नाममा पठाएको एक पत्रमा उनैको आशीर्वादले किरात प्रदेश पनि विजय भएको उल्लेख छ। राजकाज र विजय अभियानका सन्दर्भमा पृथ्वीनारायण शाहले उनीसँग बरोबर परामर्श लिने गरेको पाइन्छ।
भगवन्तनाथकै सल्लाहमा पृथ्वीनारायण शाहले छोरी विलासकुमारीको विवाह सल्यानका राजा कृष्ण शाहका ज्येष्ठ पुत्र रणभीम शाहसँग गराएका थिए। त्यही वैवाहिक सम्बन्ध पश्चिममा एकीकरण अभियान सञ्चालन गर्न सहयोगी बन्यो, अर्थात् वर्तमान नेपालको भौगोलिक खाका निर्माण गर्नमा सहायक भयो।
तत्कालीन नेपालमण्डलका तीन राज्यहरू उपत्यकामै सीमित नभएर सिन्धुलीसम्मै फैलिएका थिए। यी तीन राज्य हात पारेपछि पृथ्वीनारायण शाहले सेनराज्य अधीनस्थ किरात प्रदेशमाथि विजय प्राप्त गरे। साथै, लिम्बुवानबाट सिक्किमी सेनालाई धपाउन सफल भए।
यति सफलतापछि उनको ध्यान पश्चिमतर्फ गयो। तर, उल्लेखनीय सफलताअघि नै १८३१ सालको माघेसंक्रान्तिका दिन नुवाकोटको देवीघाटमा निधन भयो। उनको निधन भए पनि पश्चिमी विजय अभियानले छोरा बहादुर शाह र बुहारी राजेन्द्रलक्ष्मीको नेतृत्वमा गति लियो। यसको खाका सल्यानसँग वैवाहिक सम्बन्ध गाँसेर पृथ्वीनारायण शाहले नै कोरेका थिए।
सल्यान पनि गोरखा जस्तै सानो र आर्थिक रूपले विपन्न राज्य थियो। अन्य छिमेकी राज्यबाट हेपिएको र चेपिएको पनि थियो। यो राज्यको हविगत कस्तो थियो भन्ने बुझ्न राजकुमारी विलासकुमारीले पेटभरि खान पनि नपाउने ठाउँमा विवाह गरी दिएको भनेर बाबुसँग गरेको गुनासो पर्याप्त हुन्छ।
त्यति वेला पृथ्वीनारायण शाहको हैसियत छोरीलाई प्रशस्त दाइजो दिन सक्ने थिएन। यही भएर पृथ्वीनारायण शाहले दाङ, देउखुरी, छिल्ली, फलावाङ, कोर्वाङ आदि जितेपछि दाइजो दिउँला भनी वचन दिएका थिए। त्यही वचन अनुसार पछि पहाडको ठूलो क्षेत्र सल्यानले प्राप्त गरेको पनि थियो।
बहादुर शाहले दिदी विलासकुमारी शाहसँग मद्दत मागेपछि १८४३ सालको २६ भदौमा अर्घा र २८ भदौमा खाँचीमाथि आक्रमण गरी अधिकार जमाउँदा नेपाली सेनालाई सघाउन सल्यानको सेना आइपुगेको थियो।
त्यस्तै, पृथ्वीनारायण शाहको निधनपछि बहादुर शाहले पाल्पासँग वैवाहिक सम्बन्ध गाँसी गुल्मी, अर्घा, खाँची आदि भूभाग नेपालमा गाभ्ने योजना बनाए। त्यसलाई रोक्न गल्कोट, मुसिकोट, इस्मा, गुल्मी, अर्घा, खाँची र प्यूठानलाई मिलाएर प्रभावशाली राज्य पर्वतले बलियो गुट तयार पारेको थियो। यो गुट बहादुर शाहका लागि ठूलै समस्या भएर तेर्सिएको थियो। त्यस वेला बहादुर शाहले आफ्नी दिदी विलासकुमारी शाहसँग मद्दत मागेका थिए। १८४३ सालको २६ भदौमा अर्घा र २८ भदौमा खाँचीमाथि आक्रमण गरी अधिकार जमाउँदा नेपाली सेनालाई सघाउन सल्यानको सेना आइपुगेको थियो।
नेपाली सेनालाई सल्यानी सेनाले सघाएको शक्तिशाली राज्य जुम्लाका काजी सुभान शाहीलाई मन परेन। उनले दाङ, रुकुम र जाजरकोटलाई मिलाएर सल्यानलाई दण्ड दिने योजना बनाए। यस विषयमा विलासकुमारीले नेपाल दरबारमा एउटा पत्र पनि पठाइन्। तीनै राज्य मिलेर दाङको चौघरामा सल्यानीलाई घेरा दिएका थिए। त्यसपछि नेपाली सेनाले १९ कात्तिक १८४३ मा प्यूठानमाथि कब्जा गरी दाङतर्फ बढेर सल्यानीमाथिको घेरा तोडेको थियो।
त्यति वेला पश्चिम क्षेत्रको राजनीतिक वस्तुस्थितिको यथार्थ विवरण नेपाल दरबारलाई सल्यानका राजा श्रीकृष्ण शाहबाट प्राप्त हुन्थ्यो। त्यही समयमा कुमाउँका प्रभावशाली मन्त्री हर्षदेव जोशी र त्यहाँका राजाबीच द्वन्द्व थियो। मन्त्री हर्षदेवले सल्यानी राजा मार्फत नै नेपाल दरबारसँग सम्पर्क राखेका थिए। श्रीकृष्ण शाहले कुमाउँमा विद्रोह मच्चाई नेपालको पक्षमा वातावरण तयार पार्न लगाएका थिए। कुमाउमाथि विजय र त्यसलाई स्थायित्व दिनमा नेपाल दरबारलाई सल्यानको मद्दत मिलेको थियो।
पश्चिम एकीकरण अभियानका वेला नेपाललाई सहयोग गरी आश्रित राज्यका रूपमा अस्तित्व जोगाउन चाहनेले नेपाल दरबारमा कर तिर्नुपर्थ्यो र राज्य थमौती हुन्थ्यो। यस क्रममा सल्यान, जाजरकोट, बझाङ आदिलाई अधीनस्थ गराई थामिएको थियो। त्यस्तै, जुम्ला, डोटी, अछाम जस्ता अनेकौं राज्यलाई मासेर नेपालमा गाभिएको थियो। यसरी पश्चिमतिर कुमाउँ गढवालसम्म पुगेर नेपाली सेनाले विजयको झण्डा फहराउनमा सल्यानको महत्त्वपूर्ण भूमिका थियो।
रणबहादुरको हत्या र विलासकुमारीका दुःख
छोरा रणभीम शाहलाई राजा बनाएपछि १८५० सालमा राजा श्रीकृष्ण शाह काशी गए। वर्ष दिनभित्रै उनको उतै निधन भयो। नयाँ राजा रणभीमको पनि नेपाल दरबारसँग राम्रै सम्बन्ध थियो। चिठीपत्र तथा उपहारको आदानप्रदान हुन्थ्यो। आउजाउ पनि चल्थ्यो। तर, रणबहादुर शाहको हत्यापछि नेपाल राज्य सञ्चालनमा मात्रै फेरबदल ल्याएन, सल्यानसँग सम्बन्ध पनि फेरियो। राजनीतिक रूपमा भीमसेन थापा शक्तिशाली बने।
रणबहादुर शाहको हत्यामा भीमसेन थापाकै हात रहेको मान्यता स्थापित गरी कारबाही चलाउने वातावरण बनाउन थालिन्, विलासकुमारी। तर, यसले मूर्त रूप पाउनुअघि नै चलाख भीमसेनले विलासकुमारीलाई सल्यानतर्फ पठाए।
१४ वैशाख १८६३ मा रणबहादुर शाहको हत्यापछि नेपाल दरबारबाट सल्यानमा पठाइएको पत्रमा यसलाई ठूलो घटनाका रूपमा नलिन सचेत गराइएको बुझिन्छ। यसलाई बढाउँदा अन्य देशदेशावर तथा भागेर बसेका राजारजौटाले अनेक षड्यन्त्र गर्न खोज्छन् भनेर ठूलो विषय नबनाउन सुझाएको देखिन्छ। तर, भतिजाको हत्याको खबर पाए लगत्तै रानी विलासकुमारी हतार हतार काठमाडौं आइपुगिन्।
वस्तुस्थिति बुझेपछि विलासकुमारीले भीमसेन थापामाथि नै शङ्का गरिन्। यसमा उनकै हात रहेको मान्यता स्थापित गरी कारबाही चलाउने वातावरण बनाउन थालिन्। तर, यसले मूर्त रूप पाउनुअघि नै चलाख भीमसेनले विलासकुमारीलाई सल्यानतर्फ पठाए।
त्यसपछि भीमसेन सल्यान राज्यको अस्तित्व नामेट गर्ने योजनामा लागे। उनले सल्यानलाई नेपालमा पूर्ण रूपमा मिलाउने निहुँ खोज्न थाले। यसअघि आश्रित राज्य भए पनि पाल्पामाथि पनि कारबाही गरेको पाइन्छ। त्यही क्रममा सल्यानमाथि अनेकौं दोषारोपण गर्न थालियो। वार्षिक १४०० रुपैयाँ खान्की दिएर विलासकुमारीको दाइजो खोसियो। त्यसपछि १० वैशाख १८६६ मा विधिवत् रूपमा रणभीम शाहलाई पदच्युत गरी सल्यानलाई नेपालमा गाभियो।
भीमसेन थापाको उदय नेपालको राजनीतिक इतिहासमा नयाँ मोड बन्यो र यहींबाट पृथ्वीनारायण शाहको ‘लिगेसी’ छुटेको पाइन्छ। राजगद्दीमा गीर्वाणयुद्ध शाह राखिए, तर शासन भीमसेन थापाले नै चलाए। पहिलो पटक शाहवंशको तेजोवध भीमसेन थापाले गरे भने जंगबहादुर राणाले दोस्रो पटक।
पृथ्वीनारायण शाहकी छोरी भएर पनि विलासकुमारीले नेपाल दरबारबाट अनेकौं अपमान तथा कारबाही भोग्नुपर्यो। दाइजो मात्रै फिर्ता लिइएन, राजा रणभीम शाहलाई पदच्युत गरी सल्यान राज्यलाई नामेट गर्ने क्रममा विलासकुमारीको रानी पद पनि स्वतः खोसियो। सुरक्षाका लागि विलासकुमारीले आफ्नो छोरा युवराज रघुनाथ शाहलाई अवधका नवाब वजीरको संरक्षणमा पठाउनुपर्यो।
विलासकुमारीप्रतिको रवैयामा केही परिवर्तन आउन भीमसेन थापाको पतन नै पर्खनुपर्यो। १८९४ सालमा भीमसेन थापालाई पदबाट हटाइयो भने १८९६ मा उनले आत्महत्या गरे। त्यसपछि १८९८ सालमा राजा राजेन्द्रवीरविक्रम शाहको नामबाट लेखिएको एउटा पत्रमा रणभीम शाहका उत्तराधिकारी तेजबहादुर शाहलाई पुनः ‘राजा’ ‘राजा’ भनेर लेख्ने र फलावाङको आयस्ता खान्की पाउने बन्दोबस्तसम्म गरिएको उल्लेख छ। तर, विलासकुमारीले दाइजोका रूपमा प्राप्त दाङ, देउखुरी, छिल्ली र कोर्वाङ तथा सल्यान राज्य कहिल्यै फिर्ता पाइनन्।
पृथ्वीनारायण शाहले थालेको राज्य विस्तार अभियानमा बहादुर शाह र राजेन्द्रलक्ष्मीको जति विलासकुमारीको प्रत्यक्ष संलग्नता नहोला, तर उनकै सम्बन्धले गर्दा सल्यानका राजा श्रीकृष्ण शाहले पुर्याएको योगदान कम आक्न मिल्दैन। अझ अप्रत्यक्ष रूपमा उनले खेलेको भूमिका अहिलेको नेपालको भूगोल समेटिनुमा महत्त्वपूर्ण त छ नै, स्मरणीय पनि छ।