डाक्टरी पेशा र देश छाड्न बाध्य पार्ने त्यो घटना
“मेरो जीवनमा घटेको त्यो घटनाका कारण मैले देश मात्र होइन, पेशा नै छोड्न बाध्य भएँ,” डा. अमित रिजालले भने। यति बोल्दा ४४ वर्षीय डा. रिजालको अनुहार मलिन भयो, आँखामा पीडाका आँशु टिलपिलाए।
काठमाडौंको ओम अस्पताल तथा रिसर्च सेन्टरका पूर्व सिनियर मेडिकल अफिसर डा. रिजाल केही दिनअघि यूरोपको दक्षिण-पूर्वी देश रोमानियाबाट नेपाल आएका छन्। आफन्त भेटघाटमा आएका उनले देश र पेशा नै छोड्नुको कारण भने अहिलेसम्म कसैलाई सुनाएका थिएनन्।
के थियो त त्यो घटना, जसले उनलाई देश र पेशा छोड्न बाध्य पार्यो?
१५ वर्षअघि अर्थात् २०६३ सालको माघ अन्त्यतिर हो। एक रात उनी ओम अस्पतालमा ‘अन-कल ड्युटी’ (आवश्यक पर्दा जुनसुकै समयमा पनि हाजिर हुनुपर्नेमा थिए। त्यसैले अस्पतालकै क्याबिनमा सुतिरहेका थिए। एकाएक उनको मोबाइलमा घण्टी बज्यो। उठाउने बित्तिकै नर्सले आकस्मिक शल्यक्रियाका लागि बोलाइन्।
कसैले पनि उनलाई के भइरहेको छ भनेर व्याख्या गरेनन्। बिरामीका आफन्त जाइलागे। क्रोधमा रहेका उनीहरूले अगाडि रहेको बिरामीको पिसाब अनुहारमा फाले।
एक जना क्यान्सरका बिरामी थिए। उनलाई अंकोलोजिस्ट डा.सुधीर श्रेष्ठले हेर्दै आएका थिए। अन्य कुनै चिकित्सक नभएकाले डा. रिजाललाई बोलाइएको थियो। अस्पतालका सिनियर मेडिकल अफिसर भएकाले डा. श्रेष्ठले पनि उनलाई शल्यक्रिया गर्न अनुमति दिए।
किमोथेरापी गरिरहेका बिरामी सजिलै शौचालय जान नसक्ने भएकाले पिसाब फेर्न समस्या भइरहेको थियो। त्यसैले पाइपको सहायताबाट पिसाब निस्कन सहज गराउन शल्यक्रिया गरी ‘क्याथेटर’ राखिदिएर डा. रिजाल सुत्न हिंडे।
बिहानपख उनलाई फोन आयो र उनी शल्यक्रिया गरेको बिरामी भएको ठाउँमा पुगे। “त्यहाँ पुग्ने बित्तिकै बिरामीका आफन्तले रिस पोख्न थाले। रातभरि फोन गर्दा पनि किन वास्ता नगरेको भन्दै गाली गरे,” डा. रिजालले त्यो बिहान सम्झे।
बिरामीका आफन्तले गालीगलौज गर्न थालेपछि उनी अक्क न बक्क भए। कसैले पनि उनलाई के भइरहेको छ भनेर व्याख्या गरेनन्। बिरामीका आफन्त जाइलागे। क्रोधमा रहेका उनीहरूले अगाडि रहेको बिरामीको पिसाब अनुहारमा फाले।
“दिमाग शून्य भयो। के भइराखेको छ? ममाथि के भएको हो? भेउ नै पाउन सकिनँ,” उनले भने, “रिस उठ्यो, चिच्याउन मन लाग्यो, तर म चूपचाप बसें।”
एक्कासि दुर्व्यवहार र आक्रमण हुँदा केही सोच्नै नसकेको उनी सुनाउँछन्। “म बिरामी भएको ठाउँमा पुग्दा कसैले केही भनेनन्। सीधै ममाथि आक्रमण गरे। केही बोल्न पनि सकिनँ,” बिरामीका आफन्तसँग बोल्न पनि मन नलागेको सुनाउँदै डा. रिजाल भन्छन्, “यो घटनाले मेरो आत्मसम्मानमा निकै ठेस पुर्यायो। जसले गर्दा मैले देश छोड्ने निर्णय लिएँ।”
त्यो घटनापछि उनले थाहा पाए- शल्यक्रियापछि बिरामी यताउता चल्दा भित्र घाउ भएर रगत बगेको रहेछ। यसबारे आफूलाई कसैले खबर नगरेको उनी बताउँछन।
“मैले आफ्नो ड्युटी नहुँदा पनि काम गरें, तर अपमान सहनुपर्यो,” डा. रिजाल भन्छन्, “यो कुरा अन्य चिकित्सक तथा अस्पताल प्रशासनमा पनि राखें र कहिले नफर्कने गरी निस्किएँ।”
चर्चित डा. भोला रिजाल उनका ठूलोबुबा हुन्। दाइहरू पनि चिकित्सक छन्। चिकित्सक ठूलोबुबा र दाइहरूलाई पनि यो घटना सुनाउने उनलाई आँट आएन। “मैले आफ्नो ड्युटी नहुँदा पनि काम गरें, तर अपमान सहनुपर्यो,” डा. रिजाल भन्छन्, “यो कुरा अन्य चिकित्सक तथा अस्पताल प्रशासनमा पनि राखें र कहिले नफर्कने गरी निस्किएँ।”
त्यसपछि उनी साढे ६ हजार किलोमिटर टाढाको डेनमार्क उडे।
उनीसँगै एमबीबीएस गरेका कैयौं चिकित्सक पढ्न विदेश गएका थिए। उनलाई पनि ‘विदेश जाऔं’ भन्थे। तर, उनी मानेका थिएनन्।
त्यो घटनापछि भने उनी विदेशिए। अहिलेसम्म पनि उनका परिवारजन र आफन्त यो घटनाबारे जानकार छैनन्। “मैले यसबारे घरका परिवारलाई कहिल्यै भनिनँ। विदेश जाने समयमा पनि पढ्न जाने भनेर गएँ,” डा. रिजालले सुनाए।
उनले सन् २००३ मा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालबाट एमबीबीएस गरेका थिए। वीर अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा इन्टर्नशिप गरेका थिए। त्यसपछि ओम अस्पतालमा काम गर्न थालेका थिए।
उनको परिवारका अधिकांश सदस्य नै स्वास्थ्य क्षेत्रमै छन्। धेरैजसो चिकित्सक नै छन्। उनको रुचि पनि यही क्षेत्रमा थियो। तर, त्यो घटनाले नराम्रोसँग पिरोल्यो।
“मैले आफूलाई बिरामीको सेवामा केन्द्रित नै गर्न सकिनँ,” डा. रिजाल भन्छन्, “डेनमार्कमा जनस्वास्थ्य पढें, दुई वर्षको अन्तरालमै छोडें। त्यहाँबाट दन्त स्वास्थ्य अध्ययन गरें, त्यसपछि पनि काम गर्न सकिनँ। पढाइ पूरा गरेको दुई महीना नबित्दै दन्तसेवा पनि त्यागें।”
डेनमार्क पुगेपछि उनले ‘पब्लिक हेल्थ’ पढ्न थाले। सर्जरीमा रुचि भएका उनले जनस्वास्थ्यको पढाइ बीचमै छोडे। त्यसपछि डेन्टिस्ट्री (दन्त चिकित्सा) पढ्न रोमानिया गए।
देश छोडेर गएपछि पनि उनले चिकित्सा शिक्षा नै अध्ययन गरे। तर, बिरामीको शरीरमा हात लगाउन सकेनन्। “मैले आफूलाई बिरामीको सेवामा केन्द्रित नै गर्न सकिनँ,” डा. रिजाल भन्छन्, “डेनमार्कमा जनस्वास्थ्य पढें, दुई वर्षको अन्तरालमै छोडें। त्यहाँबाट दन्त स्वास्थ्य अध्ययन गरें, त्यसपछि पनि काम गर्न सकिनँ। पढाइ पूरा गरेको दुई महीना नबित्दै दन्तसेवा पनि त्यागें।”
उनलाई त्यही घटनाले सताइरह्यो। त्यसलाई बिर्सिन पेशा नै छाडेको उनी सुनाउँछन्। “शुरूआतमा घरबाट पैसा मागेर पढेको थिएँ। पछि रेस्टुराँमा काम गर्दै पढ्दै गएको थिएँ,” डा. रिजाल भन्छन्, “स्वास्थ्य क्षेत्र छोडेपछि रेस्टुराँतिरै आफूलाई भुलाएँ।”
अहिले उनी रोमानियामा रेस्टुराँ चलाइरहेका छन्। व्यापार पनि गर्छन्। केही मान्छेलाई रोजगारी पनि दिएका छन्। “अब त्यसमै रमाउन थालिसकेको छु,” डा. रिजाल भन्छन्।
प्रायः हरेक वर्ष नेपाल आउँछन्, आमा र आफन्तलाई भेट्न। यस पटक पनि उनी आमालाई भेट्न तीन साताअघि नेपाल आएका थिए। यतै बस्न मन लाग्दैन? उनी भन्छन्, “यतै बसूँ कि भन्ने सोच त आउँछ। तर, फेरि उही अवस्था देखेर हिंडिहाल्छु।”
“कहिलेकाहीं पेशा छोडेकामा आत्मग्लानि हुन्छ। किन छोडें हुँला भन्ने लाग्छ,” डा. रिजाल भन्छन्, “तर, जब चिकित्सकहरूलाई कुटेकोे, अस्पतालमा तोडफोड गरेको समाचार सुन्छु, त्यसपछि भने पेशा छोडेकोमा पश्चात्ताप लाग्दैन।”
उनले देश छाडेर जाने वेला २०६२/६३ को जनआन्दोलनको रापताप थियो। उसो त उनी पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा जनआन्दोलनमा सहभागी थिए।
आन्दोलन चर्किएको वेला घाइतेको उपचार गर्न खटिएका थिए। अस्पतालको चिसो भुइँमा सुतेर घाइतेको उपचार गरेको उनलाई हिजै जस्तो लाग्छ। “गोली लागेर सडकमा ढलेका व्यक्तिलाई बोकें, एम्बुलेन्समा राखेर उपचार गरें,” उनी भन्छन्, “ढुङ्गा, इँटा, गोली चलेको समयमा आफ्नै ज्यान हत्केलामा राखेर घाइतेको सेवा गरें, अस्पतालमा लगेर उपचार गरें।”
त्यति वेला ओम अस्पतालमा उनी सहित तीन जना खटिएका थिए। सात दिन अस्पतालमै सुतेर घाइतेको उपचार गरेको पनि उनलाई ताजै जस्तो लाग्छ। तर, त्यो परिवर्तनपछि मान्छे तथा समाजमा परिवर्तन नआएको उनी सुनाउँछन्। “ससाना कुरामा पनि आन्दोलन गर्ने, अस्पताल तोडफोड गर्ने, चिकित्सकमाथि कुटपिट गर्ने चलन जस्तै भयो,” उनी भन्छन्।
अझै पनि उनको चिकित्सा पेशाप्रति लगाव उस्तै छ। कति वेला पछुतो पनि मान्छन्। “कहिलेकाहीं पेशा छोडेकामा आत्मग्लानि हुन्छ। किन छोडें हुँला भन्ने लाग्छ,” डा. रिजाल भन्छन्, “तर, जब चिकित्सकहरूलाई कुटेकोे, अस्पतालमा तोडफोड गरेको समाचार सुन्छु, त्यसपछि भने पेशा छोडेकोमा पश्चात्ताप लाग्दैन।”
स्वास्थ्य क्षेत्रमा मात्रै होइन, अन्य पेशा र क्षेत्रमा पनि यस्ता घटना दिनहुँ भइरहेका छन्। झट्ट सुन्दा सानो घटना जस्तो लागे पनि यसले पार्ने असर भने ठूलो हुँदो रहेछ। राम्रो गर्दागर्दै पनि झेल्नुपर्ने नराम्रा घटनाले लामो समय पिरोल्ने डा. रिजाल बताउँछन्। त्यही पिरोलोले होला, फेरि डा. रिजाल केही दिनअघि नेपाल छोडेर रोमानिया उडिसकेका छन्।